आन्तरिक सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र ‘ब्याक फोर्स’का रुपमा सशस्त्र प्रहरी छ । कतिपय अवस्था ‘टेक्निकल’ सपोर्टका रुपमा नेपाली सेनाले पनि आन्तरिक सुरक्षा व्यवस्थापनमा भूमिका खेलेको हुन्छ ।
प्रमुख गुप्तचरी निकायका रुपमा राष्ट्रिय अनुसन्धान विभाग छ । जसले संभावित सुरक्षा चुनौतीको विश्लेषण गरी त्यसका बारेमा सरकारलाई पूर्वसूचना उपलब्ध गराउनुपर्ने हो । तर, पछिल्लो समय विप्लव समूहका नाममा संघीय राजधानी काठमाडौंमा भइरहेका बम विस्फोटका घटनाले राज्यका प्रमुख सुरक्षा संगठन र गुप्तचरी निकायको औचित्यमाथि नै प्रश्न उठाइदिएको छ ।
आइतबार अपराह्न भएका दुई शक्तिशाली विस्फोट र सोमबार मुलुकका विभिन्न स्थानमा भेटिएका शंकास्पद वस्तु तथा विभिन्न ठाउँमा बस तथा ट्रकमा भएका आगजनीका घटनाले सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठाइदिएको छ ।
मुलुकको राजधानी काठमाडौं, त्यो पनि मुलुककै प्रशासनिक केन्द्र सिंहदरबारको आडैमा विस्फोट हुनुले सुरक्षा सतर्कतामाथि गम्भिर प्रश्न उठेको सुरक्षा विज्ञहरुको भनाइ छ । त्यस्तै अर्को विस्फोट भएको स्थान सुकेधार नजिकै सत्तारुढ दल नेकपाको पार्टी कार्यालय छ । उक्त विस्फोट नेकपाको पार्टी कार्यालयलाई नै लक्षित गरी गराउन खोजिएको हो कि भन्ने आशंका पनि उब्जिएको सुरक्षाविदहरु आशंका गर्छन् ।
भोजपुरमा ‘सुरक्षा कारबाही’मा आफ्ना कार्यकर्ता मारिएको भन्दै विप्लव नेतृत्वको नेकपाले यसअघि नै जेठ १३ गतेका लागि ‘नेपाल बन्द’को घोषणा गरेको थियो । यसअघि पनि बन्द घोषणा गरेर ठाउँ–ठाउँमा विस्फोटक पदार्थ राख्दै आएको विप्लवको योजनाका विषयमा यसपटक पनि सुरक्षा संयन्त्रले पूर्वसूचना पाएन । विज्ञहरुका अनुसार सोमबारको बन्दमा विप्लव ‘सफल’ भए भने सरकार ‘असफल’ देखियो ।
नेपाल बन्द सफल पार्न सोमबार बिहानै विस्फोट गर्ने योजना बनाएको विप्लव समूहले विस्फोटक पद्धार्थको समय मिलाउन नसक्दा अघिल्लो दिन नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार घट्टेकुलो र सुकेधारामा भएको विस्फोट १२ घन्टाअघि नै टाइमर मिलाउने क्रममा भएको हो ।
मस्त निद्रामा गुप्तचरी निकाय
गत जेठ ८ गते प्रहरीको गोली लागेर घाइते भएका भोजपुरका विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्युको विषयलाई लिएर विप्लव समूहले सोमबार नेपाल बन्दको आह्वान गरेको थियो । उसले नेपाल बन्द घोषणा गरेसँगै बन्द अराजक हुनसक्ने प्रहरीले विश्लेषण पनि गरेको थियो । तर, यति थाहा हुँदा–हुँदै पनि सुरक्षा निकायले घटना रोक्न सकेनन् ।
संभावित घटनाको विषयमा पूर्वसूचना संकलन गर्न गुप्तचरी निकायको रुपमा राष्ट्रिय अनुसन्धान विभाग छ । यसका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका पनि आ–आफ्नै गुप्तचरी संयन्त्र छन् ।
तर, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सत्तारुढ दलको मुख्यालययको आडैमा हुने विस्फोटबारे कुनै पनि गुप्तचरी निकायले सामान्य पूर्वजानकारी समेत पाएनन् ।
विस्फोटस्थलमा भेटिएको पर्चाको आधारमा मात्रै प्रहरीले भन्यो, ‘यसमा विप्लवको संलग्नता छ !’
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल भने विप्लव समूहले हिंसात्मक गतिविधि गर्न सक्ने पूर्वआकलन अनुसार प्रहरीले सुरक्षा योजना बनाएर अघि बढेको दाबी गर्छन् । उनी भन्छन्– ‘हामीले सुरक्षा थ्रेट मुल्याङ्कन गरेर सुरक्षाकर्मी परिचालन गरेका छौं ।’
राष्ट्रिय अनुसन्धान विभागका एक पूर्व अधिकारी पछिल्लो समय गुप्तचरी निकाय ‘मस्त निद्रामा’ रहेको टिप्पणी गर्छन् । ‘नख्खु विस्फोटदेखि आइतबार भएका विस्फोटको घटनाले गुप्तचरी र सुरक्षा निकायको लापरबाहीलाई उदांगो पारिदिएको छ,’ राष्ट्रिय अनुसन्धान विभागका ती पूर्व अधिकारी भन्छन्, ‘गुप्तरी निकाय निगरानीमा रहेका समूह र व्यक्तिका विषयमा सूचना संकलन गर्न हरेक समय सक्रिय हुनुपर्ने हो । तर, अहिले त यो निकाय नै मस्त निद्रामा रहेको जस्तो देखियो ।’
विप्लव समूहमाथिको निगरानी चर्चामै सीमित
सरकारले फागुन २८ गतेबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने घोषणा ग¥यो ।
त्यसलगत्तै सरकारले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउँदै धरपकड र पक्राउ समेत सुरु ग¥यो । यो अवधिमा विप्लव समूहका सयौं जना नेता तथा कार्यकर्ता पक्राउ पनि परे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम (अन्तिम समय) दिएका थिए । यतिमात्र नभएर उनले चैत मसान्तसम्म हिंसात्मक गतिविधि त्यागेको घोषणा नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिने सम्मको दाबी गरेका थिए ।
तर, प्रधानमन्त्री ओलीकै दाबीले फेल खाएको छ । उल्टै विप्लव समूह झन ठूलो सुरक्षा चुनौतीका रुपमा अगाडि आइरहेको विश्लेषकहरु बताउँछन् ।
नेपाल प्रहरीका अवकाशप्राप्त एक अधिकारी विप्लव समूह सरकारकै कमजोरीका कारण विस्फोट गर्न सफल भइरहेको बताउँछन् । ‘सरकारका प्रधानमन्त्री, गृहमन्त्रीदेखि सत्तारुढ दलका नेताहरु विप्लवविरुद्ध चर्को भाषण मात्रै गर्छन्, उनका हिंसात्मक गतिविधि नियन्त्रण गर्ने सम्बन्धमा कुनै योजना नै बनाउँदैनन्,’ ती पूर्व प्रहरी अधिकारी भन्छन्, ‘भाषण गरेर मात्रै सुरक्षा चुनौती घट्दैन, यसका लागि स्पष्ट योजना बनाएर मातहतका निकायलाई परिचालन गर्नुपर्छ ।’
सिंहदरबारमै बम विस्फोट हुनसक्थ्यो ?
आइतबार कार्यालय समयका क्रममा सिंहदरबार प्रवेश गर्ने कर्मचारीले बोकेका झोलाको समेत खानतलासी भइरहेको थियो । सुरक्षाकर्मीले सबै तहका कर्मचारीले बोकेका झोला खोलेर चेकजाँच गरिरहेका थिए । सिंहदरबारका सबै गेटमा एक्सरे मेसिनसहित सुरक्षाकर्मी तैनाथ थिए ।
तर, उक्त चेकजाँच विप्लवको सम्भावित सुरक्षा चुनौतीप्रति लक्षित थिएन । सिंहदरबारको सुरक्षा व्यवस्थापनको जिम्मेवारीमा रहेका एक सुरक्षा अधिकारीले नियमित कार्यतालिकाअनुसार नै आइतबार सिंहदरबार प्रवेशमा कडाइ गरिएको बताउँछन् ।
‘सिंहदरबारमा कुनै पनि बेला आक्रमण हुन सक्छ भनेर नै सुरक्षा सतर्कता बढाइएको हुन्छ । तर, आइतबार त्यस्तो कुनै विशेष आक्रमण हुन लागेको सूचना प्राप्त गरेर चेकजाँचमा कडाइ गरिएको हैन,’ ती अधिकारी भन्छन्, ‘ नियमित तालिकाअनुसार नै आइतबार चेकजाँच गरिएको थियो । तर, अपराह्न घट्टेकुलोमा बम विस्फोट भएपछि भने हामीलाई पनि त्यसले झस्कायो ।’
ती सुरक्षा अधिकारी आइतबारको विस्फोट सिंहदरबार लक्षित भएको पनि हुनसक्ने आशंका गर्छन् । ‘यदि त्यो बम प्राविधिक त्रुटीले विस्फोट नभएको भए, उनीहरुले सिंहदरबारमा पनि पड्काउन सक्थे,’ ती अधिकारी भन्छन्, ‘यद्यपि हामीले हरेक समय संभावित आक्रमणलाई निस्तेज पार्ने गरी सुरक्षा व्यवस्थापनमा खटिएका हुन्छौं । उनीहरुले सिंहदरबारमा आक्रमण गर्ने योजना बनाएको भएपनि सफल भने हुँदैन थिए ।’
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल सिंहदरबारमै बम विस्फोट गराउने समूहले आफ्नो बलियो पकड देखाउन खोजेको बताउँछन् । ‘सिंहदरबारको छेउमै बम विस्फोट हुनु सुरक्षा चुनौतीका हिसावले एकदमै ठूलो कुरा हो,’ मल्ल भन्छन्, ‘आइतबार भएको बम विस्फोटमा जुनसुकै समूहको संलग्नता भएपनि उक्त समूहले आफ्नो पकड बलियो पार्न उक्त विस्फोट गराएको हो ।’
सुकेधाराको ढलाने पुलछेउमा भएको विस्फोट निकै शक्तिशाली भएको प्रहरीको भनाइ छ । विस्फोटबाट भुइँमा करिब दुई फिट गहिरो खाल्डो परेको छ । पसलका सिसा फुटेर सडकमा छरिएका छन् ।
यता घट्टेकुलोमा भएको विष्फोट पनि शक्तिशाली भएको प्रहरीको भनाइ छ । यद्यपि कस्तो किसिमको विस्फोटक पद्धार्थ थियो भन्नेबारे निष्कर्शमा पुग्ने बेला नभएको सुरक्षा अधिकारीहरु बताउँछन् ।
प्रहरी प्रवक्ता विश्वराज पोखरल भन्छन्, ‘यस विषयमा अनुसन्धान जारी छ ।’
पूर्व डिआईजी मल्ल भने आइतबारको विस्फोटलाई ‘शक्तिशाली’ र ‘नयाँ प्रयोग’को रुपमा लिन्छन् । ‘सुकेधारा र अनामनगर (घट्टकुलो)मा जे–जस्तो विष्फोटक प्रयोग गरिए पनि निकै शक्तिशाली पदार्थ हो,’ मल्ल भन्छन् ।
सरकार जनतासँग नजिक नहुँदा सहजै विस्फोट
गृह मन्त्रालयका पूर्व सचिव खेमराज रेग्मी पछिल्लो समय विप्लव समूहले राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सहजै विस्फोट गराइरहेको बताउँछन् ।
विप्लव समूहले आइतबार र सोमबार मात्रै देशका ३४ स्थानमा विस्फोटक पदार्थ र बम राखेको प्रहरीले जनाएको छ ।
प्रहरीले बम राखिएपछि मात्रै थाहा पाएर डिस्पोजका लागि सेनालाई खबर गरेको छ । विप्लव समूहले प्रहरी र गुप्तचरी निकायलाई छलेर सहजै बम राखेको तथा विस्फोट गराउन सकेको छ ।
पूर्व गृहसचिव रेग्मी सरकारले जनतासँग राम्रो सम्बन्ध स्थापित गर्न नसकेको कारण विप्लव समूहले विभिन्न ठाउँमा सहजै बम राख्न र विस्फोट गराउन सकेको बताउँछन् ।
‘यसअघि आफ्नो ठाउँमा कुनै शंकास्पद गतिविधि देखिए जनताले प्रहरी र सरकारी निकायलाई जानकारी दिन्थे । अहिले त्यस्तो भएको देखिएन,’ रेग्मी भन्छन्, ‘राज्य र जनताबीचको आत्मीय सम्बन्ध हुँदा मात्र जनताले पनि खबर दिन्छ । सरकारले अनुभूति दिलाउन सक्यो भने मात्र जनताले सहयोग गर्छ । त्यो पनि राज्यले सहयोग लिन सकेन ।’
आइतबार भएको बम विस्फोटमा गुप्तचरी निकायको पनि गम्भीर कमजोरी रहेको रेग्मीको भनाइ छ । ‘गुप्तचरी निकायले सामान्य सूचनालाई पनि गम्भीर रुपमा लिएर मिहिन ढंगले अनुसन्धान गर्नुपर्छ,’ रेग्मी भन्छन्, ‘देशको केन्द्रीय राजधानीमै यत्रो विस्फोट हुँदा पनि हल्का रुपमा लिइएको छ । यो एकदमै गलत हो ।’
पछिल्लो समय प्रहरी लगायत सुरक्षा संगठनहरुमा बढेको राजनीतिक प्रभावका कारण यस्ता घटना भइरहेको पनि पूर्व गृहसचिव रेग्मीको भनाइ छ ।
‘बढ्दो राजनीतिक प्रभावका कारण सुरक्षा निकायका मानिस आफ्नो संगठनप्रति ‘लोयल’ हुने भन्दा पनि राजनीतिक व्यक्ति र उनको अघिपछि बस्ने विचौलिया बनेका छन्,’ रेग्मी भन्छन् ।
सशस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) रविराज थापा भाग्यले साथ दिँदा मात्रै आइतबारको विस्फोटबाट कम क्षति भएको बताउँछन् ।
‘नेपाल प्रहरीलाई सुरक्षा व्यवस्थापनबारे अहिले मतलब नै छैन भनिदिँदा पनि हुन्छ,’ पूर्व एआईजी थापा भन्छन्, ‘७ वटा संविधान फेरियो, तर प्रहरी संयन्त्र र तौरतरिकामा कुनै परिवर्तन आएन । सुरक्षा निकाय चिप्लो र बेसारे भयो ।’
यो पनि पढ्नुहोस्
विप्लवसँग ५०० मिटरसम्म मार हान्नसक्ने ड्रोन, फौजी क्षमताबारे सेना र प्रहरीकै फरक मूल्याङ्कन
प्रतिक्रिया