कुलेखानीलाई कर्मथलो बनाएका सन्तबहादुरको दैनिकी « Khabarhub

कुलेखानीलाई कर्मथलो बनाएका सन्तबहादुरको दैनिकी



काठमाडौं–मंसिरको महिना शनिवारको दिन । चिसो मौसम प्रकृतिको साथमा रमाउन मकवानपुरको उत्तरी भेग मार्खु पुगेकाहरुको मुहार हँसिलो देखिन्थ्यो । डुंगा बोटिङ गर्नेहरुलाई भने भ्याइनभ्याइ थियो ।

बोटिङ गर्नका लागि टिकट लिन लामो लाइन नै थियो । टिकट पाएकाहरु खुसीले रमाइरहेका थिए । कोही भने हातमा टिकट लिदैं लाइफ ज्याकेट लगाउन तछाडमछाड गरिरहेका थिए ।

मानिसको भीडको तुलनामा डुंगाको संख्या केही कम नै थियो । तरपनि मानिसहरु लाइनमा बसेर पालो कुरीकुरी बोटिङ गरिरहेका थिए ।

लिखुरे शरीर । अनुहारमा मुजा परिसकेका छाला । फुलिसकेको जुंगा र अनुहारमा घाम छेक्न लगाएको क्याप । डुंगा लिएर किनारामा आइपुगे ५१ वर्षीय सन्तबहादुर कँवर क्षेत्री ।

‘दाइ हामी पनि डुंगा चढ्छौं नि’ हामीले भनिहाल्यौं ।

‘टिकट लिनु भएको छ’ उनले थपे ‘कति जना हुनुहुन्छ ?’

 

त्यहाँको माहोल र लाइन देख्दा निकै समय लाग्ने भएपछि हामीले हतारमा टिकट देखाउँदै डुंगा चढिहाल्यौं ।

ठूलो नदी । निलो पानी डुंगाबाट बाहिर हात निकाल्दै पानी छर्किदै एक अर्काको तस्वीर लिदैं डुंगामा रमाउनेहरुको कमी थिएन ।

डुंगामा करिब १५ मिनेट मात्र बोटिङ गर्न पाइने रहेछ । डुंगा चढेको ५ मिनेटपछि नदीको बीच भागमा पुग्यौं । माझीका रुपमा डुंगा चलाइरहे पनि उनी कुलेखानीका बारेमा थप जानकारी दिन चाहन्थे । उनको अनुहारमा त्यो प्रष्ट देखिन्थ्यो ।

डुंगाबाट वारीपारी गर्नेहरु पनि थिए । होटल र घर जान आवतजावत समेत गरिरहेको उनले बताए । जलशयको बीचको भागबाट केही माथि डाँडाको पालतो बस्ती देखिन्थो ।

‘मेरो घर त्यही माथिको डाँडामा हो’ पातलो बस्ती तिर हातले संकेत गर्दै सन्तबहादुरले भने, ‘हाम्रा पुर्खाचाहिँ काभ्रेबाट सरेर यहाँ आएका रे ।’

उनले घर देखाएसँगै अन्य कुरा बुझ्नका लागि झनै तयार भयौ । ‘आफ्नै गाउँघरमा बसेर खोलामा यसरी दिन बिताउन पाउँदा कस्तो लाग्छ दाई ?’ हामीले सोध्यौं ।

‘जन्मभूमिको काखमा रमाउँदै सफा स्वच्छ अनि कञ्चन पानीसँग रमाउन पाउँदा सन्तुष्टिको अनुभूति हुन्छ’ मुस्कुराउदै उनले भने ‘बिहान बेलुका भात, ढिडो र बारीमा उब्जाएका सागसब्जी खायो जन्मभूमिबाट बगेर आएको पानीमा दिनभरी खेल्यो ।’

उनको कुरामा निकै भावुकता थियो र जन्मभूमिप्रतिको माया पनि । कुराकानीका क्रममा सन्तबहादुरको अनुहार निकै हर्षित देखिन्थ्यो ।

बिहान घामको झुल्कोसँगै खोलाको किनारामा पुग्छन् उनी । दिनभरी माझी बनेर काम गर्छन् र साँझ घर फर्किन्छन् । ३५ वर्ष भइसक्यो उनले पानी सँग काम गर्न थालेको ।

कुलेखानीमा डुंगा सञ्चालनमा आएपछि आफुले रोजगारीको अवसर पाएको बताउँछन् उनी । ‘त्यसअघि म सिकर्मीको काम गर्थे’ खबरहबसँग कुरा गर्दै उनले भने ‘डुंगा सञ्चानमा आएपछि त बढो गज्जब भएको छ नि ।’

खेतबारीमा उब्जाएको अन्न खाँदै आफ्नै गाउँमा जीवन बिताउन पाउँदा निकै खुसी लाग्छ उनलाई । भन्छन्, ‘पैसा कमाउन नेपाली युवाहरु खाडी मुलुकमा गएर पसिना बगाइरहेका छन् तर म आफ्नै जन्मथलोमा दिन बिताइरहेको छु यो भन्दा खुसीको कुरा के हुन्छ र ?’

जन्म र कर्मभूमि एउटै

जन्मभूमिलाई माया गर्ने सन्तबहादुर वि.स. २०२५ सालमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा जन्मिए । सानैदेखि मेहनती र चलाख स्वभाव थिए उनी । १२ जनाको उनको परिवारमा उनी साइला छोरा हुन् ।

मकवानपुरकै एक सरकारी विद्यालयमा कक्षा ४ सम्म अध्ययन गरे उनले । ‘विद्यालय जानका लागि लामो समय हिड्नपथ्र्यो’ बाल्यकाललाई स्मरण गर्दै उनी भन्छन्, ‘आर्थिक अवस्था कमजोर भएकै कारण ४ कक्षामा पढ्दापढ्दै विद्यालय जानै छोडिदिए ।’

उनका बुबाले घरमै काठबाट झ्यालढोठा बनाउने काम गर्थे । त्यसकारण उनी पनि घरको काम गर्न थाले ।

बाल्यकालदेखि नै काम गर्न थालेका उनले जन्मथलो र कर्मथलो मकवानपुरको इन्द्रसरोवरलाई नै बनाए ।

त्यसो त सँगैका साथी पैसा कमाउनका लागि वैदेशिक रोजगारमा गएको देख्दा उनलाई पनि मन नलागेको भने होइन । ‘एकातिर परिवारको अवस्था कमजोर विदेश जान खर्च जुटाउ मुस्किल’ उनी भन्छन्, ‘फेरि गाउँमै काम भइराखेकै छ धेरथोर कमाएकै छु किन जानु र जस्तो लाग्थ्यो ।’

काठबाट डुंगा बनाएँ र खोलामा प्रवेश गरेँ ?

४८ वर्षअघिसम्म कुलेखानीमा न त नदी नै थियो न त पानी नै । ‘अहिलेजस्तो कहाँ थियो र’ उनले नदीको पानीलाई देखाउँदै भने ‘५ सय ५ घरधुरीको वस्ती थियो यहाँ ।’

उनकाअनुसार विस्तारै बस्ती हट्यो र वि.स. २०३६ सालबाट पानी जम्मा हुन थाल्यो । त्यसको केही वर्षमै नदीको रुपमा परिणत भयो । स्थानीयहरुले रोजगारीको अवसर पाए ।

‘शुरुमा यहाँ डुंगा चलाउनुपर्छ भन्ने कसैलाई थाहै थिएन’ खबरहबसँगको कुराकानीमा उनले भने ‘त्यो बेला डुंगाको बारेमा कसैले बुझेको पनि थिएन ।’
‘गाउँमै यसरी नदी बनिरहँदा डुंगा किन नचलाउने ? कतै यही पो आम्दानीको स्रोत हुन्छ कि’ सन्तबहादुरको मनमा कुरा खेल्न थाले ।

डुंगा चलाउने भनिरहँदा डुंगा कसरी र कहाँ गएर बनाउने भन्ने बारे उनलाई कुनै जानकारी थिएन । आफुले बुबासँगै काठको झ्यालढोका बनाउने गरेकाले काठबाटै घरमा बनाउँदा कस्तो होला भनेर परिवारसँग उनले सल्लाह गरे ।

त्यससँगै उनले आफैले डुंगा बनाउन प्रयास गरे र उनी सफल पनि भए ।

वि.स. २०४१ सालतिरको कुरा हो । इन्द्रसरोवर जलाशय मार्खुको काख अर्थात् कुलेखानीमा उनी डुंगा चलाउन थाले । ७ किलोमिटर लामो जलाशयमा शुरुका केही दिन त उनलाई डर पनि लाग्यो । असहज अनुभव भयो तर उनले काम गर्न छोडेनन् किनकी उनलाई माझी बनिनु थियो ।

५० हजारसम्म कमाइन्थ्यो उबेला !

त्यतिबेला सबैजनाले आफुखुसी डुंगा चलाएका थियौं । ०४१ सालबाट डुंगा चलाउन थालेका उनको विस्तारै राम्रो आम्दानी हुन थाल्यो ।

‘४÷५ वटा मात्र डुंगा थियो’ उनले भने ‘मानिसहरुले यसलाई राम्रोसँग बुझेका थिएनन् ।’

विस्तारै कुलेखानीका बारेमा चर्चा हुन थाले । विभिन्न जिल्लाबाट पिकनिक तथा घुम्नका लागि कुलेखानी आउनेको संख्यामा वृद्धि हुँदै गएको उनी सुनाउँछन् । ‘त्यससँगै हाम्रो कमाइ पनि मासिक रुपमा ५० हजारसम्म हुन थाल्यो’ उनले भने ‘घरमै बसेर त्यति आम्दानी हुँदा निकै गर्व लाग्थ्यो ।’

कुलेखानीलाई व्यवस्थित बनाउने र डुंगा थप्ने भनेर ७ वर्षअघि ‘डुंगा व्यवसायी संघको स्थापना भएको उनले बताए । संघले अहिले डुंगाको व्यवस्थापन गर्ने हुँदा उनको कमाइ ७ वर्ष यता घटेको छ ।

‘पहिले आफैले चलाउँदा ३० हजार कमाउँथे’ खबरहबसँगको कुराकानीमा उनले भने ‘अहिले संघले मासिक १८ हजार तलव दिन्छ ।’

‘मासिक तलवभन्दा बाहेक पनि डुंगा बोटिङ गर्न जानेहरुले एक दुइ सय रुपैयाँमा हातमा थमाइदिन्छन्’ खुसी हुँदै उनले भने ‘राम्रै छ यहाँको आम्दानीले परिवारलाई धानेकै छ ।’

फुर्सदको समयमा झ्यालढोका बनाउँछु

बिहान सबेरै उठेर खोलामा पुग्ने उनी बेलुका पनि साँझसम्म खोलामै हुन्छन् । तर अर्डर आएसम्म घरमा झ्यालढोकाको कामसमेत गरिरहेका हुन्छन् उनी ।

‘दुइ छोरीलाई काठमाडौंमा राखेर पढाएको छु, खर्च धेरै लाग्छ’ सन्तबहादुरले भने ‘समय निकालेर झ्यालढोका पनि बनाएन भने छोरीहरुलाई पढाउन गाह्रो हुन्छ ।’

सन्तबहादुरलाई विगतमा आर्थिक अवस्थाका कारण आफुले पढ्न नपाएकोमा निकै दुःख लाग्छ । फलस्वरुप उनी भ्याइनभ्याइ काम गरेर पनि आफ्ना छोरीहरुलाई राम्रो पढाउने सोचमा छन् ।

‘एउटी छोरी पत्रकारिता पढिरहेकी छे’ मुस्कुराउँदै उनले भने ‘नानीहरुजस्तै पत्रकार बन्छु भन्छे ।’ ‘अर्की चाहिँ म्यानेजमेन्ट पढिरहेकी छे’ उनले थपे ‘बैंकमा जागिर खान्छु भन्छे ।’

एक्लो ज्यानले परिवारलाई धान्न सकेकोमा गर्व गर्दै उनी भन्छन्, ‘आत्मनिर्भर हुन अरु केही चाहिँदैन स्थानीय स्रोतलाई परिचालन गर्न सके पुग्छ ।’

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : ३९ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको