क्लीन फिड विवादले सेवा प्रदायक र बिज्ञापन एजेन्सी ध्रुवीकृत | Khabarhub Khabarhub

क्लीन फिड विवादले सेवा प्रदायक र बिज्ञापन एजेन्सी ध्रुवीकृत


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरु बिज्ञापनरहित गराउने लगायतका उद्देश्य राखेर बिज्ञापन नियमन गर्न बनेको विधेयक संघीय संसदको राष्ट्रियसभामा पेश गरेसँगै त्यसमाथि बहश शुरु भएको छ ।

बिज्ञापन बोर्ड गठन गर्ने, विदेशी टेलिभिजन च्यानलहरु नेपालमा प्रसारण गर्नुपरे बिज्ञापनरहित हुनुपर्ने, विदेशी उद्योगले नेपालमा बिज्ञापन प्रसारण गर्नुपरे नेपाली कलाकार राखेर बेग्लै बिज्ञापन बनाउनुपर्ने लगायतका व्यवस्थासहितको विधेयक संसदमा विचाराधीन छ ।

क्लीन फिड कार्यान्वयन गरिए विदेशी च्यानल बन्द हुने

विधेयकलाई लिएर केवल टेलिभिजन महासंघले विधेयक जस्ताको तस्तै पारित गरिए व्यवसाय नै बन्द हुने भन्दै कार्यान्वयन गर्न नसक्ने बताइसकेको छ । फिड कार्यान्वयन गरिए व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने चेतावनी समेत दिइसकेका छन् ।

उनीहरुका अनुसार नेपालमा प्रसारण हुने ८५ प्रतिशत च्यानलहरु विदेशी रहेको र विदेशी च्यानलहरुको साझा संस्थाका रुपमा रहेको ‘इन्डियन ब्रोडकास्टर फोरम’ले नेपाललाई मात्रै क्लीन फिडसहितको च्यानल दिन नसक्ने जवाफ दिएको भन्दै क्लीन फिड कार्यान्वय गरिए विदेशी च्यानल नेपालमा प्रसारण बन्द हुने बताएको छ ।

केवल टेलिभिजन महासंघका कार्यकारी अधिकृत राधेश्याम लेकालीले क्लीन फिड कार्यान्वयनमा समस्या रहेको बताए । उनले भने,‘क्लीन फिड कार्यान्वय गर्न हाम्रो स्याटेलाइट छैन । भारतले जे प्रसारण गर्छ हामी समेत उनीहरुकै स्याटेलाइट प्रयोग गरेर विदेशी च्यानल प्रसारण गर्ने हो । भारतले दिने भनेको बिज्ञापनसहितको च्यानल हो । उनीहरुसँग हामीले कुरा समेत गरेका छौँ तर उनीहरुले क्लीन फिड दिन नसक्ने जानकारी दिएका छन् ।’

क्लीन फिड लागू भए व्यवसाय नै धरापमा पर्ने भन्दै उनले भने,‘जबर्जस्ती क्लीन फिड लागू गरिए तालाचावी सञ्चारमन्त्रीलाई बुझाउछौँ ।’

सरकारले नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लीन फिड लागू गर्ने व्यवस्थासहितको बिज्ञापन नियमन गर्न व्यवस्था गरेको विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । जुन विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा छलफलका क्रममा छ ।

नेपाली सहित विदेशी टेलिभिजन च्यानलहरु डाउनलिंक गरी नेपाली उपभोक्ताको घरघरमा पुर्‍याउने काम गरिरहेको केवल टेलिभिजन महासंघले व्यवसाय नै बन्द गर्ने चेतावनी दिएपनि नेपाल बिज्ञापन संघले भने कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

महासंघका अध्यक्ष रविन्द्रकुमार रिजाल (शशी) ले केवल टेलिभिजन महासंघले विदेशी च्यानल बन्द गरेर परीक्षण गरे पनि नेपाली जनताले स्वीकार गरेको भन्दै विधेयक पारित भएपछि नेपाली सञ्चारक्षेत्रमा ६ अर्बको बिज्ञापन बजार विस्तार हुने दाबी गरेका छन् ।

सरकार समेत विधेयक पारित गर्ने अडानमै छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा विहीबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जुनसुकै हालतमा पनि विधेयक पारित गरिछाड्ने बताए ।

क्लीन फिड लागू हुँदा बिज्ञापन घट्ने

नेपालमा रहेका बिज्ञापन एजेन्सीका कारण नेपाली सञ्चारमाध्यम प्रताडित बन्ने गरेको गुनासो समेत आइरहने गरेको छ ।

कूल बिज्ञापन बजार १३ अर्ब बराबरको रहेको भनिए पनि सरकारलाई झण्डै १ अर्ब ७० करोडभन्दा बढी कर तिर्नुपर्ने र वैधानिक रुपमै एजेन्सीहरुले १५ प्रतिशत रकम लिने भएका कारण अहिले देशभरी रहेका सयौँ सञ्चारमाध्यमले वार्षिक १० अर्ब रुपैयाँ बिज्ञापनबापत पाउने गरेका छन् ।

सञ्चारमाध्यम र तिनमा कार्यरत कर्मचारीको तलब व्यवस्थापन बिज्ञापनबापत आउने रकम भएका कारण समस्या पर्न सक्ने चिन्ता समेत शुरु भएको छ । नेपाली सञ्चारमाध्यममा ठूलो रकमको बिज्ञापन विदेशी उद्योगको रहेको र क्लीन फिड कार्यान्वयन गरिए ती बिज्ञापन समेत बन्द हुनसक्ने भएकाले नेपाली सञ्चारमाध्यमको समेत बिज्ञापन कम हुनसक्ने आंकलन गरिएको छ ।

बिज्ञापन कम भएका कारण सञ्चारमाध्यम नै समस्यामा परिरहेको अहिलेको अवस्थामा विदेशी उद्योगको बिज्ञापन कम हुने हो भने सबै नेपाली सञ्चारमाध्यम समस्यामा पर्ने समेत दाबी गरिएको छ ।

के छ विधेयकमा ?

सरकारले ल्याउन लागेको ‘बिज्ञापन नियमन व्यवस्थापन गर्न बनेको विधेयक’ कार्यान्वयनमा आएमा नेपालमा प्रसारण हुँदै आएका विदेशी टेलिभिजन च्यानलहरु बन्द हुने खतरा बढेको छ । बिज्ञापन नियमनको लागि प्रस्तावित कानूनहरु स्वीकृत भएको खण्डमा नेपालमा प्रसारण भइरहेका १ सय ५० भन्दा बढी विदेशी च्यानलहरु बन्द हुनेछन् ।

विधेयकमा प्रस्ताव गरेका व्यवस्थाअनुसार बिज्ञापनको निरीक्षण गर्नेगरी बिज्ञापन बोर्ड गठन गर्ने व्यवस्था गरेको छ । नयाँ नियम कार्यान्वयनमा आउँदा विदेशी सेटेलाइट टेलिभिजन च्यानलहरुले उक्त कानूनको अधिनमा रही बिज्ञापन प्रसारण गर्नुपर्ने व्यवस्था प्रस्तावित छ ।

नियमविपरित विदेशी च्यानल प्रसारण गरेमा ५ लाख आर्थिक जरिवानाका साथै विदेशी च्यानलहरुको डाउन लिंकिङ् परमिट पनि खारेज गरिने व्यवस्था छ ।

नयाँ नियमले विदेशी बिज्ञापन प्रसारणमा समेत रोक लगाउनेछ । स्थानीय प्रसारकहरुले समेत विदेशी कम्पनीका बिज्ञापनहरुको डब गरेर प्रसारण गर्न पाउने छैनन् । विदेशी प्रसारकहरु वा सञ्जालहरुबाट ईजाजतपत्र लिएर नेपालमा सेटेलाइट वितरकहरुले विदेशी टिभी च्यानलहरुका सिग्नल प्रसारण गरिरहेका छन् ।

यी सेटेलाइट वितरकहरु विदेशी प्रसारकहरु वा सञ्जालहरुबाट उपलब्ध गराइएका उपकरणहरुको प्रयोग गरेर सिग्नलहरुको डाउनलोड गरिरहेका छन् । बिज्ञापनरहित च्यानल प्रसारण गर्ने व्यवस्था अर्थात् क्लीन फिडमा नेपाली च्यानलहरुले कार्यक्रम प्रस्तुत गर्दा बिज्ञापनरहित वा प्रसारण गर्नुपरे स्थानीय विषयवस्तुहरु, पात्रहरु र नेपाली भाषालाई समावेश गरी विशेषतः नेपालको लागि भनेर निर्माण गर्नुपर्ने हुन्छ ।

नेपालका ३ करोड नागरिकको पहुँचमा टेलिभिजन छ । ४० प्रतिशत भन्दा कम उपभोक्ताले टेलिभिजन ग्राहक शुल्क तिर्ने तथ्याङ्कले देखाउँछ । सन् २०१६ को तथ्याङ्कअनुसार नेपालको टिभी बजारको अनुमानित भुक्तानी करिब ०.६ मिलियन अमेरिकन डलर अर्थात् ६० लाख रुपैयाँ थियो । टेलिभिजन कम्पनीहरुको मुनाफाको मापन गर्ने औसत राजस्वप्रति प्रयोगकर्ता अत्यन्तै कम करिब ३३४.१३ रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

क्लीन फिड लागू हुँदा अतिरिक्त रकम लाग्ने

विदेशी प्रसारकहरुले बिज्ञापनविना नै नेपालमा टेलिभिजन च्यानलहरु प्रसारण गर्ने प्रस्ताव राखिहालेमा पनि ती विदेशी कम्पनीहरुले टिभी च्यानलहरुको क्लीन फिड प्रसारण गर्न अतिरिक्त खर्च व्यहोर्नुपर्ने छ ।

प्रसारकहरुले कम्तीमा पनि करिब १ सय करोडको अलावा ३ सय करोड अतिरिक्त खर्च लाग्नेछ । हाई डेफिनेसन (एचडी) टेलिभिजन च्यानलहरुको क्लीन फिडमा प्रसारण गर्दा चलिरहेको खर्चको दोब्बर अर्थात् ६ सय करोड लाग्नेछ ।

विदेशी प्रसारकहरुले नेपालमा प्रसारण हुने च्यानलहरुको संख्या घटाई नेपालमा भएका स्याटेलाइट टिभी वितरकहरुले तिर्नुपर्ने शुल्कदर बढाएमा आफूलाई टिकाइरहन सक्ने विकल्प भने बाँकी छ ।

तर यसो गर्दा उपभोक्ता दोहरो मारमा पर्नेछन् । यसले एक त कम संख्यामा टेलिभिजन च्यानलहरु उपलब्ध हुने र अर्को कम टेलिभिजन च्यानलहरुका लागि दर्शकले बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।

विदेशी च्यानलहरु बन्द भएमा यसले नेपालको अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव पार्ने देखिन्छ । नयाँ व्यवस्था अनुसार नेपालमा विदेशी टेलिभिजन च्यानलहरुको क्लीन फिड प्रसारण गर्नुपर्ने र बिज्ञापन प्रसारण गर्नुपरे नेपालमै उत्पादन हुनुपर्ने लगायतका प्राबधानले विदेशी टेलिभिजन च्यानलले नेपालमा बिज्ञापन एजेन्सी खोली नेपाली बिज्ञापन समेत विदेशी च्यानलले प्रसारण गर्न सक्ने अवस्था आउने केही विश्लेषकहरु बताउँछन् । यसले नेपाली मिडियाको आयस्रोत गुम्ने खतरा रहेको समेत देखिन्छ ।

अर्काथरी विश्लेषकहरु नेपाली टेलिभिजनको स्तरोन्नति गरी विदेशी च्यानलप्रतिको मोह कम गर्न सकिने बताउँछन् । नेपाली च्यानलको स्तरवृद्धि गरे विदेशी च्यानलप्रतिको मोह स्वतः कम हुने उनीहरुको दाबी छ । तर, विदेशी च्यानल प्रसारण बन्द हुने स्थिति बन्यो भने नेपाल उत्तर कोरियाजस्तो बन्न सक्ने समेत केहीले दाबी गर्न थालेका छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ५३ बजे

‘दुर्भावनापूर्ण साइबर गतिविधि’बारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

तेहरान– इरानी सेनाका तर्फबाट ‘दुर्भावनापूर्ण साइबर गतिविधि’ गरेको अमेरिकी आरोपलाई

चुनावी भाषण गर्दागर्दै बेहोस भएर ढले भारतीय मन्त्री नितिन गडकरी

एजेन्सी- आसन्न लोकसभा चुनावको प्रचारका क्रममा भारतका एकजना केन्द्रीय मन्त्री

गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी

बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न

संरक्षणका पर्खाइमा शुक्लाफाँटाका ताल

महेन्द्रनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको घनत्व बढिरहँदा त्यहाँभित्र वन्यजन्तुलाई पानी