७ वर्षसम्मको उखुको मूल्य नपाएका किसान भन्छन् – पैसा नलिई फर्कँदैनौं | Khabarhub Khabarhub

७ वर्षसम्मको उखुको मूल्य नपाएका किसान भन्छन् – पैसा नलिई फर्कँदैनौं



काठमाडौं–खुट्टामा फित्तावाला चप्पल । पुसको चिसो थाम्न पातलो सर्टमाथि पछौराले केही शरीर छोपेका छन् । चिसोले कठ्याग्रिएर चरचर फुटेका हातखुट्टा ।

उमेरले ६ दशक नाघिसक्यो । सेताम्मे फुलेका कपाल । बारीमा काट्ने बेला भएको उखुलाई छोडेर राजधानीमा पहिलो पटक पाइला टेकेका छन् सर्लाहीका राम बिलास महत्तो ।

महालक्ष्मी र अन्नपुर्ण मिलले ३ वर्षदेखि रकम भुक्तानी नदिँदा घरमा गुजारो चलाउन समेत कठिनाई भएपछि १४ दिनअघि साहुलाई भेट्न उनी साथीभाइसँग काठमाडौं आइपुगेका छन्।

सर्लाहीको सिसौटियामा जन्मेका महत्तोको पुख्यौली पेशा नै हो उखु खेती । उनले १ विघा जमिनमा उखु लगाएका छन् ।

यतिबेला सिसौटियामा धमाधम उखु काट्ने बेला भएको छ । तर वर्षभरिको दुःखलाई थाती राखेर उनी काठमाडौं आएका छन् । उखुको रकम भुक्तानी पाउने आशा बोकेर ।

‘उखुको भुक्तानी छिटो गर’ लेखिएको पोष्टर छात्तीमा टाँसेका छन् । माइतीघर मण्डलामा भइरहेको किसानको आन्दोलन भित्र बसेर नारा बाजी लगाइरहेका छन् ।

‘दिनरात नभनी उखुमा पसिना बगाएँ’ उनले दुखेसो गरे, ‘तर तीन वर्षदेखि भुक्तानी पाउन सकेको छैन ।’

महत्तोको गुनासो उखुको रकम भुक्तानी नपाएकोमा मात्र थिएन् । १४ दिनदेखिको काठमाडौंको बसाई कष्ठकर भइरहेको र आफ्नो स्वास्थ्य अवस्थामा कमजोर हुँदै गएको समेत बताए ।

पहिलो पटक राजधानी आएका महत्तोका गाउँका केही साथीहरु कवाडको काम गर्छन् । उनीहरुसँग आश्रय लिएर बसिरहेका छन् उनी ।

बिहान बेलुका पेटभरि खाना समेत पाएका छैनन् । त्यति मात्र होइन् कवाडका सामानले भरिएको एक कुनामा मुस्किलले रात बिताइरहेका छन् ।

‘काठमाडौंमा बहुत चिसो रहेछ, रातभरि चिसाले ज्यान तात्दैन हिजोदेखि बिरामी परेको छु’ खबहरसँग कुरा गर्दै उनले भने, ‘यस्तै हो भने काठमाडौंमै ज्यान जाला जस्तो छ ।’

‘शरीरको अवस्था जे भएपनि म भुक्तानी नपाएसम्म माइतीघरमै हरेक दिन आन्दोलनमा आइरहन्छु’ प्रतिवद्धता जनाउँदै महतोले भन, ‘रकम नलिइ गए उता साहुले बस्न दिदैन ।’

सवा एक विघा जमीन उखु खेती गर्न एकपटकमा ५० हजारभन्दा बढी रुपैयाँ लाग्छ उनलाई । ३६ प्रतिशत चर्को व्याजमा ऋण लिएर वर्षेनि उखु खेती गर्दै आइरहेको उनले सुनाए ।

महत्तोले ३ वर्षदेखि भुक्तानी पाउन नसक्दा यता व्याज समेत बुझाउन सकेका छैनन । ‘३ लाख बक्यौता रकम माग गरिरहेको छु’ पुर्परोमा हात लगाउँदै उनले भने, ‘व्याज नै ३ लाख पुग्न थालिसक्यो ।’

२५ हजार किसान दोहोरो मर्कामा

उखु पेशामा निरन्तर लागि परेका छन् सर्लाहीवासी । करिब २५ हजार किसानले उखु खेती गरिरहेको किसान महाशंकर यादवले बताए । गाउँमा उखु काट्ने समय । उनीहरु यता आन्दोलनमा दोहोरो मर्का खेपिरहेका छन् सर्लाहीवासीले ।

अधिकांश सर्लाहीका किसानले अन्नपुर्ण सुगर मिल्समा उखु बेच्ने गरेका थिए । अन्नपुर्ण मिलका मालिक हुन्–राकेश अग्रवाल । अग्रवालले ७ वर्षदेखि किसानलाई रकम भुक्तानी नगरेको उनीहरुको गुनासो छ ।

सयजना भन्दा बढी किसान काठमाडौं आउनासाथ सबैभन्दा पहिले मिल मालिक अग्रवालको घरमा पुगे । घरमा कसैसँग भेट नभएपछि तत्काल उनीहरु अग्रवालको कार्यालय त्रिपुरेश्वर पनि पुगे । मालिकसँग भेटेपछि बक्यौता रकम पाउने ठूलो आशा थियो उनीहरुको ।

‘घर र कार्यालय कतै पनि मालिकसँग भेट भएन’ अर्का किसान महाशंकर यादवले खबरहबसँग भने, ‘कार्यालयमा गएर कर्मचारीहरुलाई फोन गर्न पनि लगायौं तर उनीहरुले मिल्दैन भने त्यसपछि माइतीघर आइपुग्यौं ।’

‘०७५÷०७६ मा त झन एक सुक्का रकम पनि दिएको छैन’ खबरहबसँग यादवले भने, ‘हामीले जिल्लामा पनि आन्दोलन गर्‍यौं तर सुनुवाइ भएन ।’ सर्लाहीका २५ हजारभन्दा बढी किसान मर्कामा परेको समेत उनले बताए ।

सर्लाहीस्थित रामपुर गाउँपालिकामा १२ विघामा उखु खेती गरिरहेका छन् यादवले । ‘अन्नपुर्ण सुगर मिलमा २१ र महालक्ष्मीमा ३ लाख रुपैयाँ भुक्तानी पाउन छ’ उनले भने, ‘यो भुक्तानी रकम नपाएसम्म म फर्किनेवाला छैन बरु उखु बारीमै सुकोस् ।’

सर्लाहीका कुनै पनि उखु किसानलाई अग्रवालले पुरा पैसा दिएका छैनन् । केही किसानलाई दुई वर्षदेखि दिएका छैनन् त कोहीलाई ७ वर्षदेखि ।

मुल्यमै पनि ठगिन्छन् किसान

सरकार, किसान र उद्योगपति सबै बसेर मुल्यका विषयमा छलफल हुन्छ । त्यसमा मुल्य पनि तोकिन्छ ।

सरकारले उखुको मुल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ ।

किसानलाई मिल मालिक तथा उद्योगले ४ सय ७१ रुपैयाँ २८ पैसा तथा सरकारले ६५ रुपैयाँ सरकारले अनुदानस्वरुप दिने भने पनि त्यो कार्यान्वयन भएको छैन ।

‘सरकारले प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ तोकेको छ’ किसान यादवले भने, ‘५ सयका दरले रसिद दिएका छन्, एक क्विन्टलमै ३६ रुपैयाँले ठगियौं नि ।’

उखु किसानलाई मर्कामा पारी मिल सञ्चालकहरुले कम मुल्यमा उखु बेच्न बाध्य पारेको पीडित किसानहरुले गुनासो पोखे । सिजन सकिनै लाग्दा पनि सञ्चालकहरुले उखु खरिद नगर्ने धम्की दिने, मूल्य घटाएरै मात्रै किन्ने र उधारोमा लिने गरेको उनीहरुले खबरहबसँग दुखेसो पोखे ।

पहिला भुक्तानी अनि मिल सञ्चालन

आफुहरुको माग सम्बोधन नभएसम्म चिसो भुँइमै रात बिताउने तर सर्लाही नर्फकने उनीहरुले अडान लिएका छन् ।

त्यस्तै मिलका सञ्चालक भने अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । गृह मन्त्रालयले पनि किसानलाई उखुको भुक्तानी नदिने चिनी मिल सञ्चालकहरुको खोजी गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

‘तर किसानहरु झिनो आशा बोकेर हरेक दिन माइतीघर धाइरहेका छन् भने चिसो भुँइमै रात बिताइरहेको छन् । किसान सीताराम महतोले भन्छन्, ‘हाम्रो यो पीडा पक्कै पनि सरकारले बुझ्ने छ ।’

‘वि.स. २०७० देखि ०७६ सम्मको उखुको प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसाका दरले सम्पुर्ण रकम भुक्तानी हुनुपर्‍यो’ किसान महतोले भने, ‘अहिले उखु बाली पाकेको छ । मिल सञ्चालन गर्नुपर्छ ।’

उनीहरुका अनुसार महालक्ष्मी सुगर मिलले २१ करोड र अन्नपुर्ण सुगर मिलले ६० करोड रुपैयाँ तिरेको छैन । पहिला सम्पुर्ण रकम भुक्तानी गरेर मात्र मिल सञ्चालन गर्नुपर्ने किसानहरुको माग रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ४५ बजे

मधेश सरकार एसईई परीक्षा प्रक्रियाबाट अलग

जनकपुरधाम– मधेस प्रदेश सरकार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)

यसरी हुँदैछ स्ववियु निर्वाचन (तस्बिरहरू)

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी

कोशीमा टीएएन र केनेक्ट किसानबीच छलफल : चियाको अन्तर्राष्ट्रिय प्रवर्धनमा जोड

काठमाडौं– कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स

महिला राजनीतिमा आउन अझै समस्या रहेको सांसदहरूको गुनासो

सुर्खेत– कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका महिला सांसदहरूले आमसञ्चार माध्यममा

परराष्ट्रमन्त्रीले युक्रेनका समकक्षीसँग भनिन्– तपाईंको सेनाले बन्धक बनाएका नेपाली मुक्त गरिदिनुस्

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहासँग