म्ह: पूजा कात्तिक शुक्ल प्रतिपदा अर्थात तिहारको चौथो दिन नेवारी समुदायले म्ह पूजा मनाउने चलन छ । मह पूजा भनेको नेवार समुदायले मनाउने विशेष पर्व हो ।
पूजाको अर्थ र महत्त्व
यस दिन परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ ।
समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा म्ह: पूजा विकास भएको पाइन्छ ।
किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
पूजाको विधि
प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ ।
म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ ।
नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो । आजको दिन आत्मतत्तवलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो ।
यो पूजा आफनो शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ। यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्री, लगायतका सामानहरुलाई समेत पूजा गर्ने प्रचलन रहेको छ । नेवार समुदायमा म्ह:पूजाको विधि ठाउँ अनुसार फरक फरक पाइन्छ। तर सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको छ ।
नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ?
म्ह फु अर्थात सञ्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन
म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा म्हपूजा मनाउने चलन रहेको छ ।
नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ ।
शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।
प्रतिक्रिया