काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचन आयोगले कार्यसमिति तथा विधान अद्यावधिक गरेको जानकारी गराएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति थापाले पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाइ निर्वाचन आयोगले अद्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।
कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।
महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरूसहित अद्यावधिकका लागि आयोगमा निवेदन दर्ता गराएको थियो ।
त्यस्तै केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार पनि संगठनको आगामी कार्यभार (हामी तयार छौँ अभियान) लगायतका कार्यसूचीहरूमाथि छलफल भएको महामन्त्री डिला संग्रौलाले जानकारी दिइन् ।
साथै बैठकमा सरकारका क्रियाकलाप, स्थानीय निर्वाचनको तयारी लगायतका विषयमा पनि सदस्यहरूले धारणा राखेको उनले बताइन् । उनले निर्वाचन आयोगले अद्यावधिक गरेसँगै पार्टीको आधिकारिकताका बारे अव कुनै विवाद नरहेको धारणा राखिन् ।
बैठकले १० औं राष्ट्रिय खेलकुदको ऐतिहासिक महाकुम्भलाई भब्य र सफल बनाउन स्थानीय पार्टी पंक्तिलाई सक्रिय रूपमा जुट्न आह्वान गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बिहान ११ बजे बस्नेगरि स्थगित भएको छ ।














प्रतिक्रिया