सारङ्गीको धुनमा गाउँगाउँमा गन्धर्व « Khabarhub

सारङ्गीको धुनमा गाउँगाउँमा गन्धर्व


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेझाड-जीवनको अधिकांश समय रामबहादुर गन्धर्वले सारङ्गीको धुन रेटेरै बिताए । अहिले उनी उमेरले ६७ वर्ष पुगे तर उनलाई सारङ्गी रेट्ने कामदेखि टाढा रहन मन छैन ।

लामो समयदेखि सारङ्गी रेटेरै रामबहादुरले आफ्नो गुजारा चलाउँदै आएका छन । गाउँबस्तीमा पुगेर सारङ्गी रेट्दै गीत गाउँदै गर्दा उनलाई साँझ बिहान बितेको पत्तै हुँदैन । बाउबाजेबाट घरमा सानै उमेरदेखि नै सारङ्गी रेट्ने सीप सिकेको रामबहादुरले १५ वर्षको उमेरदेखि नै पेशागत हिसाबले सारङ्गी रेट्दै गीत गाउँदै गाउँबस्तीमा जान थाले । अहिले उमेर ढल्कदै गए पनि उनको सारङ्गी रेटाइ र गीत सुन्दा जवानी अवस्थाको जस्तै अनुभूत हुन्छ । उमेर ढल्कँदैछ तैपनि उनलाई सारङ्गी रेट्न र मायाप्रेम, ख्यालठट्टाका गीत गाउनमा उत्तिकै जोशजाँगर बढेर आउँछ ।

‘सारङ्गी रेटेर धुन बजाउन थालेपछि बल्ल २०/२५ वर्षको ठिटो छु जस्तो हुन्छ, सारङ्गीको घुन निकालेपछि झन् जोशजाँगर बढेर आउँछ, उमेर गन्दा सात दशकको नजिकै पुगिएछ, तर अझै पनि जवानीमै छु जस्तो हुन्छ बेलाबेलामा’ उनले भने । पाल्पाको तानसेन लामीडाँडा बस्ने उनले यो उमेरसम्म पनि विभिन्न गाउँबस्तीमा पुगेर सारङ्गी बजाएर गीत गाउँछन् । उनको गीत मन नपराउने सायदै कमै होलान् ।

‘परेवा र परेवीको फिल्मी कथा सुन्छु, कपालमा हात लगाई धुरुधुरु रुन्छु’ ‘रुन्छु रुन्छु मै पागल हुन्छु, रुनी मनलाई बुझाउनी गाल बुन्छु ।’ उनका यस्ता कर्णप्रिय गीतले बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै उमेर समूहका व्यक्तिको मन छुन्छ ।

गीत गाएर दिनमा एक हजारदेखि तीन हजारसम्म रकम सङ्कलन गर्दै आइरहेको उनले बताए । आफ्नो खर्चबाहेक बचेको केही रकम घरमा समेत पठाउने गर्छन् । गीत गाउँदै हिँड्ने सिलसिलामा पाल्पाको रामपुरमा आएका रामबहादुरले समाजबाट लोप हुँदै गएको गन्धर्व जातिको पुरानो मौलिक संस्कृतिलाई धान्नका लागि गाउँगाउँमा पुग्ने गरेको बताए।

एकातिर संस्कृति संरक्षण अर्कोतिर जीवन पनि सजिलैसँग रमाइलो गरी चलिरहेको उनको भनाइ थियो । ‘गाउँमा पसेपछि सबैले गन्धर्व दाइ भनेर खुशीसँग स्वागत गर्छन्, सकेको रकम पनि दिइरहेका छन्, सबैको माया पाएको छु’, उनले भने।

कहिले पूर्व कहिले पश्चिम क्षेत्रमा पुगेर सारङ्गी रेट्ने रामबहादुर हिजोआज भने उमेर ढल्कँदै जाँदा पाल्पा र नजिकका केही जिल्लामा मात्र पोखिन्छन्। अचेल सारङ्गी रेटेर गाउँगाउँमा गीत गाउँदै हिँड्ने चलन घट्दो छ । आजसम्म केही पाकापुस्ताले संस्कृतिलाई जेनतेनले धान्दै आए पनि संरक्षणमा आजका गन्धर्व समुदायका युवापुस्ताले भने चासो दिएको पाइँदैन ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  १० : २७ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६