सूर्यबहादुर थापासँगको पहिलो भेट | Khabarhub Khabarhub

सूर्यबहादुर थापासँगको पहिलो भेट



‘हालखबर’ दैनिकमा कामहरू अघि बढ्दै गए । बाइस–तेइस वर्ष अघिदेखि अखबार पढ्ने गरेकोबाट अनजानमै ममा जम्मा हुँदै गएका कामहरूलाई त्यस्तै अनजानमै उपयोग गर्दै रहेँ म । त्यसबेला सबै कुरा आफैँले सिकेर गर्नुपथ्र्यो, सिकाइदिनेहरू थिएनन् भन्ने होइन तर तिनीहरू पनि तालिम प्राप्त रहेका नभई अनुभवपुष्टहरू मात्र थिए ।

मेरो नियुक्ति गर्दा नै रङ्गनाथज्यूले ‘१० बजेदेखि ५ बजेसम्म’ भनेर मेरो काम-घण्टा निर्धारित गर्नुभएको थियो अरू सबैका निम्ति सरह । उस्तै नपरी मैले कहिल्यै पनि १० नघाइनँ, बरु सातामा पाँच दिन त पौने दसमै पुग्थेँ र पाँच भनेपछि मात्र कार्यालयबाट निस्किन्थेँ । वीरगन्ज हाईस्कुलमा हेडमास्टर रहँदा पनि समयबारे म अनुशासनमा बस्थेँ र अरूबाट पनि कडाइसाथ समय-अनुशासन पालन गराउँथे । वाराणसी हिन्दू विश्वविद्यालयमा बीए र एमए पढ्दाका चार वर्षमा ती दुवै कक्षामा म चार दिन र दुई दिन मात्र गएल भएँ –कलेज जान मन नलागेर होइन कि माताजी बिरामी भएर डाक्टरलाई बोलाउनु आदि पर्दा । एमएमा तैपनि, ‘सबभन्दा बढी उपस्थिति’–को स्वर्णपदक एक प्रोफेसरले पाए । तिनी एक दिन मात्र अनुपस्थित भएका रहेछन् ।

समयनिष्ठता मेरो शक्ति रहेको हो, सन् १९४० मा कलेजमा पहिलो भर्ना पाएदेखि नै । नेपालमा समयनिष्ठता मेरो यान्त्रिकता र कमजोरी ठहरिँदै गएको छ । ‘हालखबर’ मा दाताराम शर्माज्यूसित म पराजित नै भएँ । साढे एघारभन्दा पहिले उहाँ नआउने र साढे तीन बजेपछि प्रायः नबस्ने । उहाँसित काम गर्दाका वर्षहरूमा उहाँको धैर्य, विनय, भद्रता, सरलता, मुखमा समाई मृदुहास्य तथा आँखामा बालकको जस्तो निश्छलता र कोमल जिज्ञासाले मलाई अभिभूत पार्थे । तथापि समयनिष्ठताबारे उहाँको बेवास्ताबाट म मनमनै अति क्रोद्ध हुन्थेँ । जति भने पनि नलाग्ने ! पछि त मैले नै हार मानेर चुप लाग्नुपर्‍यो । दातारामज्यूलाई समयको अनुशासनमा राख्ने काम मेरो होइन भन्ने कुरा विलम्ब गरेर बुझेपछि मेरो भित्री क्रोध पनि शान्त भयो । तैपनि पौने दस बजे नै कार्यालय पुग्ने आफ्नो बानीलाई भने मैले बिग्रिन दिइनँ ।

२०१५ सालको मङ्सिरमा जाडो बढिसकेको थियो । असारमा माताजीको बरखी फुकाएपछि बरखीका सेता कमिज सुरुवाल फालिएका थिएनन् । सबै नेपालीका भित्री कमिज सुरुवाल मैला हुने सरह मेरो कमिज र भित्री सुरुवाल पनि मैलो भइसकेको थियो ।

त्यस मङ्सिरको एक दिन बिहानको भोजनमै अबेर भयो । हत्तपत्त गाँस टिपेर लुगा लगाएर साइकलमा म कमलपोखरीतिर कुदेँ । त्यता जान त्यही त्रि–चन्द्र कलेज कमलादी भएर जान्थेँ म ।

अहिलेको अञ्चलाधीश कार्यालय- त्यस समयको प्रधानन्यायालय भवनबाट त्रि–चन्द्र कलेजतिर मोडिएपछि साइकल बिस्तारै गुड्न थाल्यो, सडकछेउ पेटीमा उभिएर छात्राहरू डफ्फा–डफ्फामा गफ गर्दै मस्किँदै आफ्ना–आफ्ना कक्षाको समयलाई घाम तापेर कुर्थे नि त त्यता !

तिनीहरूतिर आफ्ना आँखा तिनका पोसाकभित्रैसम्म गाँडिदा रमाइलो हुने तर तिनले मतिर हेरे भने जीउभरि काउकुती लागेर आफू नर्भस भएर साइकलबाट लडुँला जस्तो हुन थाल्थ्यो मलाई । त्यो दिन त्यस्तै भयो ।

त्रि–चन्द्र कलेजको सडकका ती केटीहरूमध्ये निकैले मलाई ध्यानसित हेरे । म ‘हालखबर’ को प्रधान सम्पादक हुँ भन्ने चिन्दा रहेछन् भन्ने लाग्यो, सन्तोष बढ्यो तर मुख रातो हुन थाल्यो । के चिन्थे- म केटीहरूको तस्बिर राम्रो खिच्छु भन्ने थाहा पाए होलान् भन्ने विचार गरेँ- आनन्दित भएँ साथै ‘नर्भस’ पनि । तर अरू दिनभन्दा आज यसरी क्वाक्र्वार्ती किन, र यी ठिटाहरू पनि किन मलाई यसरी हेरिरहेछन् भन्ने प्रश्नले छोप्न थाल्यो । होइन होला मलाई हेरेको भन्ने विचार गर्दै म कमलादीतिर लागेँ तापनि त्यो प्रश्नले मलाई छोडेन ।

हालखबरमा काम गर्नेहरू सबै नै योग्य व्यक्तिहरू थिए भन्ने कुरा तिनीहरूले नेपाली पत्रकारितामा आफ्ना स्थानहरूलाई हालखबर बन्द भएपछि पनि सम्मानका साथ कायम राखेकाबाट थाहा हुन्छ । महेशचन्द्र रेग्मी, केदार न्यौपाने, दाताराम शर्मा, रमेशनाथ पाण्डे, राधेश्याम भट्ट, भैरव रिसाल, भैरव अर्यालहरूलाई आज पनि कसरी कसैले बिर्सन सक्ला ?

किन त्यस्तो विचित्रको आँखा लगाएर मलाई नै हेरिहेका त ती ठिटीहरूले ?

कमलादीको मन्दिरतिर एउटा ढुङ्गोबाट साइकललाई जोगाउँदा प्याडलमाथि आफ्नो घुमिरहेको जुत्तातिर मेरो ध्यान गयो । त्यो जुत्तामाथि झन्नै घुँडासम्म मेरो कालो मोजा पनि देखियो । घुँडामाथि ध्यान गयो । हेर्छु त त्यही सेतो कैलो–मैलो भित्री सुरुवाल । अनि दौरा । हलुका आसमानी जिनको सफा धोएर इस्त्री गरेको । ऊनी नीलो कोट पनि उस्तै चिटिक्क !!! त्यसको फेर बाहिर मैलो कमिजको फेर पनि टडकारै ।

झन्नै मुर्छा परेको म । समयमा कार्यालय पुग्ने हडबडीमा मैलो सुरुवालमाथि मोजा लगाएर तर बाहिरिया सुरुवाल नपहिरिकनै दौरा र कोट भिरेर म साइकलमा कुदेछु, त्रि–चन्द्र कलेजमा ती ठिटी र ठिटाहरूले मेरो त्यही गाईजात्रे पोसाकतिर ध्यान दिएका रहेछन् ।

फर्केर घर जाऊँ दोहोरो प्रदर्शन हुने डर ! बेतोडसित साइकल कुदाएर ढोकाबाहिरै छोड्दै कार्यालयभित्र पसेँ र कमिजमाथि पहिरिएको दौरा झट्पट फुकाली अखबारमा बेरेर टेबिलको घर्राभित्र घुसारेँ र मनलाई हलुको पारी सरल भावले, कतै कहीँ केही नभएको देखाउँदै चुरोट तान्दै टाइम्स अफ इन्डिया र त्यो बिहानको ‘हालखबर’ हेर्न थालेँ म ।

डेढ घण्टापछि साढे एघारमा दातारामज्यू आउनुभयो ।

‘आज त कमिज सुरुवालमा…….।’ भन्ने भाव मैले उहाँका ठूला भएर मतिर टवाल्ल परिरहेका आँखामा मैले देखेँ । उहाँको मुखबाट भने केही निस्किएन ।
त्यो दिन दिउँसो चिया खान भनी अरू सबै गए म गइनँ । अब त सबै नै नक्साल पुगे होलान् भन्ने विश्वास भएपछि ‘आज मैले चाँडै घर पुग्नुपर्‍यो’ भन्ने सूचना टेबिलमाथि छोडेर आफ्नो दौराको पोको बोकेर म कुदेको थिएँ ।

‘हालखबर’मा मैले काम शुरु गर्दा पनि तारिणीप्रसाद कोइरालाको ‘कल्पना’ दैनिक र हालखबरबीच नै मुख्य प्रतिस्पर्धा थियो अन्य दैनिकहरूले उक्त दुईबीच आफूलाई पुर्‍याउन सकेका थिएनन् । अन्य अखबारहरूमा धेरैजसो काँग्रेस पक्ष र काँग्रेस विरोधीको विभाजन थियो । ती दुई धारामा काँग्रेस धारालाई सबल प्रतिनिधित्व गर्ने ‘कल्पना’ र काँग्रेसबाहिरको धारालाई तर निकै हदसम्म ‘स्वतन्त्र’ रहेर प्रतिनिधित्व गर्ने ‘हालखबर’ भएपछि र यो पछिल्लोले भरिसक्के आत्मनियन्त्रण तथा वस्तुपरक भएर मात्र समाचार दिने अनि त्यसबेलाका पोख्त र कहलिएका बौद्धिक महेशचन्द्र रेग्मी, केदारनाथ न्यौपाने जस्ताहरूबाट सम्पादकीयहरू देखाउने (रङ्गनाथज्यूले भन्नुभएको विषयमा एउटा सम्पादकीय लेखेको बीस रुपैयाँदेखि चालीस रुपैयाँसम्म दिने चलन रहेछ) गरिएको हुँदा समेत हालखबरले आफ्नो स्तरलाई कायम राखेको थियो ।

हालखबरमा मैले काम शुरु गर्दा त्यसको दैनिक साढे तीन सयदेखि चार सय र कल्पनाको पाँच सयदेखि लिएर सात सयसम्मको काठमाडौँ वितरण थिए । पहिलो महानिर्वाचन गराउन सुवर्ण समसेरको अल्पसत्तामा कम्युनिस्टबाहेक झन्नै सर्वदलीय मन्त्रिपरिषद् गठन भएपछि ‘कल्पना’ को ‘विरोधी अखबार’ भन्ने भूमिका प्रायः अन्त्य भयो ।

मन्त्रिपरिषद्मा कम्युनिस्ट र रङ्गनाथको प्रजातान्त्रिक महासभाबाहेक प्रायः सबै पार्टी सम्मिलित थिए जसले गर्दा ती पार्टीहरूलाई समर्थन गर्ने अखबारका ‘विरोधी चरित्र’ पनि स्वभावतया मत्थर नै भएका थिए ।

हालखबरले भने आफ्नो त्यो भूमिका कायम राख्यो । राजनैतिक घटनाचक्रमा पनि वेग बढ्यो । सबै अखबारका बिक्री बढे तर हालखबरले सबैलाई बिस्तारैबिस्तारै उछिन्दै गएर रोजको सरदर बार्‍ह सयमा पुर्‍यायो, कल्पनाको भन्दा पनि तीन सय बढी । तेस्रो ‘सल्लाहकार सभा’ को अधिवेशन शुरु हुँदासम्मको स्थिति त्यो थियो ।

निराश भएर र छक्क पर्दै म त्यहाँबाट आधा घण्टापछि उठेँ । रङ्गनाथजी पर्खिराख्नुभएको थियो । सबै कुरा बताएपछि ‘तपाईँलाई पनि थापाले छकाएछन्’ भनी टिप्पणी गर्नुभयो । म सहमत भइनँ ।

महानिर्वाचनको झन्नै मुखमा नै आइपुगेर तेस्रो सल्लाहकार सभाको अधिवेशन बोलाइनुले महानिर्वाचनलाई ७ फागुन २०१५ मा नै शुरु गराइनेछ भन्नेमा जनताबीच व्यापक शङ्का उठ्न थाले ।

२०१४ सालमा भद्र अवज्ञा आन्दोलनद्वारा जनताका मागलाई अगाडि बढाएर पहिलो महानिर्वाचनको तिथिमितिको ठेगान लगाइसकेको थियो । २०१४ को त्यो सत्याग्रहकै क्रममा ७ फागुन २०१५ को दिनदेखि महानिर्वाचन हुने शाही घोषणा भएको थियो ।

सो पृष्ठभूमिमा २०१४ कै २४ फागुनमा सल्लाहकार सभा गठन गर्ने उद्देश्यले हरेक जिल्लाबाट प्रतिनिधि पठाउने श्री ५ महेन्द्रबाट घोषणा हुँदा नै निर्वाचनको सबालमा तीव्र शङ्का उत्पन्न भएर श्री डिल्लीरमण रेग्मीले त ‘राजाबाट अनौठो र बेनियमको काम भयो’ भन्ने आवाज उठाउनुभएको थियो ।

सल्लाहकार सभा गठन गर्ने विचारलाई प्रायः सबै राजनैतिक पार्टीले विरोध गरे तापनि त्यसको गठन क्रमशः शुरु हुँदा भने त्यसमा भाग लिए । २० जेठ २०१५ मा त्यसको ‘निर्वाचित’ सदस्यहरूको नाउँ विधिवत् प्रकाशित भयो । ३ मार्ग २०१५ मा त्यसका सरकारले र नेपाली काँग्रेस, प्रजापरिषद्, कम्युनिस्ट पार्टी, गोर्खा परिषद् र राष्ट्रिय काँग्रेसहरूले पनि २ जनाका दरले सदस्य मनोनित गरेपछि शपथ ग्रहण गरे । ९ मार्गमा श्री सूर्यबहादुर थापाले सल्लाहकार सभा अध्यक्ष पदका निम्ति श्री होराप्रसाद जोशीको ३१ मतका विरुद्ध ४४ मत प्राप्त गरी विजयी हुनुभयो । सल्लाहकार सभाले काम शुरु गर्‍यो ।

त्यसको तीन–चार दिनपछि एक दिन रङ्गनाथ शर्माज्यूले हालखबरका मुख्य संवाददाता श्री भैरव रिसाल र मलाई आफ्नो बैठकमा बोलाउनुभयो र भैरव रिसालले सूर्यबहादुर थापालाई भेटेर गर्नुपर्ने प्रश्नहरू टिपाउँदै ‘यसमा अरू केके प्रश्न थप्नुपर्ला मणिजी ? मैले आज दिउँसो १ बजेका निम्ति सूर्यबहादुरलाई भेट्ने समय मिलाइदिसकेको छु’ भन्नुभयो ।

हालखबरमा काम गर्नेहरू सबै नै योग्य व्यक्तिहरू थिए भन्ने कुरा तिनीहरूले नेपाली पत्रकारितामा आफ्ना स्थानहरूलाई हालखबर बन्द भएपछि पनि सम्मानका साथ कायम राखेकाबाट थाहा हुन्छ । महेशचन्द्र रेग्मी, केदार न्यौपाने, दाताराम शर्मा, रमेशनाथ पाण्डे, राधेश्याम भट्ट, भैरव रिसाल, भैरव अर्यालहरूलाई आज पनि कसरी कसैले बिर्सन सक्ला ?

भैरव रिसालको पत्रकार प्रतिभालाई मैले पनि अङ्कित गर्न थालेको थिएँ । तैपनि सूर्यबहादुर थापालाई मैले आफैँ अध्ययन गर्ने र तौलिने विचार गरेर म आफू नै सल्लाहकार सभा अध्यक्षलाई भेट्न जान्छु भनेँ । रङ्गनाथ शर्माज्यूले तुरुन्तै स्वीकार गर्नुभयो । वास्तवमा उहाँले चाहनुभएकै त्यही रहेछ र म प्रधान सम्पादक भएको हुँदा समाचार ल्याउन जान मलाई भन्न नसक्नुभएको मात्र रहेछ ।

रङ्गनाथ शर्माज्यूले पृष्ठभूमिबारे मलाई बताउनुभयो, ‘नेपाल राष्ट्रिय काँग्रेसको ‘समानान्तर’ गुट खडा गराएर थापाज्यूले त्यसलाई पनि छोड्नुभएछ र कानुनको स्नातक रहेको आधारमा प्रधान न्यायालयमा न्यायाधीशको पदमा रुचि लिन थाल्नुभएको रहेछ । त्यस्तैमा सल्लाहकार सभामा उहाँ धनकुटाबाट रोजिनुभयो ।’ रङ्गनाथज्यूका अनुसार थापामाथि त्यसबेला दरबारले अन्य कसैभन्दा बढ्ता विश्वास गर्ने गरेको थियो ।

सल्लाहकार सभा अध्यक्षको निर्वाचन हुँदा प्रजापरिषद्मा काशीराज उपाध्यायले नजित्ने देखेपछि प्रजापरिषद्का सदस्यहरूले र गोर्खा परिषद्ले थापाको पक्ष लिए । कम्युनिस्ट सदस्यहरूले पनि अन्त्यमा थापालाई नै समर्थन गर्ने निर्णय गरे । शुरुमा प्रथम बार मत हुँदा काशीराजको पक्षमा कम्युनिस्ट समर्थन थियो । ७ फागुनदेखि हुने महानिर्वाचन पूरा नहोउन्जेल सल्लाहकार सभा चल्नेछ त्यसकारण काँग्रेससित नलाग्ने स्वतन्त्र व्यक्तिलाई अध्यक्ष बनाउनुपर्छ तथा थापालाई दरबारको समर्थन रहेकोबाट तर्सनु हुँदैन भन्ने विचार कम्युनिस्टहरूको थियो ।

रङ्गनाथज्यूको प्रश्नहरूलाई बुझेर गैह्रीधाराबाट उत्तरतिरको दुई तले र टायलको छाना भएको पुरानो खाले नेपाली घरमा बस्नुभएको श्री सूर्यबहादुर थापालाई भेट्न म पुगेँ । काठमाडौँका उही लिपेका माटा, छेउबाट माथि जाने उस्तै काठका एकोहोरो साँघुरो भर्‍याङ, कोठा बारिएको चोटामा दैनिक उपयोगका करुवा, कुचा, जुत्ता आदि । जुत्ता फुकालेर भित्र पस्दा सुकुलमाथि राडी त्यसमाथि लम्पटमा सेतो तन्ना कसेर बस्नुभएको अध्यक्ष सु.ब. थापा । त्यो पनि उस्तै मध्यमवर्गीय भन्न सकिने काठमाडौँका नेपालीको कोठा होचा दलिन, होचा झ्याल ।

आफ्नो परिचय दिएपछि मलाई उहाँले लम्पटछेउमा बस्न आग्रह गर्नुभयो ।

रङ्गनाथज्यूले बताउनुभएका प्रश्नहरूलाई आफ्नै भाषामा प्रस्तुत गर्न थालेँ । निकै वर्ष बाहिर बसेर काठमाडौँ आएको मलाई अझै पनि यहाँका कोठाहरू गन्हाउँछन्. । सुत्केरीहरू तङ्ग्रिँदाका कोठाजस्ता, नमाझेका कोप्राहरू कुनामा छँदै छन् कि जस्ता र घाम नपाएका कोठामा उठ्ने गन्धजस्ता । मेरो कोठाको कस्तो गन्ध छ मलाई आज पनि थाहा छैन तर काठमाडौँका कोठाहरू मलाई निकै गन्हाउँछन् । थापाज्यूको त्यो कोठा पनि गन्हाउन थाल्यो । तर म कोठा सुँघ्न होइन कि हालखबरका प्रश्नहरू बोकेर त्यहाँ गरेको थिएँ । मैले आफ्ना प्रश्नहरू एकएक गर्दै प्रस्तुत गर्दै गएँ । तर कुनै प्रश्नको पनि प्रस्ट त के अस्पष्ट जबाफसम्म उहाँबाट मैले पाउन सकिनँ । अथवा मैले लिन सकिनँ भने आज स्वीकार गर्नु बढी सत्य ठहर्ला ।

प्रश्नका शब्द ऐले म सम्झन्नँ । तैपनि पहिलो निर्वाचनको मुखमा आएर त्यो सल्लाहकार सभा गठन हुनुले निर्वाचनलाई रोक्ने वा पर सार्ने गर्‍यो भने के हुनेछ ? त्यस्तै कम्युनिस्टबाहेक सर्वदलीयजस्तो सुवर्ण मन्त्रिपरिषद्ले साँच्चै नै स्वतन्त्र निर्वाचन गराउला ? (श्री रङ्गनाथ शर्माको पार्टी पनि मन्त्रिपरिषद्मा थिएन ) अनि, गोर्खा परिषद् पनि सम्मिलित त्यो मन्त्रिपरिषद्प्रति सल्लाहकार सभाले केकस्ता विचार गर्नुपर्ला ? र सल्लाहकार सभाले उहाँले (थापाज्यूले) कति हदसम्म स्वतन्त्र र उन्मुक्त छलफललाई अनुमति दिनुहुनेछ । अन्त्यमा उहाँलाई राजदरबारको विशेष विश्वासपात्र भनी राजनैतिक क्षेत्रले भन्न थालेका बारे उहाँ आफू के भन्नुहुन्छ ?

रङ्गनाथज्यूले पठाउनुभएका ती प्रत्येक प्रश्नलाई थापाज्यूले ‘हो, प्रश्न बुझेँ, मैले के जबाफ दिनु ठीक पर्ला’ भनी मैसित प्रश्न गर्नुभयो । म के भनूँ, मलाई त उहाँबाट जबाफ चाहिएको थियो । ‘हुन्छ मिलाएर लेखिदिनुहोस् न ।’ रे मैले के मिलाउने ? ँतपाईँलाई सबै थाहै छ नि म त भर्खर अध्यक्ष भएको पो हुँ’ -रे ।

उहाँबाट मैले जबाफ पनि पार पनि पाउन सकिनँ । अनि आफू कम्युनिस्ट भएकाले तथा कम्युनिस्ट समर्थनबाट उहाँ जितेको कुरा बताएर कम्युनिस्ट राजनीतिबारे उहाँका धारणाहरू मैले सोधेँ । कम्युनिस्ट के हो ? भन्ने बारे नै उहाँले नै मसित सोधिदिनुभयो ।

निराश भएर र छक्क पर्दै म त्यहाँबाट आधा घण्टापछि उठेँ । रङ्गनाथजी पर्खिराख्नुभएको थियो । सबै कुरा बताएपछि ‘तपाईँलाई पनि थापाले छकाएछन्’ भनी टिप्पणी गर्नुभयो । म सहमत भइनँ । ‘थापालाई केही थाहा छैन, नपाकेको कटमिरो स्याउका चिचिला जस्तोमात्र हो’ भनी मैले थापाज्यूबारे आफ्नो विचार प्रकट गर्दा रङ्गनाथज्यूले भन्नुभयो– ‘हेरिरहनुहोला त्योजस्तो छट्टु र बित्पातेले के गर्न बाँकी राख्नेछ ।’

(दीक्षितले असोज–पुस २०४२ मा लेखेको आलेख, प्रकाशोन्मूख कृति ‘मेरो देश : मेरो संसार’बाट।)

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ७ : ०१ बजे

नेपालले बङ्गलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

काठमाडौं– नेपालले बङ्गलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ ।

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

रामपुर – रामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार

दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो  

काठमाडौं – दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै

ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक

न्युयोर्क – भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड