लकडाउनका बीच पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देउराली पूजा | Khabarhub Khabarhub

लकडाउनका बीच पनि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा देउराली पूजा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन)का बीच पनि प्राचीन धार्मिक महत्व बोकेको कास्कीको देउराली मन्दिरमा पूजा गरिएको छ ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयवासीले लकडाउनको अवधिमा पनि बिहीबार यहाँको देउराली माईको मन्दिरमा पूजाआजा गरेका हुन् । २ हजार ४०० मिटर उचाइमा गाउँको शिर देउराली डाँडामा अवस्थित मन्दिरमा पुगेर उनीहरुले वर्षैदेखि गर्दै आएको पूजालाई निरन्तरता दिएका हुन् ।

झण्डै ३०० वर्षअघिदेखि वर्षमा दुईपटक मङ्सिर र वैशाखमा देउरालीमाईको पूजाआजा गर्ने गरिएको हो । हिउँदमा खेतीबाली थन्काएपछि देउरालीमाईको आशीर्वादले राम्रोसँग खेतीबाली घरभित्र हुल्न पाइएको र बर्खा शुरु हुन लाग्दा खेतीपाती राम्रो होस् तथा समयमै वर्षा होस् भन्ने कामनासहित गाउँलेले धूप अक्षता चढाएर तथा बलि दिएर पूजाआजा गर्ने गर्छन् ।

देउराली पूजा गर्दा प्राकृतिक विपत्ति नआउने, समयमै वर्षा भएर खेतीबाली राम्रो हुने तथा देउरालीको सम्झना गर्दा जस्तोसुकै दुःख, कष्टबाट समेत उन्मुक्ति मिल्ने जनविश्वास रहँदै आएकाले निरन्तर पूजा सञ्चालन गरिँदै आएको छ । लामो समय खडेरी परेको अवस्थामा समेत देउरालीको पूजा गरेपछि पानी पर्ने गरेको बूढापाकाको भनाइ छ ।

पूजामा यस पटक चाहिँ यसअघिभन्दा दर्शनार्थीको सङ्ख्या कम भएको बताइन्छ । कोरोनाका कारणले धेरै भीडभाड नगरी भाकल भएकालाई मात्र मन्दिरमा जान दिइएको र टोल विकास संस्थामार्फत अन्य परिवारको धूप अक्षता सङ्कलन गरेर मन्दिरमा चढाउने व्यवस्था गरिएकाले सीमित व्यक्तिमात्र मन्दिर पुगेको वडा नम्बर ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए ।

‘यसपटक पूजा रोक्ने भन्ने कि भनेरसमेत छलफल गरेका थियौँ । तर अधिकांश स्थानीयवासीले दुःख तथा आपत् विपत्मा सम्झना गरिने देउरालीको पूजा रोक्दा अनिष्ट हुन्छ भन्न थाल्नुभयो । पण्डितबाट समेत वर्षौंदेखि चल्दै आएको पूजा रोक्न नहुने भनिएको र सबैबाट दबाब आएपछि सामाजिक दूरी कायम गर्दै पूजा सञ्चालन गरियो,’ उनले भने ।

पूजाका लागि भाकल भएका परिवारबाट समेत एकजनालाई मात्र मन्दिरमा जान दिइएको र प्रवेशद्वारमा सुरक्षाकर्मी परिचालन गरेर कडाइ गरिएको पनि उनले बताए । गाउँबाट २ घण्टाको पैदलपछि देउरालीडाँडामा पुग्ने गरिएकामा यसै वर्ष गाउँपालिका तथा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मन्दिरभन्दा केही तलसम्म सडकको ट्र्याक खोलिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ४९ बजे

निजी जीवनमा प्रहार गरेको भन्दै सन्दीपको आक्रोश, साथमा उत्रियो विराटनगर किंग्स

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले

झिलिमिलीले चम्किएको धरान

धरान –‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको

सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौं – हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

दिदीबहिनी र दाजुभाइ नहुनेका लागि आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौं – आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै छ। दिदीबहिनी