क्यान्सर पीडित बालबालिकाको मुहारमा खुसी ल्याउने डा गिरी | Khabarhub Khabarhub

क्यान्सर पीडित बालबालिकाको मुहारमा खुसी ल्याउने डा गिरी


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डाक्टर विष्णुरथ गिरी । कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ हुन् । उनी बिहान ९ बजे कान्ति बाल अस्पतालमा पुग्छन् । वार्ड तथा ओपिडिमा भएका क्यान्सरका बालबालिकाहरुको स्वास्थ्य परीक्षणमा खटिन्छन् ।

बिहान ९ देखि बेलुका ५ बजेसम्म उनको दैनिकि एउटै हुन्छ, क्यान्सरको आशंकामा आएका बालबालिका र तीनका अभिभावकलाई परामर्श र उपचार सेवा दिने तथा वार्डमा भएका क्यान्सर पीडित बालबालिकाको उपचार गर्ने ।

सरकारी अस्पतालमा गरिने सेवाले डाक्टरको दैनिकी नचल्ने धेरै चिकित्सकहरु बताउँछन् । सोही कारण पनि सरकारी अस्पतालका अधिकांश चिकित्सकहरु सरकारी अस्पतालमा सेवा गरेपछि साँझ बिहान प्राइभेट अस्पताल तथा क्लिनीकमा पनि काम गर्छन् । तर डा गिरी भने अस्पतालमा ड्युटी सक्किएपछि पनि कान्ति अस्पतालकै क्यान्सर वार्डको सुधारका लागि अध्ययनमा लाग्छन् ।

डा गिरीलाई धेरै काम गरेर धेरै कमाउ भन्ने भावना छैन । उनमा कान्ति बाल अस्पताल बाल क्यान्सर वार्ड नै सुधार गर्नु पर्छ भन्ने भावना छ ।

‘मलाई कान्ति बाल अस्पतालको पेडियाट्रिक अंकोलोजी वार्डको सुधार गर्नुछ, ’ डा गिरी भन्छन्, ‘यसै विषयमा अध्ययन गरेर क्यान्सर पीडित बालबालिकाको उपचार कसरी सहज बनाउन काम गर्नु छ । ड्युटीको समय सक्किएपछि पनि म अस्पतालकै रिलेटेड कामहरु गरीरहेको हुन्छु ।’

बाल्यकाल

डा गिरी २०४१ सालमा स्याङ्जामा जन्मिएका हुन् । उनले प्राथमिक शिक्षा नरसेवा प्राथमिक विद्यालयमा पढे । उनले त्यहा एक कक्षासम्म मात्रै पढे । उनको परिवार चितवनको नारायणगढमा बसाइ सर्‍यो । चितवन बसाइ सरेपछि गिरीले २ कक्षादेखि ५ कक्षासम्म बालकुमारी कन्या माविमा पढे ।

५ कक्षापढे पछि गिरीलाई परिवारले राम्रो स्कुल पढाउने भनेर नारायणी नदिपारी कन्टिनेन्टल इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा भर्ना गरीदिए । गिरी कक्षामा सधै प्रथम हुन्थें ।

त्यसैले बोर्डिङमै भएपनि उनले पढाइमा खर्च भने लाग्दैन थियो । उनका परिवारको पनि खर्च गरेर पढाउन सक्ने अवस्थामा थिएन । चितवनमा बसाइ सरेपछि उनका बाबुआमाले सामान्य चिया पसल सञ्चालन गरेर बसेका थिए । उनले कन्टिनेन्टल इंग्लिस बोर्डिङ स्कुलबाट नै एसएलसी दिएर जिल्ला टप भए ।

घरमा पैसा चोरेर होटलमा चाउचाउ खान्थें

बाल्यकालमा गिरी निकै चकचके थिए । खेल्न, दौडिन र उफ्नि उनलाई किनै रमाइलो लाग्थ्यो । खेलमा मात्र होइन आफ्नै पसलको पैसा चोर्ने नराम्रो बानी पनि उनमा थियो ।

‘बाल्यकालमा म निकै चकचके थिए, घरमै चाउचाउ पकाइदिनु भन्दा खानु हुँदैन भन्थें’ उनले हाँस्दै बाल्यकालको बदमासी सम्झिए, ‘हाम्रो चिया पसल थियो, पसलको पैसा चोरेर अर्को होटलमा गएर चाउचाउ पकाउन लगाएर खान्थें ।’

नारायणी नदि पौडिएरै पार

डा गिरीलाई बाल्यकालमा पौडिन निकै रमाइलो लाग्थ्यो । घर नजिकै खोला भएकाले पनि उनले सानैदेखि पौडिन सिकेका थिए । नारायणी नदि पौडेरै पार गरेको दिन उनलाई अझै याद छ ।

‘घर नजिकै खोला थियो, त्यसैले पौडिन जानेको थिए, मैले धेरैपटक पौडिएरै नारायणी नदि तरेको छु,’ डा गिरीले भने, ‘खाना, खाजा समेत खान नगइ पौडि खेलेर बसिन्थ्यो, मौका मिल्यो भने अहिलेपनि पौडी खेल्न मनपर्छ ।’

चकचके बानीले दुईपटक हात भाँचे

बाल्यकालमा आफु निकै चकचके भएको डा गिरी खुलेरै बताउँछन् । आफ्नो चकचके बानीले दुईपटक देव्रे हात भाँचिएको उनले बताए । कक्षा ६ मा पढ्दा उनलाई भर्‍याङको सबै काप चढ्न मन लाग्दैन थियो । एउटा काप छोड्दै अर्कोमा चढ्न सक्दा उलाई ठूलै काम गरेजस्तो लाग्थ्यो । त्यही बानीले उनको देव्रेहात भाँचियो ।

‘मेरो चकचके बानीले दुईपटक हात भाँचे, एकपटक भर्‍याङमा खेल्दा देव्रे हात भाँचियो, आमा र दाइले काठमाडौं ल्याएर उपचार गर्नुभयो, हात भाँचिएर प्लास्टर खोकेको दुईहप्तामा फुटबल खेले,’ उनले सुनाए, ‘फुटबल खेल्दा देव्रे खुट्टाले गोल हान्न लाग्दा लडे, देव्रेहातले भुइमा समाउन खोज्दा फेरी हात भाँचियो ।’

दोस्रो पटक हात भाँचिएको गिरीले थाहा पाए । दोस्रोपटक हात भाँचिदा उनले घरमा आमा र दाइहरुको गाली मात्र खाएनन् । १० कक्षा पढ्दा सम्म फुटबल खेल्नै बन्देज गरियो ।

‘दोस्रो पटक हात भाँचिएपछि आमाले स्कुलमा सरहरुलाई फुटबल खेल्न नदिनु भनेर आउनुभयो, फुटबलमाथि प्रतिबन्ध लाग्यो,’ उनले बाल्यकालका साथी पनि सम्झिए, ‘फुटबलमा यसरी प्रतिबन्ध थियो कि साथीहरुलाई रिस उठ्यो भने तैले फुटबल खेलेको थिइन् भनेर सरलाई कुरा लाइदिन्छु भनेर धम्क्याउथे ।’उनले कक्षा १० मा पुगेपछि भने फुटबल खेल्न पाए ।

वैज्ञानिक बन्ने सपना, तर परिवारको आर्थिक अवस्थाले साथ दिएन

गिरीले स्कुल पढ्दै गर्दा आफू साइन्टिस हुने सपना बुनेका थिए । उनी सोही सपना पुरा गर्न भरतपुरकै अर्किट साइन्स कलेजमा भर्ना पनि भए ।

स्याङ्जाबाट बसाइ सरेर चितवनमा सानो पसल गरेर बसेको गिरीका आमाबुबालाई छोराको पढाइमा खर्च गर्नु परेको थिएन ।

उनको पढाइ राम्रो भएकाले नै गिरीले स्कुलदेखि नै निशुल्क अध्ययन गर्न पाएका थिए । तर प्लस टु पछि साइन्टिस बन्न पूर्ण छात्रवृत्ति हुँदैन थियो । परिवारसँग गिरीलाई साइन्टिस बनाउने खर्च जुटाउन सक्ने आर्थिक अवस्था थिएन । त्यो अवस्थालाई गिरी आफैले बुझेका थिए ।

‘मेरो सपना त साइन्टिस बन्ने थियो, तर फिजिक्स पढ्नका लागि छात्रवृत्ति पाइदैन थियो । लगानी पनि चाहिन्थ्यो, तर मेरो चाहना अनुसार फिजिक्स पढ्न परिवारले अलिअलि लगानी पनि गर्न सक्ने अवस्था थिएन, त्यो मैले बुझेको थिए,’ डा गिरीले मन अमिलो बनाउँदै भने, ‘मैले जुन विषयमा पूर्ण छात्रवृत्ति पाउथें त्यहि पढ्नुपर्ने हुन्थ्यो, त्यो भनेको एमबीबीएस नै थियो । त्यसैले एमबीबीएस पढ्ने तयारी गरे ।’

प्लसटु साइन्स पढेपछि उनी एमबीबीएस अध्ययनका लागि शिक्षा मन्त्रालयको छात्रवृत्ति अन्तर्गतको इन्ट्रान्स परीक्षाका लागि काठमाडौं आए । एमबीबीएस अध्ययनका लागि शिक्षा मन्त्रालयले लिएको इन्ट्रान्स परीक्षामा ४ नम्बरमा नाम निस्कियो ।

उनले पोखरा मणिपाल कलेजमा सरकारको छात्रवृत्तिमा सन् २००३ को जनावरी देखि एमबीबीएस अध्ययन शुरु गरे । साढे ५ वर्ष अध्ययनमा एमबीबीएस अध्ययन र इन्टन गरेपछि सरकारले उनलाई दुईवर्षका लागि ग्रामिण क्षेत्र ताप्लेजुङमा खटायो ।

बिरामीले गिरीलाई भन्थे सिस्टर्नी दाइ !

उनी २०६५ सालमा तात्लेजुङको जिल्ला अस्पतालमा काम गर्न शुरु गरे । ताप्लेजुङको जिल्ला अस्पतालमा काम गर्दा डा गिरीले बिरामी र त्यहाँको स्थानीयको माया र सम्मान धेरै पाएको बताउँछन् ।

ताप्लेजुङमा त्यतिबेला बिरामीले डाक्टर भन्न समेत नजानेकाले ‘सिस्टर्नी दाइ’ भनेको उनलाई अझै सम्झना छ ।

‘ताप्लेजुङमा हुँदा मैले ग्रामिण स्वास्थ्यबारे बुझे, त्यहाँका बिरामीले नर्सलाई सिस्टर्नी भन्थे, सेतो कोट लगाएको स्वास्थ्यमा काम गर्ने महिला देख्ने वित्तिकै सिस्टर्नी भन्थे, अहेब हुन्थे उनीहरुलाई वाइबा भन्ने तर डाक्टरलाई के भन्ने उनीहरुलाई थाहै थिएन,’ डा गिरीले बिरामीले सम्बोधन गरेको त्यो नाम सम्झिए, ‘एकजना बुढा बिरामीले मलाई बोलाए ‘ओ सिस्टर्नी दाइ ! उनलाई थाहा थियो, म सिस्टर्नी होइन र वाइबा पनि होइन, त्यसैले ति बिरामीले ‘सिस्टर्नी दाइ’ भनेर बोलाए ।’

उनले त्यहि बसेर लोकसेवा तयारी गरे र २०६६ सालमा सरकारी स्वास्थ्यसेवामा नाम पनि निकाले । ताप्लेजुङमा साढे २ वर्ष काम गरेपछि गिरी स्नातकोत्तर ( एमडी) अध्ययनका लागि काठमाडौं आए ।

उनले ताप्लेजुङको जिल्ला अस्पतालमा रहदा नै सर्जरी नपढ्ने योजना बनाएका थिए ।

योजना अनुसार उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा एमडी अध्ययनका लागि टेकु अस्पतालमा काम गर्दै एमडी अध्ययनको तयारी गरे । एमडी अध्ययनका लागि डा गिरीले न्याम्समा प्रवेश परीक्षा पनि पास गरे ।

एमडी अध्ययनका लागि प्रवेश परीक्षामा पास भएपनि ३ वटा विषय (मेडिसिन, सर्जन, पेडियाट्रिक्स) रोज्न पाइन्थ्यो । तर ती तीनमध्ये जुनसुकै विषय पर्न सक्थ्यो । डा गिरीले एमडी अध्ययनमा पेडियाट्रिक्स पढ्ने अवसर पाए । त्यसपछि उनी न्याम्स अन्तर्गतको कान्ति बाल अस्पतालमा रहेर एमडी अध्ययन शुरु गरे ।

एमडीको अध्ययन पुरा भएको एकवर्षपछि उनी कान्ति बाल अस्पतालबाटै बालबालिकामा हुने रक्त क्यान्सरको विषयमा फेलोसिपका लागि भारतको भेलोर गए ।

उनी सन् २०१७ को जुलाइमा भेलोर गएर रक्त क्यान्सरको विषयमा फेलोसिप गरेर फकिएपछि उनी कान्ति बाल अस्पतालमा बालबालिकाको क्यान्सरको उपचारमा सरिक छन् ।

बालबालिकाको उपचार गर्दा छुट्टै खुसी मिल्छ

डा गिरीले ताप्लेजुङमा रहदा सबै रोगका सबै उमेरका बिरामीहरुको उपचार गरे । एउटा चिकित्सकलाई बिरामीको उपचार गरेर निको बनाएर घर पठाउन पाउँदा खुसी र सन्तुष्टि दुवै मिल्छ ।

डा गिरीले पनि त्यो सन्तुष्टिको अनुभव गरेका छन् । बिरामी भएर दुखी देखिएका बालबालिकाको उपचार पछि मुहारमा देखिने खुसीले डा गिरीको मन आनन्दित हुन्छ ।

हाल कान्ति बाल अस्पतालमा विशेषगरी रक्त क्यान्सर भएका बालबालिकाको उपचारमा संलग्न रहेका डा गिरीलाई बालबालिकाले पनि माया गर्छन् । अस्पतालमा बिरामी बालबालिकाले गर्ने व्यवहार देखेर उनी खुसी हुन्छन् ।

केही समय अघि क्यान्सर भएर कान्ति अस्पतालमा भर्ना भएको एउटा ७ वर्षको बालक थियो । उसको आमा र उसलाई नेपाली बोल्न आउँदैन थियो ।

एकदिन डा गिरीले राउण्डमा बिरामी जाँच गर्दै उ भएको ठाउँमा पुगे, डा गिरीले सोधे, ‘के छ समस्या ?’ बिरामी बालकले डा गिरीलाई हेर्दै टाठो स्वारमा बोल्यो, ‘समसा त खाएको छैन आज ।’

उसले नेपाली शब्द सिक्दै थियो त्यसैले समस्यालाई समोसा बुझ्यो । तर अस्पताल बस्दाबस्दै उसले नेपाली बोल्न सिक्यो । डा गिरीसँग केहीदिन अघि कै अर्को रमाइलो किस्सा पनि छ ।

डा गिरी सधैजस्तै क्यान्सरका बालबालिका रहेको वार्डमा राउण्डमा थिए । उनको अगाडी तालुमा कपाल कम नै छ । सधै टोपी लगाएर बिरामी जाँच्न जाने डा गिरी त्यो दिन टोपी नलगाइ वार्डमा पुगे ।

वर्डामा रहेको एकजना ७ वर्षका क्यान्सर पीडित बालक आमाको मोवाइल चलाउँदै थिए । बालककी आमाले ‘डाक्टर आउनुभयो यता हेर’ भनिन् । बालकले मोवाइलबाट नजर उठाउँदै डा गिरीलाई हेरे । उनी अचम्मित हुँदै भनिहाले, ‘ताक्लु भएर आउनुभएछ ।’ बिरामी बालकसँगै डा गिरी र वरीपरिका अन्य बिरामी कुरुवाहरुको हाँसोले वार्ड पुरै गुन्जयमान भयो ।

डा गिरी त्यो पल र बिरामी बालबालिकाका मुस्कानमा आफ्नो पेसाप्रतिको सन्तुष्टि भेटाउँछन् ।

‘बालबालिकाहरुमा कुनै स्वार्थ हुँदैन, उनीहरुले जे देख्छन् त्यहि बोल्छन्,’ डा गिरी भन्छन्, ‘बालबालिकाका यस्ता व्यवहारले मलाई पनि खुसी लाग्छ । बालबालिका निको भएर फर्किदा मिल्ने सन्तुष्टि अन्य पेसामा पाइदैन त्यही सन्तुष्टिले यो पेसामा अडाइरहेको छ ।’

जब क्यान्सरका बालबालिका उपचार नगराइ घर फर्किन्छन्

डा गिरी विशेषगरी रक्त क्यान्सर भएका बालबालिकाको उपचार गर्छन् । कान्ति बाल अस्पतालमा देशभरका रक्त क्यान्सरका बिरामीहरु आउँछन् । कान्ति बाल अस्पतालमा आउने क्यान्सरका बालबालिका मध्ये वार्षिक १० प्रतिशत बालबालिका अझैपनि उपचार नै नगराइ घर फर्किन्छन् ।

अस्पताल नै आइपुगेर रोग पत्ता लागेपछि पनि उपचार गराउन नपाएका बालबालिका देख्दा डा गिरीको मन अमिलो हुन्छ । उनले ती तितो यर्थात डा गिरीले यसरी सुनाए ।

केही समय अघि डोल्पाबाट एकजना बुबा घरमा भएको घोडा बेचेर नाती जचाउँन लिएर आएका थिए, उसको काठमाडौंमा कोही छैन, बच्चालाई ब्लड क्यान्सर थियो, हामीले उनको आर्थिक अवस्था बुझेका थियौं ।

त्यसैले हामीले अस्पतालमा हुने सम्पूर्ण उपचार खर्च जुटाउने व्यवस्था पनि गरीदियौं । अस्पतालमा लाग्ने खर्च मिनाह भएपनि उहाँलाई नातीको उपचार हुँदासम्म काठमाडौंमै बस्ने व्यवस्था मिलाउनु भनेका थियौं ।

तर उहाँले बस्ने व्यवस्था मिलाउन सक्नुभएन । तर उहाँले एकहप्तापछि अस्पतालबाट बच्चा लिएर जानुभयो । हामीसँग सम्पर्क नै छैन । यस्तो घटना कान्ति अस्पतालमा भइरहेको हुन्छ । मन अमिलो हुन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ६ : १४ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो