विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा | Khabarhub Khabarhub

विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो ।

विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पुर्‍याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ ।

राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताए ।

एकताका केही छिटफुट काम केही दिनभित्रै सम्पन्न गर्ने मनस्थितिमा आफूहरु पुगेको उनको भनाइ छ । “अब छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएर योजनाबद्धरुपमा जनताको बीचमा जाने तयारी गरिएको छ”, उनले भने ।

विशेष गरी नेकपाले सचिवालय बैठकमार्फत आवश्यक निर्णय लिँदै आएको छ । त्यसले पार्टी कमिटी संस्थागत नभएको आरोपसमेत बेलाबेलामा लाग्ने गरेको छ । अन्य एकताका कामले साकार रुप लिए पनि पोलिटब्यूरो गठन भने हुन सकेको छैन । पार्टीभित्र तत्काल स्थायी र केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने माग पनि उठेको छ ।

पार्टी एकतापछि स्थायी कमिटीको बैठक एक पटक मात्रै बसेको छ । पार्टीलाई बढी व्यवस्थित र वैज्ञानिक बनाउने लक्ष्यका साथ अब नियमितरुपमा कमिटीका बैठक राख्ने, योजना तय गर्ने र कार्यान्वयन गर्ने योजनामा नेकपा पुगेको छ । सचिवालयको पछिल्लो बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा मात्रै केन्द्रित रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन टुङ्गो लागेको छ ।

अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लागेसँगै पार्टी कामकारवाहीले जीवन्तता प्राप्त गर्ने विश्वास लिइएको छ । पार्टी सदस्यका रुपमा रहेका आठ लाख बढी नेता, कार्यकर्तालाई राष्ट्रियरुपमा परिचालन गर्ने योजनाका साथ पार्टी लागेको महासचिव पौडेलको भनाइ छ । ठूलो सङ्ख्यामा रहेका पार्टी नेता कार्यकर्तामा राजनीतिक कार्यक्रम र गतिविधि सुस्त हुँदा पार्टीले निकै ठूलो क्षति ब्यहोर्नुपरेको गुनासो पार्टीभित्रै उठ्दै आएको छ ।

एकता प्रक्रिया नटुङ्गिएका कारण कार्यकर्ता तहमा भएको अन्योल अहिले साम्य भएको भन्दै महासचिव पौडेलले तीन तहको सरकारले गरेका महत्वपूर्ण कार्य सम्पादनबारेमा जनता र कार्यकर्तालाई समेत जानकारी दिनका लागि अभियान जरुरी रहेको बताए ।

अभियानसँगै सरकार र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आमपार्टी पङ्क्ति र जनसमुदायलाई एक साथ सन्देश दिन लागिएको उल्लेख गर्दै उनले त्यसले जनतासँगको सम्बन्धलाई समेत थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, “पार्टी निर्माण र सञ्चालनका लागि हामीले कस्तो वैधानिक व्यवस्था गरेको छौँ भन्ने विषयमा आमकार्यकर्ता तहमा मतैक्य होस् भन्ने चाहना राखिएको छ । आजको नेकपाको सैद्धान्तिक र नीतिगत मान्यता के हुन् भन्नेमा थप स्पष्ट गर्नु जरुरी भएको छ ।” नेकपाले तत्कालका लागि समाजवाद उन्मुख ‘जनताको जनवाद’लाई आफ्नो कार्यक्रम बनाएको छ ।

राजनीतिक स्थिरता, देशको स्वतन्त्रता सार्वभौमसत्ता र छिमेकीसँगको सम्बन्धलाई केन्द्रमा राखेर नेकपा अगाडि बढेकाले पनि जनताले आफूहरुलाई थप विश्वास गर्ने उनको भनाइ थियो । वर्तमान सरकार गठन भएपछि विकास–निर्माणका कामले गति लिएको, नेपालको अन्तरराष्ट्रियस्तरमा छवि उच्च बनेको तथा संविधान कार्यान्वयनसँगै जनताले परिवर्तनको महसुस गरेको महासचिव पौडेल बताउँछन् ।

“सरकार गठन भएको यस अवधिलाई कुनै पूर्वाग्रह नराखीकन हेर्ने आम मान्छेले सहजै अनुमान गर्न सक्छन्, आलोचनाका लागि मात्रै आलोचना गर्नेलाई त मेरो भन्नु केही छैन”,उनले भने, “काठमाडौँ नागढुङ्गा सुरुङमार्ग निर्माणको काम शुरु भएको छ । देशव्यापीरुपमा नै सडक कालोपत्र भएका छन् । भेरी बबई डाइभर्सन आयोजनाको कामले गति लिएको छ । आर्थिक विकासका काम भएका छन् । केरुङ–काठमाडौँ रेलमार्ग तथा काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको कामसमेत अगाडि बढेको छ ।”

पछिल्ला दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगै देशका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटमा समेत संलग्न रहेका महासचिव पौडेलले जनतामा नेकपाप्रतिको विश्वास उस्तै रहेको आफूले पाएको जानकारी दिए ।
“सरकारले काम गर्दैछ, नेकपा हाम्रै पक्षमा छ भन्ने विश्वास जनतामा छ”, उनले भने ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ७ : ३५ बजे

बेनी बजार चिनाउने माध्यम : ‘सङ्गीत, संस्कृति र प्रकृति’

म्याग्दी– कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी

पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ– पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ ।

जब अमिरले भने- ‘माँकसम म रोमान्टिक छु, विश्वास नभए मेरो दुई पत्निलाई सोध्नू’

काठमाडौं – बलिउड नायक अमिर खान अहिले फिल्म प्रचारमा दौडिरहेका

जनशक्ति अभावले अल्लो उद्योग बन्द

पर्वत– विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको

ऐतिहासिक ‘घरपझोङ किल्ला’ भग्नावशेषमा परिणत

म्याग्दी– संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको