हामी युद्ध होइन, रोगको महामारी भोग्दैछौँ | Khabarhub Khabarhub

हामी युद्ध होइन, रोगको महामारी भोग्दैछौँ


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालका मात्रै नभई संसारका थुप्रै देशका नेता तथा अन्य विशिष्ट व्यक्तिहरूले कोरोना भाइरसको यो महामारीलाई ‘युद्ध’ भन्ने गरेका छन् । उनीहरूले ‘हामी युद्धमा छौँ’ भनेर अभिव्यक्तिमा अझै जोड दिने गरेका छन् । शायद उनीहरू जनमानसमा महामारीको भय बनाएर आश्चर्यजनक सफलताको परिणाम प्राप्त गर्न चाहन्छन् ।

यस्तो अभिव्यक्तिमा जम्माजम्मी दुई वटा उद्देश्य अन्तर्निहित भएको हुनुपर्छ । पहिलो, महामारी रोकथामका उपायहरू सुनिश्चित गर्नु र दोस्रो, राजनीतिकरूपले एकता स्थापित गर्नु ।

हरेक शब्दको आआफ्नै विशेष अर्थ हुन्छ । युद्ध भनेको दुई वा दुईभन्दा बढी परस्पर विरोधीपक्षको लडाइँ हो । कोरोना भाइरस संक्रमणको सन्दर्भमा कोरोना र मानवबीचको युद्ध भनिएको हो भने पनि ‘युद्ध’ शब्दको उचित प्रयोग होइन । ‘युद्ध’ जनमानसमा भय सिर्जना गर्छ ।

हामीले स्पष्टरूपमा बुझ्नु पर्छ कि हामी युद्धमा होइन सरुवा रोगको महामारीमा छौँ । चीनका राष्ट्रपतिले वुहान शहरको भ्रमणमा यस महामारीलाई ‘कोरोना भाइरससँगको युद्ध’ भनेका थिए । डब्ल्यूएचओका विशेषज्ञहरूले इरानमा प्रकोपलाई ‘युद्ध’ भनेका थिए । फ्रान्सेली राष्ट्रपतिले टेलिभिजन भाषणमा सेना वा अर्को राष्ट्रको विरुद्धमा नभई अदृश्य दुश्मनविरुद्धको युद्धमा छौँ भनेका थिए । त्यस्तै, बेलायती प्रधानमन्त्रीले ब्रिटिस अर्थतन्त्रलाई सहयोग पु¥याउन विश्वयुद्ध झैँ अभूतपूर्व पाइला चाल्ने बताएका थिए ।

भय सिर्जना गरेर राज्यसत्ताको कुनै भित्री स्वार्थ पूरा गर्ने मनसाय हुनु हुँदैन । ‘युद्ध’ शब्दको अनुचित प्रयोगले जनमानसमा भय सिर्जना गर्छ । कोभिड–१९ पराजित गर्न भय होइन उच्च आत्मबल आवश्यक छ

कोरोना भाइरस धेरैले भनेको जस्तो युद्धका लागि अदृश्य दुश्मन होइन । यो केवल एक भाइरस हो जुन मानिसको बीचमा सामाजिक सम्बन्धबाट फैलिन्छ । यो अत्यन्त संक्रामक रोग हो जुन चाँडै फैलिन्छ । समयमै जाँच गरेर नियन्त्रण गरिएन भने परिणाम भयानक हुन सक्छ ।

यो भाइरस हो, सेना होइन । तसर्थ, कुनै एक भाइरसविरुद्ध ‘युद्ध’ शब्दको प्रयोग उचित होइन । हामीले कोरोना भाइरस प्रसारको गति नियन्त्रण गर्न सक्दो प्रयास गर्नुपर्छ । संक्रमित भएकालाई उचित उपचार र हेरचाह गरी जोगाउनुपर्छ, उसले अर्को व्यक्तिमा सार्न नसक्ने वातावरण बनाउनु पर्छ । एन्टिभाइरस वा भ्याक्सिन बनाउने प्रयास गर्नुपर्छ, जो भइरहेको छ ।

हामीले अहिलेको महामारी सामना गर्न यस्ता कदम या उपायहरू चाल्न आवश्यक छ जुन युद्धकालको भन्दा विपरीत हुन्छ । लकडाउनका कारणले आर्थिक क्रियाकलापहरू ठप्प छन् । अधिकांश कामदारहरू घरभित्र बन्द रहेको अवस्थामा छन् ।

हामीले सामाजिक जमघट घटाएर महामारीको फैलावट रोक्नु परेको छ । व्यक्ति आफू संक्रमणबाट जोगिनु छ र अरूलाई पनि जोगाउनु परेको छ । मलाई नसरोस् र मबाट अरूलाई नसरोस् भन्ने सावधानी अपनाउन आवश्यक परेको छ । युद्धजस्तो गोली, बम, बारुद लिएर निस्क्नु परेको छैन तर रोगको भयमा बाँच्नु परेको छ ।

कोरोना महामारीले स्वास्थ्य संकटको सिर्जना गरेको छ । संक्रमितहरूको उपचार र हेरचाहमा संलग्न नर्सहरू संक्रमणको उच्च जोखिममा छन् । उनीहरूका लागि अतिआवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव छ । सरकारले युद्ध भनेको छ तर त्यसअनुसारको तयारी गरेको देखिएको छैन ।

हामी महामारीको सामना गरिरहेका छौँ । युद्ध शब्दले परिस्थितिको गम्भीरतातर्फ संकेत गर्छ, यससँगै भय पनि सिर्जना गर्छ । राज्यसञ्चालकहरूमा जनमानसमा भय सिर्जना गर्ने मनसाय हुनु हुँदैन । मानिसहरूका बीचमा सामाजिक दूरीका साथ आपसी सद्भाव आवश्यक पर्छ । हामीले एक अर्काबीच दूरी कायम गरेर, प्रतिस्पर्धा नगरी एकसाथ जुटेर, हातेमालो गरेर महामारीको सामना गर्नुपरेको छ । यस्तो एकता व्यक्ति, समाज, देश र विश्वभर आवश्यक परेको छ ।

स्वास्थ्य सेवालाई राज्यको सबैभन्दा उच्च प्राथमिकतामा राख्नुपर्ने रहेछ भन्ने चेतना पनि कोभिड–१९ ले दिएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न युद्ध चाहिएको होइन, समन्वय चाहिएको छ । संक्रमणको जोखिममा परेकालाई सुरक्षित गर्नु परेको छ । घरबारविहीन, आप्रवासी मजदुर, गरीब तथा निमुखाहरू यो महामारीबाट सबैभन्दा बढी असुरक्षित छन् । उनीहरूका लागि विशेष ख्याल गर्नु आवश्यक छ । कोरोना भाइरस विरुद्ध लड्नु भनेको एकता र हेरचाहलाई हाम्रो बनाउनु हो । स्वास्थ्य सुरक्षा जीवनको मूल सिद्धान्तको रूपमा स्थापित गर्नु आवश्यक परेको छ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि मानवीय एकतालाई कुनै सीमाना बाँध्नु हुँदैन । भाइरस संक्रमणको कुनै सीमाना छैन । हाम्रो सामाजिक गतिविधिले यसको फैलावट निर्धारण गर्छ । यस्तो समयमा हामीले व्यक्तिगत दूरीका साथ सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बलियो बनाउनु परेको छ ।

सबै देशहरू आपसमा जुटेर सहयोग र सद्भाव बढाउन आवश्यक छ । विश्वव्यापी स्वास्थ्य संकट सामना गर्न आपसी सहयोग आदान–प्रदान आवश्यक परेको छ । हामीले हाम्रो आर्थिक प्रणाली पुनर्गठनको लागि कदमहरू चाल्नु आवश्यक छ ।

कोभिड–१९ ले रोजगारी र उत्पादनको प्रणालीमा निकै ठूलो परिर्वतन ल्याउन सक्ने देखिएको छ । स्वास्थ्य सेवालाई राज्यको सबैभन्दा उच्च प्राथमिकतामा राख्नुपर्ने रहेछ भन्ने चेतना पनि कोभिड–१९ ले दिएको छ । स्वास्थ्य उपकरण र औषधि उत्पादन, अस्पताल र अन्य आवश्यक भौतिक पूर्वाधार कति महत्वपूर्ण रहेछ भन्ने शिक्षा पनि दिएको छ ।

सरुवा रोगको महामारीले धनी, गरिब, उच्च ओहोदावाला कोही पनि पनि छुट्याएको छैन । रोगबाट सुरक्षित हुने चेतनाको स्तरले केही फरक पार्ला तर संक्रमणका लागि सबै बराबर । यसकारण राज्यले स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य चेतना बढाउने अभियान चलाउन आवश्यक छ ।

युद्धको भय सिर्जना गरेर राज्यसत्ताको कुनै भित्री स्वार्थ पूरा गर्ने मनसाय हुनु हुँदैन । ‘युद्ध’ शब्दको अनुचित प्रयोगले जनमानसमा भय सिर्जना गर्छ । कोभिड–१९ पराजित गर्न भय होइन उच्च आत्मबल आवश्यक छ ।

(लेखक पेरिस स्कूल अफ इन्टरनेशनल अफेयर्सको ‘साइन्सेस पो’ का स्नाकोत्तर हुन् । )

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : ४९ बजे

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा

मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा वृद्धाको शव फेला

भक्तपुर – मुखमा कपडा कोचिएको र खुट्टा बाँधिएको अवस्थामा भक्तपुर

‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की – नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा

रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता

पोखरा – नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा