बेलायतमा चुलिँदो राजनीतिक संकट : के गर्लिन् टेरिजा मे ? « Khabarhub

बेलायतमा चुलिँदो राजनीतिक संकट : के गर्लिन् टेरिजा मे ?



बेलायती प्रधानमन्त्री टेरिजा मेले बेलायत युरोपेली युनियन ‘ईयू’बाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफूले ‘इयू’सँग गरेको सम्झौता संसद्ले पारित गरे आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । यसअघि उनले ब्रेक्जिटबारे ‘इयू’सँग गरेको सम्झौता दुईपटकसम्म संसद्ले अस्वीकार गरिसकेको छ ।

त्यस्तै, सभामुख जोन बर्कोले तेश्रो पटक पनि त्यही सम्झौता पारित गराउन संसद्मा नल्याउन प्रधानमन्त्रीलाई निर्देशन दिइसकेका छन् । त्यसबाहेक कुनै सम्झौताबेगर ‘इयू’बाट बाहिरिने विषयलाई पनि बेलायती संसद्ले खारेज गरिसकेको छ । त्यस्तै, ब्रेक्जिटबारे दोश्रो जनमत सङ्ग्रह गर्ने प्रस्ताव पनि संसद्ले अस्वीकार गरिसकेको छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री मेमाथि ठूलो आपत आइलागेको छ भने बेलायती राजनीतिमा संकट चुलिएको छ । उनले ‘इयू’सँग गरेको सम्झौताका विभिन्न बुँदामा असन्तुष्ट कन्जरभेटिभ पार्टीका सांसद्हरुलाई फकाउने प्रयास अन्तर्गत उनले आफ्नो सम्झौता पारित भए आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।

यसअघि बेलायतको संसद्ले आफैँले ब्रेक्जिटबारे छिनोफानो गर्न बुधबार मात्रै साङ्केतिक मतदान कार्यक्रम राखेको थियो । साङ्केतिक मतदानको पहिलो चरणमा प्रस्ताव गरिएका ८ वटामध्ये कुनै पनि बुँदा संसद्ले पारित गर्न नसकेपछि त्यसले मेको सरकारलाई केही हदसम्म राहत दिएको छ । तर, ब्रेक्जिटबारेको सम्झौतालाई छिनोफानो गर्न अर्को चरणको पनि मतदान हुने कार्यक्रम छ ।

संसद्ले पारित गरेका हरेक बुँदाका आधारमा ‘इयू’सँग सम्झौता गर्न सरकार बाध्यकारी त छैन । तर, यसले संसद्को चाहनाअनुसार सम्झौता गर्न सरकारलाई चर्को नैतिक दबाब भने अवश्य पनि दिनेछ ।

यसले ‘इयू’बाट जसरी पनि कुनै सम्झौताबेगर नै बाहिरिनुपर्ने पक्षका सांसद्हरुले संसदले निर्धारण गरेको बुँदाअनुसारको सम्झौता भन्दा प्रधानमन्त्री मेले गरेको सम्झौताका आधारमा ‘इयू’बाट बाहिरिने पक्षमा लाग्न बाध्य समेत हुन सक्नेछन् । उनको घोषणालाई यसअघि बेलायत जसरी पनि ‘इयू’बाट बाहिरिनुपर्ने मत राख्दै आएका युरोपियन रिसर्च ग्रुपमा आबद्ध कन्जरभेटिभ सांसद्हरुको समर्थन जुट्नसक्ने बताइन्छ ।

यस्तो अवस्थामा ब्रेक्जिटको मिति नजिकिँदै गर्दा मेले आफूले ‘इयू’सँग गरेको सम्झौता पारित गर्न हरसम्भव प्रयास गरिरहेकी छिन् । यसका लागि उनले आफ्नो कन्जरभेटिभ पार्टीका सांसद्हरुलाई फकाइ नै रहेकी छिन् । तर, त्यसमाथि आफूले पदबाट राजीनामा दिने घोषणा गरेपनि कन्जरभेटिभ पार्टीका सबै सांसद्हरुले मेको सम्झौतालाई समर्थन गर्ने चाहीँ शत प्रतिशत ग्यारेन्टी छैन । विपक्षी पार्टीका सांसद्हरुले पनि उनको सम्झौतालाई समर्थन गर्ने अवस्था पनि छैन ।

अझ प्रधानमन्त्री मेले संसद्मा कन्जरभेटिभ पार्टीको बहुमत नरहेको र सम्झौता पारित गर्नका लागि सरकारको साथमा रहेको उत्तरी आयरल्याण्डको डेमोक्र्याटिक युनियनिष्ट पार्टी डियुपीलाई पनि फकाउनुपर्ने अर्को दबाब छ ।

तर, दक्षिणपन्थी धारको डियुपी भने ब्रेक्जिटबारे मेले ‘इयू’सँग गरेको सम्झौतामा आयरल्याण्डको सीमालाई फितलो नै बनाउन खोजिएको र त्यसले बेलायतको सार्वभौमिकतामाथि सवाल उठ्नसक्ने भन्दै असन्तुष्ट रहेको छ । डियुपीले मेको प्रस्ताव स्वीकार गर्ने–नगर्नेबारे स्पष्ट नभइसकेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अवस्थामा आएर मेले ‘इयू’सँग गरेको सम्झौता पारित हुने शत प्रतिशत ग्यारेन्टी भने छैन । सम्झौता पारित नभएमा बेलायत स्वतः कुनै पनि सम्झौता बेगर बाहिरिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री मेले केही समयअघि ब्रेक्जिटको म्याद शुक्रबारबाट बढाएर मे २२ सम्म पु¥याउन ‘इयू’सँग सहमत भएकी थिइन् । तर, सम्झौताअनुसार त्यो म्याद बढाउन मेले ‘इयू’सँग गरेको सम्झौता जसरी पनि संसद्बाट पारित हुनुपर्ने शर्त छ ।

बेलायत कुनै सम्झौताबेगर ‘इयू’बाट बाहिरिएमा त्यसले बेलायती अर्थतन्त्रमा नराम्रो असर पर्ने बताइन्छ । यस्तो अवस्थामा बेलायती सांसद्मा मेले गरेको सम्झौतालाई स्वीकार गर्ने वा कुनै सम्झौता बेगर नै बाहिरिनुपर्ने दुई विकल्प आउनसक्ने बताइन्छ । तर, मेले ‘इयू’सँग गरेको सम्झौतामा राखिएका बुँदाहरुमा प्रायः सबै ठूला पार्टीका सांसद्हरु आफू–आफूमै फुटको अवस्थामा छन् ।

यस्तो अवस्थामा उनले आफूले गरेको सम्झौता पारित भएको अवस्थामा पदबाट राजीनामा दिने घोषणा त गरेकी छिन्, तर, न त उनको सम्झौता संसद्बाट पारित हुने स्पष्ट आधार देखिएको छ, न त उनको राजीनामा दिने घोषणापछि उनको प्रस्ताव पारित हुने कुनै स्पष्ट आधार छ । उनको राजीनामा पछि उनको स्थानमा अर्का कुनै दक्षिणपन्थी नेता प्रधानमन्त्रीको रुपमा आएमा ब्रेक्जिट प्रक्रिया थप भताभुङ्ग हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ९ : १० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी