१ लाख तिरेर चीन गएका नेपाली कामदारको तलब ५ हजार ! « Khabarhub

१ लाख तिरेर चीन गएका नेपाली कामदारको तलब ५ हजार !


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि दुई महिनाअघि ४४ जना नेपाली महिला चीन पुगेका थिए । नेपालका म्यानपावरमार्फत ती महिला रोजगारीका लागि चीन पुगेका हुन् ।

चीनको ल्याओनिङ प्रान्तमा रहेको चेतनाथजी, गार्मेन्ट फ्याक्ट्रीमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएर गौशालास्थित कम्पास रिक्र्युटमेन्ट प्रालिले ४४ जना महिला चीन पठाएको थियो । म्यानपावरले ५ सय डलरमा करार सम्झौता गरी चीन पुर्‍याएका महिला कामदार डेढ महिना मै स्वदेश फर्किएका छन् ।

सम्झौता अनुसारको सेवा सुविधा नपाएपछि पीडित बनेका महिलाहरु न्याय माग्दै वैदेशिक रोजगार विभाग पुगेका छन् । म्यानपावर सञ्चालक राम कार्कीले मासिक ५ सय डलर कमाइ हुन्छ भनेर चीन रोजगारीमा पठाएपनि भनेजस्तो नभएको वैदेशिक रोजगार विभागमा पुगेकी ताप्लेजुङकी सुनिता लिम्बूले बताइन् ।

‘नेपालमा म्यानपावरले बस्ने ठाउँ दिने, खान दिने टेलिफोन सुविधाहरू दिने, हप्ताको ५ दिन मात्रै काम लगाउने । दिनको आठ घण्टाभन्दा बढी काम नगर्ने भनेको थियो,’ उनले भनिन्, ‘चीन पुगेपछि नेपालमा सम्झौता भए जस्तो काम पनि पाइन । नेपालमा प्याकिङको काम भनेको थियो । चीन पुगेपछि आफुले नजाने काम पर्‍यो सिलाइ बुनाइ सम्बन्धी। जुन काम गर्न निक्कै कठिन भयो ।’

गौशालास्थित कम्पास रिक्र्युटमेन्ट म्यानपावरले कपडा प्याकिङ गर्ने कामका साथै आकर्षक तलब पाइने भनेर पठाएको नुवाकोटकी चिनीमायाँ तामाङले बताइन ।

‘म्यानपावरले एक वर्षको अनुभव पत्रसमेत बनाएर पठाएको रहेछ’,चिनीमायाँले भनिन, ‘यहाँ आइसकेपछि महिनाको जम्मा पाँच हजार रुपैयाँ दिइयो । पछि काठमाडौंमा म्यानपावर कम्पनीलाई गुनासो गरेपछि चिनियाँ कम्पनीको प्रतिनिधि रातको १२ बजे आएर तलब बढाइदिएको आश्वासन दियो । तर तलब भने बढेन ।’

विभिन्न प्रलोभनमा चीन पठाइएका नेपाली चेलीले काम नै गर्न नसकेको पीडितमध्ये एक महिला ताप्लेजुङकी संगीताको भनाई छ । त्यसपछि कम्पनीले काम लगाउन अप्ठयारो मानेको उनले बताइन । वैदेशिक रोजगार विभागमा भेटिएका पीडित महिलाहरुले चीन पुगेपछि मात्र कम्पनीले १ सय ५० डलर मासिक तलब हुने जानकारी गराएको उनीहरुको भनाइ छ । सम्झौता अनुसार काम र पैसा दुवै नभएपछि म्यानपावर सञ्चालकलाई पटक पटक गरिएको आग्रहमा कार्कीले वेवास्था गरेको उनीहरुको गुनासो छ।

म्यानपावरले समस्या समाधानका लागि कुनै पहल नगरेपछि पीडित महिलाहरुले दूतावासको सहयोग लिएका थिए । चीनस्थित नेपाली दूतावासले घटनाक्रमसँगै महिलाहरुको अवस्था बुझेपछि गत सोमबार नेपाल आउने वातावरण मिलाएको थियो ।

४४ महिला रोजगारीमा पठाउने कम्पास रिक्र्युटमेन्ट म्यानपावर सञ्चालक भने सम्र्पकमा नआएको पीडित महिलाहरुले बताएका छन् । उनीहरु हाल विभागमा म्यानपावर कम्पनीका नाममा उजुरी दिएका छन् । विभागले आफूहरुलाई न्याय गर्ने भन्नेमा उनीहरु ढुक्क छन। घटनाका बारेमा अनुसन्धान गरेर म्यानपावर कम्पनीमाथि कारवाही हुने विभागका निर्देशक हरी ज्ञवालीले बताए । म्यानपावर कम्पनीले कसरी चीन पठायो र किन सम्झौता अनुसारको काम गर्न सकेन भन्ने विषयमा दुवै पक्षसँग छलफल गरिने ज्ञवालीले बताए ।

झापा, मोरङ, धरान, धनकुटा, सर्लाही, सिन्धुपाल्चोक र काठमाडौंका १९ देखि ३५ वर्षसम्मका महिला रोजगारीका लागि चीन गएर फर्किएका हुन् ।

चिनियाँ कम्पनीमा काम गर्दै गरेका नेपाली महिला

प्रतिव्यक्ति ८० हजारदेखि १ लाख

म्यानपावर कम्पनीले प्रतिव्यक्ति ८० हजारदेखि १ लाखसम्म लिएर चीन रोजगारीमा पठाएको पीडित महिलाहरुले जानकारी दिएका छन् । विभागमा भेटिएका सवै चीनबाट फर्किएका महिलाले म्यानपावरलाई ८० हजारभन्दा धेरै बुझाएको बताएका छन् । कतिपयले म्यानपावरमा १ लाख बुझाएको पनि बताएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा महिला विदेशमा पुर्‍याएर अलपत्र पार्ने क्रम बढ्दै गएको छ । यसरी विदेश पुर्‍याएका महिला कामदारसँग म्यानपावर तथा एजेन्टले धेरै रकम लिने गरेका छन् ।

एजेन्टबाटै म्यानपावरसँग सम्पर्क

रोजगारीका लागि चीन पुगेर फर्किएका अधिकांश महिला एजेन्टकै सम्पर्कमा म्यानपावरसम्म पुगेको पाइएको छ ।

४४ जना महिला एजेन्ट हुँदै म्यानपावर कम्पनीमा पैसा बुझाएको जानकारी दिएका छन् । ताप्लेजुङकी सविता लिम्बू झापाका एजेन्ट दिपक लिम्बूमार्फत म्यानपावरसँग जोडिएको बताउँछिन् ।

लिम्बूले एजेन्ट दिपकलाई नै पैसा तिरेको बताउँछिन् । यस्तै पोखराकी दुर्गा पौडेल पनि एजेन्टमार्फत नै म्यानपावरसम्म आइपुगेकी हुन् । उनले पैसा पनि एजेन्टलाई बुझाएको बताइन ।

विभागले गत आर्थिक वर्षमा नै म्यानपावरका एजेन्ट खारेज गरेपनि उनीहरुले काम गरिरहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १ : ५० बजे

२०० करोड मनी लन्ड्रिङ केसमा ट्विस्ट : ज्याकलिन फर्नान्डेजले सरकारी साक्षी बन्ने कदम फिर्ता लिइन्

काठमाडौं – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि २०० करोड भारतीय रुपैयाँ

सीआईबीद्वारा एनसेल मुख्यालयबाट महत्वपूर्ण दस्तावेज नियन्त्रणमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एनसेलको मुख्यालयबाट महत्वपूर्ण

कोशी मन्त्रिपरिषद् बैठक : जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

विराटनगर– कोशी प्रदेशसभाको नवौँ तथा बजेट अधिवेशन आगामी जेठ ६

सरकारको जवाफ प्रधानमन्त्रीबाटै माग्ने प्रतिपक्षीको तयारी

काठमाडौं- प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति

नेप्से परिसूचक १० अंकले घट्यो

काठमाडौं–  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव