फस्टाउँदै जुजु धौ व्यवसाय, यसरी गरिन्छ तयार « Khabarhub

फस्टाउँदै जुजु धौ व्यवसाय, यसरी गरिन्छ तयार


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– माग बढेसँगै भक्तपुरको जुजु धौ व्यवसाय फस्टाएको छ । मल्लकालदेखि दहीको राजा उपमाले परिचित भक्तपुरको मौलिक उत्पादन जुजु धौको स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय पार्टी भोजलगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ । दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौको मागसमेत दिनानुदिन बढ्दो छ र व्यापार पनि फस्टाएको छ ।

भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् । जुजु धौको माग बढेपछि नगरका टोलटोलमा जुजु धौ पसल खोलिएका छन् । जुजु धौ उत्पादनका हिसाबले मात्र होइन, यसको बिक्रीवितरणका हिसाबले पनि यो व्यवसाय दिनदिनै फस्टाएको भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्णगोपाल सैंजुले बताए ।

“ठूला विवाह ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीले समेत अचेल जुजु धौ प्रयोग गर्दछन्”, सैंजुले भने, “यसले पनि जुजु धौको माग बढेको हो ।” एकपटक यसको स्वाद चाखेपछि यसैमा मन बस्ने भएकाले पनि काठमाडौँ उपत्यकामा मात्र नभई काभ्रेको बनेपा, पनौती र धुलिखेलसम्म जुजु धौको माग बढेको सैंजुले बताए । उनले भने, “भक्तपुरका जुजु धौ व्यवसायीलाई काठमाडौँ र काभ्रेका पसलमा जुजु धौ पुर्‍याउन भ्याइनभ्याइ नै हुन्छ । झन् विवाहको ‘सिजन’मा त माग धान्नै धौधौ हुने गर्दछ ।”

जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्राटुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटारोको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूधको आवश्यक पर्ने सैंजुले बताए । उनका अनुसार डेरीको दहीमा दूधको सबै ‘फ्याट’ निकालेर पाउडर मिसाई वाफले मात्र तताएर दही उत्पादन गरिन्छ, तर जुजु धौ त्यस्तो हुँदैन । “जुजु धौ तयार गर्न अन्य दूधको तुलनामा चिल्लोपना बढी भएको दूध चाहिन्छ”, उनले भने“जुजु धौ बनाउन कम्तीमा पाँच प्रतिशत फ्याट भएको दूध चाहिन्छ ।”

जुजु धौ बनाउन दूधलाई बाक्लो हुनेगरी राम्रोसँग चलाउँदै कराइमा उमाल्नुपर्दछ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दूध राख्नुपर्दछ । उक्त दूध सेलाएपछि बाँकी आधा दूधसँगै दहीको बीउ दही (जोर्डन) राख्नुपर्दछ र न्यानो हुनेगरी छोपेर राख्नुपर्दछ । यसरी छोपेर राखेको पाँच घण्टामा जुजु धौ तयार हुन्छ ।

जुजु धौ व्यवसायी माग धान्न मुस्किल भएपनि यसको परम्परागत स्वाद, मौलिकता र गुणस्तर जोगाउन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको बताउँछन् । जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात् कटारा हो । तर काँठक्षेत्रमा गाई–भैँसीपालन व्यवसाय हराउँदै जानु र कुमालेले पनि माटोको कटारो बनाउन छाड्नु तथा बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले जुजु धौको मौलिकता सङ्कटमा पर्न थालेको व्यवसायी बताउँछन् । आधुनिक प्रविधिको नाममा दहीलाई ‘फ्रिज’मा राखेर जमाउने गर्नाले पनि यसको मौलिकतामा ह्रास आउन थालेको सैंजुले बताए ।

डेरीहरुले जुजु धौको लागि दूध सङ्कलनमा समेत समस्या आएको उनको भनाइ छ । “डेरीलाई कम फ्याट भए पनि हुन्छ तर जुजु धौका लागि बढी फ्याट भएको दूध चाहिने भएकाले किसानले पनि दूधमा पानी मिसाएर हामीलाई भन्दा डेरीलाई दूध बिक्री गर्न रुचाउँछन्”, उनले भने “यसले गर्दा हामीले बाहिरी जिल्लाबाट महँगो मूल्यमा दूध सङ्कलन गर्नुपर्छ । काँठक्षेत्रबाट आउने दूध सबै डेरीले उठाएपछि हामीजस्ता व्यवसायीले समस्या बेहोर्नुपरेको हो । अहिले हामीले उच्च गुणस्तरको दूधका लागि चितवन, काभ्रेको पाँचखाल, इलाम, बुटवलबाट दूध ल्याउने गरेका छौँ ।”

भक्तपुरको जुजु धौ दही मात्र होइन, भक्तपुरको पहिचान पनि बनिसकेको छ । जुजु धौ महिमा नेपालमा मात्र होइन, विदेशमा समेत परिचित छ । त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद नचाखी नजाने गरेको भक्तपुर दरबार स्क्वायरस्थित हाडापाउँ तथा आइसक्रिम भण्डारका दिनेशबाबु हाडा बताउँछन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : ५३ बजे

२५ युवाको व्यावसायिक अग्र्यानिक कृषि फार्म

सिन्धुपाल्चोक– पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ

नवदुर्गामा शक्तिपिठमा भक्तजनको घुँइचो फोटो फिचर

काठमाडौँ– नवदुर्गामा शनिबार काठमाडौंको भद्रकालीस्थित मन्दिरमा भक्तजन । 

खसी बोकाको माग घट्दै

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका मानबहादुर मगरसहितका किसानलाई चाडपर्वको समयमा पनि

नारायणी किनारमा तीन मन्त्रालयका छुट्टाछुट्टै योजना

चितवन– नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम

‘प्रत्यक्षमा समस्या भए समानुपातिकबाट सहमति खोजिन्छ’

करिब दुई महिनादेखि छलफल गरे पनि अझैसम्म सत्ता गठबन्धन भित्र