सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू « Khabarhub

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि मंगलबारदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ ।

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ ।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताए ।

उनका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।

के छ सामा चकेवामा ?

सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् ।

छठको खरना वा पारणदेखि मैथिल ललना माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् ।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ ।

यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन् ।

कथा तत्व

मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ ।

स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा ( सामा) र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइ दिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।

चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग वस्न थाले । त्यसै क्रममा उनीहरूको वास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीवास गर्न धेरै प्रयत्न गरे तर अन्ततःआफ्नो तपस्या र पराक्रमले उनीहरू पुनःमानवरूपमा अवतरण भएको आख्यान रहेको छ ।

केही गीत

यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १२ : ३५ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना