संसारकै सबैभन्दा सानो देश भ्याटिकन सिटीबारे तपाईंलाई थाहा नभएका १३ रोचक तथ्य | Khabarhub Khabarhub

संसारकै सबैभन्दा सानो देश भ्याटिकन सिटीबारे तपाईंलाई थाहा नभएका १३ रोचक तथ्य


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भ्याटिकन सिटी संसारको सबैभन्दा सानो मुलुक हो । क्याथोलिक इसाई धर्मावलम्बीका लागि पवित्र यो मुलुक केबल ०.४४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

करिब ७ सय नागरिक रहेको यो मुलुक जनसङ्ख्याको आधारमा पनि विश्वको सबैभन्दा सानो मुलुक हो । भ्याटिकन सिटीबारे यस्ता धेरै रोचक तथ्य छन् । जुन सबैलाई थाहा नहुन सक्छ । भ्याटिकन सिटीका त्यस्ता १३ रोचक तथ्य यहाँ प्रस्तुत गरिएको छ ।

१) स्थापना

क्याथोलिक इसाई धर्मको सबैभन्दा पवित्र मुलुक भ्याटिकन सिटी धेरै नै पुरानो होला भन्ने लाग्छ । तर, त्यसो होइन । भ्याटिकन सिटीको स्थापना भएको १ सय वर्ष पनि भएको छैन । भ्याटिकन सिटीको औपचारिक स्थापना सन् १९२९ मा भएको हो ।

तत्कालिन इटालियन नरेश भिक्टर इम्मानुएल तृतीयका तर्फबाट इटालीका फासीवादी शासक बेनिटो मुसोलिनीले क्याथोलिक इसाईहरुको सार्वभौम राज्य होली सीका विदेशमन्त्री कार्डिनल पिएट्रो जेस्पारीले सन्धी गरी भ्याटिकन सिटीको स्थापना गरेका हुन् । त्यसअघिसम्म होली सीका रुपमा क्याथोलिक इसाईको राज्य रहेपनि उक्त राज्य सञ्चालनका लागि भूभाग भने थिएन । सन् १९२९ मा भएको सन्धीपछि भने उक्त राज्य सञ्चालनका लागि इसाईहरुले बेग्लै भूभाग पाएका हुन् ।

२) स्थान

भ्याटिक सिटी इटालीको राजधानी रोममा अवस्थित छ । केबल ०.४४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको भ्याटिकन सिटी यति सानो छ कि नेपालको त्रिभुवन विश्वविद्यालय क्षेत्रमा यस्ता साढे तीन वटा भ्याटिकन सिटी अटाउन सक्छन् ।

रोम र भ्याटिकन सिटीबीच दुई माइल लामो सीमा छ । यहाँ सेन्ट पिटरको विशाल दरबार छ । यो मुलुकको ठूलो हिस्सा यही सेन्ट पिटरको दरबारले ओगटेको छ । भ्याटिकन प्रवेश गर्न कुनै भिसा चाहिँदैन । रोममा रहेका मानिसहरु सहजै भ्याटिकन प्रवेश गर्नसक्छन् । यद्यपि भ्याटिकनका विशेष क्षेत्रको भ्रमणका लागि भने केही दस्तुर लाग्ने गरेको छ ।

३) राज्य

यो मुलुकका शासकका रुपमा क्याथोलिक धर्मगुरु पोप रहने व्यवस्था छ । यहाँको राज्यसञ्चालन पनि पोपको मातहतमा रहेका क्याथोलिक धर्मगुरुले नै गर्दै आएका छन् । यहाँ आफ्नै किसिमको राज्यव्यवस्था छ । यहाँ बिल्कुलै फरक न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छ ।

तटस्थ मुलुकको रुपमा रहेको भ्याटिकन र इटालीको रक्षा सन्धी नभएपनि यहाँको रक्षाको जिम्मेवारी भने इटालीलाई छ । भ्याटिकन सिटीले संयुक्त राष्ट्रसंघको पूर्ण सदस्यता समेत लिएको छैन । यद्यपि भ्याटिकन सिटीलाई संयुक्त राष्ट्रसंघले मतदान दिनबाहेक सदस्य राष्ट्रको पर्यवेक्षक मुलुकको रुपमा मान्यता दिएको छ ।

४) स्विस गार्ड

भ्याटिकन सिटीको आफ्नै सेना छ । सङ्ख्यामा निकै सानो स्विस गार्डको मुख्य जिम्मेवारी चाहिँ पोपको रक्षा गर्ने हो । स्विस गार्डले स्विट्जरल्याण्डको सेनासँग मिलेर तालिम गर्ने गरेको छ । जम्मा १३५ जनाको यो टुकडी सन् १५०६ देखि निरन्तर सेवारत छ । यसअनुसार स्विस गार्ड विश्वको सबैभन्दा पुरानो निरन्तर सेवारत सैनिक दस्ता हो ।

५) भाषा

भ्याटिकन सिटीमा दुई भाषा प्रचलनमा छन् । पहिलो क्याथोलिक इसाईहरुको पवित्र भाषा ल्याटिन र दोश्रो इटालियन । यहाँ बोलिचालीमा प्रायः इटालियन भाषा प्रयोग हुन्छ । तर क्याथोलिक धर्मको धार्मिक समारोहमा भने ल्याटिन भाषाको प्रयोग गरिन्छ ।

६) रेडियो

भ्याटिकनको राज्यसञ्चालित रेडियोले विभिन्न दर्जनौं भाषामा सेवा दिने गरेको छ । ३५५ जना कार्यरत भ्याटिकन रेडियोले फ्रिक्वेन्सीमा आधारित रेडियोबाट ४५ भाषा तथा इन्टरनेटमा आधारित रेडियोले ३८ भाषामा सेवा दिने गरेका छन् ।

यो रेडियोले विभिन्न भाषामा दैनिक ६६ घण्टाको कार्यक्रम उत्पादन गर्ने गरेको छ । सबैभन्दा रोचक कुरा त के छ भने भ्याटिकन रेडियोको स्थापना रेडियोको आविष्कार गर्ने वैज्ञानिक गुग्लिल्मो मार्कोनीले गरेका हुन् ।

७) अस्पताल

भ्याटिकन सिटीमा कुनै किसिमको अस्पताल छैन । भ्याटिकन सिटीका बासिन्दा रोमका अस्पतालहरुमा निर्भर छन् । सोही कारण यहाँ कसैको जन्म हुने सम्भावना न्यून छ । अस्पताल नभएका कारण यहाँ बच्चा जन्मिने सम्भावना नरहेकाले यो मुलुकमा जन्मका आधारमा नागरिकता दिइन्न ।

८) नागरिकता

भ्याटिकन सिटीमा जन्मका आधारमा नागरिकता दिइन्न । होली सीलाई दिइएको सेवाका आधारमा मात्र यहाँ नागरिकता उपलब्ध गराइन्छ । यदी कसैले भ्याटिकन सिटी वा होली सीलाई सेवा गरिरहेको छ भने उ भ्याटिकन सिटीको नागरिकताका लागि योग्य हुन्छ । त्यस्तै, भ्याटिकन सिटीले आफ्ना राहदानी पनि जारी गर्ने गरेको छ ।

भ्याटिकन सिटीमा बसोबास गर्ने १ हजारभन्दा धेरै मध्ये धेरै सानो सङ्ख्याले मात्र भ्याटिकन सिटीको नागरिकता प्राप्त गरेका छन् । भ्याटिकन सिटीका नागरिकहरु भ्याटिकन सिटीको सानो क्षेत्रमा मात्र बसोबास गर्न सम्भव नरहेकाले यहाँका धेरै बासिन्दाहरु रोमका विभिन्न क्षेत्रमा बस्दै आएका छन् ।

त्यस्तै, सन् १९२९ मा भएको सन्धीअनुसार भ्याटिकन सिटीको नागरिकता गुमाउने व्यक्ति स्वतः इटालीको नागरिक बन्न योग्य हुन्छ । यहाँ बसोबास गर्ने सबै बासिन्दा क्याथोलिक इसाई धर्मावलम्बी छन् ।

९) अर्थतन्त्र

भ्याटिकन सिटीमा आफ्नै किसिमको अर्थतन्त्र छ । भ्याटिकन सिटीले त्यस क्षेत्रमा घुम्न आउने पर्यटकबाट उठाउने दस्तुर, भ्याटिकन सिटीको उपहारहरु, हुलाक टिकट र अन्य कुराको विक्रीबाट आयआर्जन गर्ने गरेको छ । त्यसबाहेक भ्याटिकन बैंक नाम गरेको भ्याटिकन सिटीको बैंकले आफ्नै शैलीको युरो मुद्रा जारी गर्ने गरेको छ ।

भ्याटिकन सिटीमा एटीएम मेसिन पनि उपलब्ध छ । यहाँको एटीएम मेसिनमा ल्याटिन भाषामा सेवा उपलब्ध छ । यसअनुसार ल्याटिन भाषामा एटिएम सेवा उपलब्ध गराउने भ्याटिकन सिटी एकमात्र मुलुक हो । त्यस्तै, इटालीका नागरिकले राज्यलाई तिर्नुपर्ने कर नतिरी भ्याटिकन सिटीलाई आफ्नो ८ प्रतिशत कर तिर्न सक्ने प्रावधान छ ।

यसबाट पनि भ्याटिकन सिटीको अर्थव्यवस्था चल्ने गरेको छ । यहाँ कुनै पनि उत्पादनमूलक उद्योग नभएकाले यहाँ अरु मुलुकजस्तो कुल ग्राहस्थ उत्पादन अर्थात् जीडीपी गणना गरिन्न ।

१०) रेल

भ्याटिकन सिटी सबैभन्दा सानो रेल सञ्जाल भएको मुलुक हो । यहाँको दुई रेल सञ्जाल केबल ३ सय मिटर लामो छ ।

११) दरबार

भ्याटिकन सिटीमा रहेको सेन्ट पिटरको दरबार विश्वको दोश्रो सबैभन्दा ठूलो क्याथोलिक गिर्जाघर हो । विश्वको सबैभन्दा ठूलो गिर्जाघर चाहिँ अफ्रिकी मुलुक आइभोरी कोष्टमा अवस्थित छ ।

आइभोरी कोष्टको राजधानी यमउसोउक्रोमा रहेको ‘आवर लेडी अफ पिस’ गिर्जाघर विश्वको सबैभन्दा ठूलो हो । भ्याटिकन सिटीको गिर्जाघरमा बहुमूल्य कलाकृति कुँदिएको छ । सोहीकारण हरेक वर्ष यहाँ ५५ लाख भन्दा धेरै पर्यटक आउने गरेका छन् ।

१२) अपराध

भ्याटिकन सिटी विश्वमा सबैभन्दा धेरै अपराध हुने मुलुकमा पर्छ । जनसङ्ख्या निकै नै थोरै रहेकाले तुलनात्मक रुपमा अन्य मुलुकभन्दा यहाँ धेरै नै अपराध हुने गरेको छ । यहाँ एकमात्र न्यायाधीश रहेकाले यहाँ हुने अपराधको कानूनी प्रक्रिया भने इटालीमा सुल्झाइन्छ ।

१३) फुटबल

भ्याटिकन सिटीको आफ्नै फुटबल टिम छ । तर, भ्याटिकन सिटीलाई विश्व फुटबलको प्रशासनिक निकाय फिफाले सदस्यता दिएको छैन । यसअनुसार फिफाका सदस्यता नपाउने ९ सार्वभौमिक मुलुक मध्ये भ्याटिकन सिटी पनि एक हो ।

भ्याटिकन सिटीबाहेक संयुक्त अधिराज्य, माइक्रोनेशिया, किरिबाटी, मार्शल टापु, मोनाको, नउरु, पलाउ र टुभालूले पनि फिफाको सदस्यता पाएका छैनन् । भ्याटिकन सिटीले पहिलो खेल सन् १९९४ मा सान मारिनोको बी टिमसँग खेलेको थियो ।

उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । गत वर्षमात्र भ्याटिकन सिटीले महिला प्रतिनिधिको फुटबल टिम समेत बनाएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : ४५ बजे

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

लमजुङ – पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष

अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक नौटियालको कन्सर्ट हुने

काठमाडौं– एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा

स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका

ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत बोनस दिने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा