शान्ति क्षेत्रमा हतियारको त्रास, बन्दुक बोकेर भित्रिन्छन् विदेशी | Khabarhub Khabarhub

शान्ति क्षेत्रमा हतियारको त्रास, बन्दुक बोकेर भित्रिन्छन् विदेशी



काठमाडौं–विश्वमा शान्ति क्षेत्रका रुपमा परिचित नेपाल निक्कै लामो समयदेखि अशान्त रहँदै आएको छ । १० वर्षे सशस्त्र युद्धले बढाएको हतियारको आतंक अझै निमिट्यान्न हुन सकेको छैन । गाउँगाउँमा हतियार बोक्नेको संख्या बढेको छ भने, मानव रक्षाका लागि प्रयोग हुनुपर्ने हतियार हिंसा मच्चाउन बढी प्रयोग हुन थालेको छ ।

पछिल्लो तथ्यांक हेर्दा पनि सुरक्षाकर्मीका हातमा हुनुपर्ने हतियार अहिले थुप्रै आपराधिक गिरोहसँग छ । विकास निर्माणका योजनाको ठेक्कापट्टाका बेला होस या रमाइलो गर्न रेस्टुरेन्ट र बारहरु पुगेका बेला आतंक हतियारकै हुन्छ । साथीभाइमा रमाइलो गरिरहेका बेला पनि थोरै कुरा नमिले बन्दुक पड्कनु सामान्यजस्तै भएको छ ।

यस्तो अवस्था कसरी आयो । आममानिसको पहुँचमा पुग्ने गरी हतियारको वितरण कसरी भयो? यो गम्भीर चासो र खोजीको विषय हो । यो विषयलाई प्रहरीले पनि निक्कै गम्भीरताका साथ अध्ययन गरिरहेको छ तर, हतियार नियन्त्रण ठूलो चुनौति भन्ने निष्कर्षबाहेक अरु ठोस कदम चाल्न सकेको छैन ।

यस्तो छ हतियारको जालो

यही वैशाख ३ गते, प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बझाङ सचिव भरत मल्लको घरबाट कटुवा पेस्तोल, दुई राउण्ड गोली र बम बनाउन प्रयोग हुने सामान बरामद् गर्‍यो ।

त्यस अघि वैशाख १ गते, प्रहरीले बाराको कलैयाबाट एकथान कटुवा पेस्तोल, म्याग्जिन र २३ थान गोलीसहित एक जनालाई पक्राउ गर्‍यो । सोही दिन प्रहरीले मोरङको विराटनगर महानगरपालिका १६ दरैयामा एक थान पेस्तोल बरामद गर्‍यो । प्रहरीले रङको बट्टाभित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाइ राखेको ‘मेड इन युएस’ लेखेको पेस्तोल, त्यसको म्याग्जिन र दुई राउण्ड गोली बरामद् गरेको थियो ।

काठमाडौं र बाहिर जिल्लाका अपराधीले प्रयोग गर्ने ३ चौथाई हतियार भारतबाट ल्याइन्छ । अमेरिका, इटली र भारतमा बनेका हतियार भारतीय सीमाबाट नेपाल भित्रिने गरेका छन्

यी घटना नयाँ वर्ष २०७६ लागेपछि घटेका र सञ्चारमाध्यमबाट प्रकाशित प्रसारित भएका प्रतिनिधिमुलक उदाहरण मात्र हुन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार, प्रहरीले चालु आर्थिक वर्षमा पेस्तोलमात्र ३६ थान बरामद् गरेको छ । यो वर्ष २ सय ६७ थान हतियार बरामद् भएको प्रवक्ता सुवेदीले बताए । जसमध्ये ७७ थान हतियार भने बेबारिसे हुन् ।

त्यसैगरी ४ सय ५५ थान गोली बरामद् भएको छ । यी घटनामा प्रहरीले १ सय १४ जना पक्राउ गर्‍यो भने १५७ वटा मुद्दा दायर गरेको छ । पछिल्लो ५ बर्षको तथ्याङ्क हेर्ने हो भने १ हजार ७१ वटा हतियार बरामद् भएका छन् भने १ हजार २ सय ७२ जना पक्राउ परेका छन् ।

४ वर्षमा बरामद भएको हतियारको विवरण

          आर्थिक वर्ष                                जम्मा हतियार                               पक्राउ संख्या (जना)

चालु आर्थिक बर्ष                            २६७                                                          २१४ 
२०७४/७५                                     २८४                                                           ३५३ 
२०७३/७४                                      २४२                                                           ३३२
२०७२/७३                                      २७८                                                           ३७३ 

जम्मा                                            १०७१                                                          १२७२ 
स्रोत : प्रहरी प्रधान कार्यालय

हतियार बोकेरै नेपाल आउँछन् विदेशी

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक बर्षमा मात्र १६ जना विदेशी नागरिक हतियारसहित पक्राउ परे । जसमध्ये प्रदेश नम्बर १ बाट ३ जना, प्रदेश नम्बर २ बाट ११ जना र प्रदेश नम्बर ५ बाट २ जना छन् । अघिल्लो आर्थिक वर्षमा पनि १९ जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ मा क्रमस: ७ र १२ जना विदेशी पक्राउ परे । प्रहरी प्रवक्ता सुवेदीका अनुसार, पक्राउ पर्ने विदेशीमा ९८ प्रतिशत भारतीय नागरिक छन् । पूर्वएआइजी देवेन्द्र सुवेदी भन्छन्–‘भारतसँगको खुला सिमानाका कारण नेपालमा नेपालमा भारतीयहरु हतियारसहित भित्रने गरेका छन् । उनिहरुले नेपालमा अपराध गरेर भारततर्फ भाग्न सजिलो हुने भएका कारण पनि प्राय: सिमा क्षेत्रमा हतियारका घटना बढी हुने गरेको छ ।’

साना हतियारले सर्वसाधारण आतंकित त भए नै आपराधिक गतिविधिमा संलग्नको पनि मनोबल बढेको छ । खुल्ला सिमानाका कारण भारतबाट सहजरुपमा भित्रिने साना हतियार देशभरि छयापछ्याप्ती बन्दै गएका छन् । गुण्डागर्दी, जबर्जस्ती रकम असुली, ठेक्कापट्टा तथा सामूहिक अपराधमा साना हतियारको प्रयोग बढेको प्रहरी तथ्याङ्क छ ।

कसले बोक्छ हतियार ? कोसँग के छ ?

अवैध हतियार पार्किङ्को ठेक्कापट्टा उठाउने सामान्य व्यक्तिदेखि ठूला राजनीतिक दलसँग आबद्ध व्यक्तिसँग समेत छ । विभिन्न पार्टीका भातृसंगठनका केही कार्यकर्ताहरुले समेत सानाहतियार बोक्ने गरेको बताइन्छ । अनुसन्धान अधिकारीका अनुसार भगौडा सेना, प्रहरी र माओवादीका अयोग्य लडाकुसँग पनि हतियार छ । क्यासिनोमा लगानी गर्ने लगानीकर्तासँग पनि हतियार छ ।

माओवादी द्वन्द्वकालमा संकलित हतियार ठेगान नलागेसम्म हतियारको बिगबिगी नरोकिने देखिएको छ

पार्टीगत रुपमा आफूलाई बलियो बनाउन र देखाउनसमेत राजनीतिक दलका कार्यकर्ताले हतियार बोक्ने गरेको प्रहरीको दावी छ । यी बाहेक रात्रिकालीन व्यवसाय गर्ने, दुर्व्यसनी आदिका हातमा पनि हतियार पुगेको छ ।

केहि समयअघि एक गैरसरकारी संस्थाले गरेको अध्ययन अनुसार साना हतियार डकैती गर्ने, ठूलो समूहमा चोरी गर्न जाने, क्लबका नाममा गुन्डागर्दी गर्ने, एकतर्फी टेन्डर लिन चाहने समूह, बालुवाका ठेकेदार, रात्रि व्यवसायीहरुसँग हुनेगर्छ । बाटो ढुकेर सिक्री र मोबाइल लुट्नेसँग पनि सस्तो र नक्कली पेस्तोल भेटिने गरेको छ। अहिले राजधानीमा १० हजारभन्दा बढि साना हतियार रहेको उच्च अनुसन्धान अधिकारीहरु बताउँछन् ।

कहाँबाट ल्याइन्छ हतियार ?

प्रहरीका अनुसार काठमाडौं र बाहिर जिल्लाका अपराधीले प्रयोग गर्ने ३ चौथाई हतियार भारतबाट ल्याइन्छ । अमेरिका, इटली र भारतमा बनेका हतियार भारतीय सीमाबाट नेपाल भित्रिने गरेका छन् । त्यसबाहेक कटुवा पेस्तोल नेपालमै पनि बन्ने प्रहरीको भनाई छ। भारतको बिहार, रक्सौल, सीतामढी, पटना र जोगबनीबाट वीरगन्ज, राजविराज र विराटनगर हुँदै हतियार नेपाल भित्रिने गरेका छन् । त्यस्तै लखनउ, चण्डीगढ, नापारा, रूपैडिया, नेपालगन्ज, बुटवल हुँदै हतियार आउँछन् ।

तस्करले सार्वजनिक सवारीका साधनबाटसमेत हतियार नेपाल भित्र्याउने गरेका छन् । प्रहरीले विभिन्न स्थानमा चेकजाँच गरेपनि हतियार सजिलै नेपाल भित्रिरहेका छन् । पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका घटनामा प्रयोग भएका हतियार नेपाली बजारमा सजिलै किन्न पाइने हातहतियारसम्बन्धी अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

भारतमा १० हजारमा पाइने पेस्तोल नेपालमा ३० हजार !

हतियारका कारोवारीहरु उपत्यकाका ३४ स्थानमा क्रियाशिल छन् । हतियार कारोवारीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भित्री शहरमा प्रहरी निगरानी बढेपछि हतियार कारोवारीहरु विस्तारै चक्रपथ बाहिर पनि सक्रिय देखिएका छन्

हतियारका विषयमा गरिएको एक अनुसन्धान अनुसार भारतमा सजिलै हतियार पाइने गरेको छ । त्यहाँका बजारमा पाइने हतियारको १० देखि ३० हजारसम्म रहेको अनुसन्धानमा खुलाइएको छ । भारतबाटै नेपालमा हतियार आउने भएकाले नेपालमा भने मूल्य बढी पर्ने गरेको छ ।

विभिन्न दलालमार्फत हतियार नेपालमा भित्रिएपछि १५ देखि ३० हजार रुपैयाँमा किनबेच हुने गरेको छ । नेपालमा ६ एमएमको पेस्तोल १५ हजारमा, ७ एमएमको २० हजारमा र ९ एमएमको ३० हजारमा पाइने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

रिभल्बर सिक्सर, नाइन एमएम पेस्तोल, सेभेन प्वाइन्ट सिक्स फाइभ पेस्तोल त्यहीं बन्ने गरेका छन् । त्यसबाहेक कटुवा पेस्तोल र भरुवा बन्दुकहरु नेपालमै पनि बन्ने गरेका छन् । प्रहरीका अनुसार सामान्य पढलेख भएका, आम्दानीको स्रोत केही नभएका तर महत्वाकांक्षी अनि संगठीत आपराधमा सक्रिय गिरोहहरु अवैध हतियारको कारोबारमा लाग्ने गर्छन् ।

यस्तो छ कानुन

हातहतियार तथा खरखजना ऐन, २०१९ तथा नियमावली २०२८ ले यस्ता हातहतियार आदान–प्रदान गर्ने कार्यलाई गैरकानुनी मानेको छ । तर पछिल्लो समयमा छ्यासछ्यास्ती देखिएको यस्ता हतियारको चलखेलले नियम कानुनको धज्जी उडाएको त छ नै, सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्न उठाएको छ ।

नियन्त्रणमा चुनौती

राजधानीमा बढेको साना हतियारको प्रयोग तत्काल नियन्त्रण हुन नसक्ने अनुसन्धानकर्ताहरुको दावी छ । माओवादी द्वन्द्वकालमा संकलित हतियार ठेगान नलागेसम्म हतियारको बिगबिगी नरोकिने देखिएको छ । द्वन्द्वकालमा हतियार लिएर भाग्नेहरुबाट नै अहिले हतियार बरामद् हुन थालेको तथ्यले पनि यो कुरालाई पुष्टि गरिरहेको छ ।

प्रहरीको तथ्यांक र बढ्दो अपराधको घटनालाई केलाउने हो भने पनि शहरमा साना हतियारको प्रयोग बढ्दो छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै साना हतियारका कारोवारी सक्रिय भएको विश्लेषकहरु बताउँछन् ।

हतियारका कारोवारीहरु उपत्यकाका ३४ स्थानमा बढी क्रियाशिल देखिएका छन् । हतियार कारोवारीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भित्री शहरमा प्रहरी निगरानी बढेपछि हतियार कारोवारीहरु विस्तारै चक्रपथ बाहिर पनि सक्रिय देखिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : ०० बजे

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम