पार्क बनाउन दिएको रकमको भएन सदुपयोग, ३ नगरपालिकाले अझैं सुरु गरेनन् काम | Khabarhub Khabarhub

पार्क बनाउन दिएको रकमको भएन सदुपयोग, ३ नगरपालिकाले अझैं सुरु गरेनन् काम

नगर-नगर साझेदारी कार्यक्रममा यो वर्ष पनि १ करोड दिने तयारी



काठमाडौँ– संसारका सबै ठूला सहरमा मनोरञ्जनका लागि विभिन्न पार्कहरु हुन्छन् । चाहे त्यो सरकारले निर्माण गरेको होस् या निजी संघ संस्थाले ।

तर नेपालको सन्दर्भमा हेर्ने हो भने त्यस्ता मनमोहक पार्क भेट्न निकै मुस्किल छ । कतिपय पुराना पार्कहरुलाई व्यवस्थित बनाउन सकेको छैन ।

काठमाडौँभित्र मनोरञ्जन स्थलको अभाव महशुस गर्दै काठमाडौँ महानगरपालिकाले छिमेकी नगरहरुलाई समेत पार्क बनाउन सहयोग गरिरहेको छ ।

रमणीय पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिकाले २०७५ माघ २७ गते १० वटै नगरपालिकालाई १/१ करोडको चेक हस्तारन्तरण गरेको थियो ।

जसअनुरुप कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रगिरीमा ‘मदनभण्डारी स्मारक पार्क’, नार्गजुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’, गाकेर्णेश्वरमा ‘बज्रयोगिनी पार्क’, बुढानिलकण्ठमा ‘बुढानिलकण्ठ पार्क’ र कागेश्वरीमा पार्क निर्माण गर्न महानगरले सो रकम दिएको थियो ।

रकम पाएको झण्डै २ वर्ष पुग्नै लाग्दा ७ वटा नगरपालिकाले पार्क निर्माण गरिरहेका छन् भने बाँकी ३ नगरपालिकाले अहिलेसम्म निर्माणको काम सुरु गरेका छैनन् ।

सबै नगरपालिकालाई खर्च विवरण माग्दा ७ वटाले मात्र विवरण दिएको र बाँकी नगरहरुको खर्च विवरणका लागि २ साता पर्खने महानगरले जनाएको छ ।

महानगरमा खर्च विवरण प्राप्त भएका नगरहरुले निर्माण गरेका पार्कहरुमा समय-समयमा अनुगमन समेत गरिरहेको महानगर, शहरी पुर्वाधार विभागका विभागीय प्रमुख राम थापाले खबरहबलाई जानकारी दिए ।

पार्क बनाइरहेका नगर

१ करोड रुपैयाँ महानगरले सहयोग गरेसँगै तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम निर्माण गरिरहेको छ ।

वडा नम्बर ३ स्थित चारैतिर सार्वजनिक जंगल रहेको भुभागको बीचको करीब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मुर्तीमा पुग्ने सिढी, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल र प्रवेशद्धार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

त्यस्तै कीर्तिपुर नगरपालिकाले ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अगाडी बढाएको छ । नगरले गोर्खाली र कीर्तिपुरे फौजबीच १८१४ देखि १८२२ सम्म तीनपटक युद्ध भएको ऐतिहासिक स्थानमा ‘युद्ध स्मारक पार्क’ निर्माण गरिरहेको जनाएको छ ।

नगर प्रमुख रमेश महर्जनका अनुसार हाल पार्कमा ढिस्कोमा ठुलो पर्खाल, गढ र किल्ला समेत निर्माण भइरहेको छ । युद्धसँग सम्बन्धित मुर्तिका साथै सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई झल्काउने सामग्री राख्ने र पार्कमा संग्रहालयसमेत बनाउने योजनाका साथ अघि बढेको महर्जनले जानकारी दिए ।

टोखा नगरपालिकाले झरनासहितको चिल्ड्रेन पार्क निर्माण गरिरहेको छ । त्यस्तै चन्द्रगिरी नगरपालिकाले मदन भण्डारी पार्क निर्माणका गरिरहेको छ । नगरले कामको सुरुवात गरेपनि हालसम्म आर्थिक र भौतिक विवरण भने सार्वजनिक गर्न सकेको छैन ।

काम नगर्ने नगर

थापाकाअनुसार हालसम्म दक्षिणकाली, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाले पार्क निर्माण सुरु गर्न सकेका छैनन् ।

विभिन्न कारण देखाउँदै तीन नगरले हालसम्म भौतिक प्रगती नै गर्न नसकेको बताउँदै थापाले भने, ‘खर्च विवरण नपठाउने र काम पनि नगर्ने नगरहरुसँग सम्झौताअनुसार रकम फिर्ता गर्नेछौं ।’

यद्यपी दक्षिणकाली नगरपालिकाले भने प्रक्रियागत रुपमा अघि बढ्दा केही समय ढिलाई भएको जनाएको छ ।

महानगरकी उपप्रमुख बसन्ती लामाले गोरखनाथ पार्कको डीपीआर केही समयअघि सकिएको बताइन् । भौतिक रुपमा काम गर्न नसक्दा देखिने गरी काम नभएको बताउँदै उनले खबरहबसँग भनिन्, ‘डीपीआर सम्पन्न गराएका छौं अब पार्क निर्माणको कार्य अघि बढ्नेछ’ ।

काम नगरे रकम फिर्ता हुने

महानगरले १० वटै नगरपालिकालाई खर्च विवरण पठाउन दशैँअघि नै पत्र पठाएको थियो’ खबरहबसँगको कुराकानीमा प्रमुख थापाले भने, ‘तर ३ वटा नगरले हालसम्म खर्च विवरण पठाएका छैनन् अझै दुई साता पर्खन्छौं ।’

नगर-नगर साझेदारीका रुपमा यस वर्ष पनि महानगरले १० वटै नगरका लागि १/१ करोड रुपैयाँ छुट्याएको छ । यसबीचमा पहिले रकम लिएर काम सुरु गरेका र रकम अपुग भएका नगरलाई छिटै थप १ करोड रुपैयाँ सहयोग गर्ने उनले बताए ।

‘यस वर्ष पनि १/१ करोडका दरले रकम छुट्याइसका छौं’ उनले भने,‘जसले महानगरसँगको सम्झौताअनुसार काम गरेका छन् र रकम अपुग भएको छ तिनीहरुलाई थप रकम दिन्छौं ।’

केही समयअघि र्कीतिपुर नगर अनुगमनका लागि पुगेको बताउँदै थापाले सो नगरको काम चित्त बुझ्नेगरी गरेको र खर्चपनि भएको देखिएकाले बाँकी रकम दिने तयारी गरेको बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : १४ बजे

स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको

शीतल निवासमा अशोक राई मुस्कुराए, प्रेमले प्रदीपलाई फूलको बुके थमाए (तस्बिरहरू)

काठमाडौं- गत आइतबार मात्रै जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं–  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा र मातहतका समितिबाट भए-गरेका

मिथुनको पहिलो ‘ब्रेकअप’ : जब धोका दिएकी युवतीले रुँदै माफी मागिन्

काठमाडौं– तपाईं हामीमाझ परिचित बलिउड नायक मिथुन चक्रवतीका करोडौं समर्थक

प्रदीप यादव स्वास्थ्यमन्त्रीमा नियुक्त, राष्ट्रपतिले दिलाए शपथ

नवगठित जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसङ्ख्या