बर्खा लाग्नासाथ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या | Khabarhub Khabarhub

बर्खा लाग्नासाथ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या



काठमाडौं- मनसुन शुरु भएसँगै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या देखिने भएको छ । लगातार पानी पर्दा ल्याण्डफिल साइट सिसडोलमा फोहोर बोकेको गाडी जान नसक्ने हुँदा हप्तौँसम्म काठमाडौंको फोहोर सडकमै थुप्रिने अवस्था आउने भएको हो । यो समस्या हरेक मनसुनको समयमा बर्सेनि देखिने गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

आफैले फोहोर व्यवस्थापन गर्दै आएको महानगर र सरोकोरवाला निकायले तदारुक्ता नदेखाउँदा बर्सेनि एउटै समस्या दोहोरिने गरेको छ । जसको प्रत्यक्ष असर उपत्यकावासीले भोगिरहेका छन् ।

वर्षा शुरु हुनासाथ ल्याण्डफिल साइट सिसडोल जाने बाटोमा गाडी चिप्लने तथा फस्ने हुँदा बीच बाटोमै फोहोर बोकेका गाडीहरु अलपत्र पर्ने गर्छन् । फोहोर लिन गाडी नआएपछि उपत्यकाको सडकमा फोहोरको थुप्रो देखिन थाल्छन् । फोहोर व्यवस्थापनको दीर्घकालिन समाधान हुन नसक्दा काठमाडौं उपत्यकाको फोहोरलाई समस्याको पहाडको रुपमा हेर्ने गरिएको छ ।

फोहोरको पहाड

काठमाडौं महानगरपालिकाले २०६२ सालदेखि उपत्यकाको फोहोर नुवाकोटको ओखरपौवास्थित सिसडोल (ल्याण्डफिल साइट) मा थुपार्दै आइरहेको छ । सिसडोल ल्याण्डफिल साइटको क्षमता ६ दशमलव ५ लाख मेट्रिक टन रहेको थियो ।

तत्कालीन समयमा अस्थायी रुपमा ३ वर्षको लागि ल्याण्डफिल साइट सञ्चालन गरिएको थियो । ३ वर्षका लागि निर्माण गरिएको अस्थायी ल्याण्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर थुपार्न थालिएको १४ वर्ष बिसिसकेको छ । यतिका वर्ष बित्दा पनि फोहोर व्यवस्थापनमा सिसडोलको विकल्पप्रति सम्बन्धित निकायको ध्यान जान सकेको देखिँदैन ।

उपत्यकाबाट दैनिक १ हजार देखि ११ सय मेट्रिक टन फोहोर उत्पादन हुने गर्छ । दैनिक उत्सर्जन हुने फोहोरमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै बिर्सजन गरिँदै आइएको छ ।

फोहोरले अहिले सिसडोल ल्याण्डफिल साइट भरिइसकेको छ । अब लामो समयसम्म सिसडालले उपत्यकाको फोहोर थेग्न सक्ने अवस्था छैन । तर समयमै विकल्प खोज्न नसक्दा काठमाडौं महानगरपालिकाले निरन्तर सिसडोलमै फोहोर लगिरहेको छ ।
उपत्यकाको २ महानगर र १५ नगरपालिकाबाट उत्सर्जन भएका फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडौं महानगरपालिको रहेको छ ।

अझै ३ महिना सिसडोलमै लैजाने

ल्याण्डफिल साइट सिसडोल फोहोरले भरिँदा पनि काठमाडौं महानगरपालिका भने अझै ३ महिनासम्म सोही स्थानमा उपत्यकाको फोहोर थुर्पान सकिने दावी गर्छ ।

समस्याका बाबजुत पनि सिसडोलमै फोहोर व्यवस्थापन गर्नु पर्ने बाध्यता रहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले खबरहबलाई बताए ।
तत्कालका लागि अन्य स्थानमा फोहोर लैजाने विकल्प नभएको बताउँदै डंगोल भन्छन्, ‘हामीले भदौसम्मको लागि सिसडोलमै फोहोर व्यवस्थापन गर्न मिल्ने बनाएको छौँ ।’ उनका अनुसार अबको ३ महिनासम्म उपत्यकाको फोहोर सिसडोलमै जानेछ ।

बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न अझै समय लाग्ने

वि.सं. २०५१ मा सरकारले नुवाकोटको ककनी र धादिङको धुनिबेसी बीचमा रहेको बञ्चरे डाँडालाई दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

निर्णय गरेको २५ वर्ष बितिसक्दा पनि पूर्वाधारको विकास हुन सकेको छैन । जसकारण सिसडोलमै फोहोर थुपार्नु पर्ने बाध्यता छ ।
‘बञ्चरे डाँडामा दीर्घकालीन रुपमा उपत्यकाको फोहोर व्यवस्थापन गर्ने गरी सहरी विकास मन्त्रालयले गत वैशाख १२ गतेबाट पूर्वाधार निर्माण कार्य शुरु गरिरहेको छ’ कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले भने ।

‘दुई महिनाअघि शिलान्यास भएको थियो’ श्रेष्ठले भने, ‘समय अझै लाग्छ यो बर्खामा निर्माण कार्य सम्पन्न हुने अवस्था छैन ।’
पूर्वाधारको विकास भइ नसकेको अवस्थामा उपत्यकाको फोहोर कहिलेबाट बञ्चरे डाँडामा लैजान थालिन्छ भन्ने कुरा निश्चित नभएको श्रेष्ठ बताउँछन् ।

सडकको समस्या

काठमाडौंबाट सिसडोल २६ किलोमिटरको दुरीमा पर्छ भने, सिसडोलबाट बञ्चरेडाँडाको दूरी २ किलोमिटर छ ।
२८ किलोमिटर सडकको अवस्था नाजुक हुँदा पानी परेको समयमा गाडी जान नसक्ने श्रेष्ठले बताए । ‘हामीले सडक विभागलाई पटक–पटक अनुरोध गरेका थियौँ’ श्रेष्ठले भने, ‘अहिलेसम्म सडक मर्मत हुन सकेको छैन ।’

उपत्यकाको फोहोर बोकेर जाने गाडीहरु बालाजुबाट तिनपिप्ले-मुर्खु हुँदै नुवाकोटको सिसडोल पुग्ने गर्छन् । सडकको अवस्था नाजुक हुँदा मुस्किकले गाडी सिसडोल पुगे पनि लगातार वर्षा शुरु भएपछि उपत्यकाको फोहोर सिसडोल नपुग्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ८ : २१ बजे

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति