तिहारको महत्व– मखमलीसँग उनिन्छ दिदीबहिनी र दाजुभाइको प्रेम ! « Khabarhub

तिहारको महत्व– मखमलीसँग उनिन्छ दिदीबहिनी र दाजुभाइको प्रेम !


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झिलीमिली बत्ति र साँस्कृतिक चाड तिहारको पाँचौ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई दिँदै छन् ।

तिहार ऐतिहासिक महत्वको पर्वका रुपमा चलिआएको छ ।

दिदीबहिनी र दाजुभाईबीचको सम्बन्ध थप प्रगाढ बनाइने पारिवारिक जीवनलाई थप उचाइमा पुर्‍याउने, देउसी भैलोमार्फत सांस्कृतिक महत्व दर्शाउने र गाई, गोरु, काग तथा कुकुर पूजामार्फत मानव र जीवजन्तुबीचको सम्बन्ध उजागर गर्ने तिहारको प्रमुख विशेषता हो ।

तिहारले पशु र मानवीय सम्बन्ध जीवन्त चित्रणसमेत गरेको संस्कृतविद्हरु बताउँछन् । घरमा धन भित्र्याउने उद्देश्यले धनकी देवी लक्ष्मीको पूजा गर्ने प्रचलन परापूर्वकालदेखि रहिआएको संस्कृतविद् डाक्टर छुन्ड बज्राचार्यको बताउँछिन् ।

नेवार समुदायले मनाउने भाइटीका

आम रुपमा दाजुबहिनी र दिदीभाइको मिलन गराउने पर्वका रुपमा तिहारलाई लिइए पनि नेवार समुदायमा दिदीले मात्र भाइलाई टीका लगाउने प्रचालन रहेको बज्राचार्य बताउँछिन् ।

‘हाम्रो सँस्कृतिमा बहिनीले दाइलाई टीका लगाउँदैनन्’ उनी भन्छिन्, ‘भाइटीका भनेकै दिदीले भाइलाई लगाउने टीका हो ।’

नेवारी समुदायमा बहिनीले दाइलाई सगुन मात्र दिने र दिदीले भने आफ्ना भाइलाई सप्तरंगी टीका लगाइदिने परम्परा रहेको बज्राचार्यको भनाई छ ।

दिदीभाई र दाजुबहिनीकोे मिलन

टाढा रहेका दाजुभाइ र दिदीबहिनीको भेट गराउने अवसर पनि हो तिहार । लामो समयदेखि टाढिएर बसेका दिदीभाइको मिलन गराउने भएकाले यसलाई भाइटीका भनिएको शताब्दी पुरुष सत्यमोहन जोशी बताउँछन् ।

तिहारले दिदीबहिनीको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई समेत प्रगढ बनाउने संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशीको भनाइ छ । तिहारको विशेष दिनका रुपमा लिइने ‘भाइटीका’ ले दाजुभाइ र दिदीबहिनी नभएकाहरुबीच समेत भावनात्मक नाता जोड्ने गर्दछ ।

यस्तो छ पौराणिक मान्यता

हिन्दू धर्मशास्त्रअनुसार ‘मृत्यु लोक’का राजा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गइ पाँच दिनसम्म बसेको अवसरमा यमपञ्चक मनाइने गरिन्छ ।

पाँच दिनसम्म यमुनाको घरमा बस्दा बहिनीको व्यवहारले खुसी भई इच्छाएको वर माग भन्दा यमुनाले ‘हरेक वर्ष आजकै दिन तपाईंलाई भेट्न पाउँ’ भनेको धार्मिक कथन । यमुनाले यमराजसँग वर माग्दा दाजु—बहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु कीर्ति सदैव वृद्धि होस् भन्ने आफ्नो इच्छा रहेको सुनाएको बताइन्छ ।

मखमली फूल– दाजुभाई र दिदीबहिनीको प्रेमको प्रतिबिम्ब

उज्यालो र फूलको चाडका रुपमा लिइने तिहारमा मखमली फूल एक अभियन्न अंग जस्तै बनेको छ । धेरै दिनसम्म पनि नओलाउने विशेषता भएको मखमली फूललाई दिदीबहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायुको प्रतीकका रुपमा लिएर टीकासँगै माला पनि लगाइदिन्छन् ।

‘दशैं तिहारको सुरुवातसँगै फुल्न थाल्ने मखमली फूलले दाजुभाइ तथा दिदीबहिनीको मायाको प्रतिबिम्वित गर्छ’ शताब्दी पुरुष जोशी भन्छन्, ‘मखमली फूल हत्तपत्त सुक्दैन पनि ।’

मखमली फूल नओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइने गरिएको जोशीको भनाइ छ । यसैले मखमली फूलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।

सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

पवित्र नाता जोड्ने रानीपोखरीको बालगोपालेश्वर

विनाशकारी भूकम्पका कारण भत्किएको काठमाडौंको रानीपोखरीको बीचमा रहेकोे बालगोपालेश्वर मन्दिर अहिले पुनःनिर्माणको चरणमा छ ।

हरेक वर्ष भाइटीकाको दिन खुल्ने यो मन्दिर दिदीबहिनी नभएका दाजुभाइहरुका लागि पवित्र नाता जोड्ने केन्द्र नै मानिन्छ ।

विगत ५ वर्षसम्म मन्दिर पुनर्निर्माण हुन नसकिएपछि जीर्ण मन्दिर रहेको स्थान वरपर पुगेर दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जम्मा भई पवित्र नाता कायम गर्दै टीका लगाएर हर्ष र खुसी साट्ने गर्छन् ।

सर्वसाधरणले भाइटीकामा दाजुभाई र दिदीबहिनी नभएको आभास नहोस् भनेर यस्तो परम्पराको सुरुवात गरिएको संस्कृतविद्हरु बताउँछन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १ : २१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा