पौडेल पक्षले पार्टी कार्यालय नछोड्ने, बैठक र सभापतिहरुको भेला सानेपामा | Khabarhub Khabarhub

पौडेल पक्षले पार्टी कार्यालय नछोड्ने, बैठक र सभापतिहरुको भेला सानेपामा



काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पछिल्लो एक महिना देखि जारी विवाद उत्कर्षमा पुगेको छ । संस्थापन पक्ष र असन्तुष्ट पक्षले आज(विहीवार) छुट्टाछुट्टै बैठक राखेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आह्वान गर्ने गरेको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलासहितका नेताले वहिष्कार गर्दै आएका छन् ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा समेत वरिष्ठ नेता पौडेल पक्ष सहभागी भएन ।

पुस ११ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठले २०७७ को फागुनमा महाधिवेशनको मिति तोक्ने, कार्यकाल एक वर्ष थप गर्ने, विभागको संख्या बढाउने लगायतका घोषणा संस्थापन पक्षले असन्तुष्ट पक्ष अनुपस्थित भएको बैठकबाट गरेपछि विवाद झन् बढेको हो ।

वरिष्ठ नेता पौडेलसहितका असन्तुष्ट पक्षले बहुमतका आधारमा गरिएको निर्णय तत्काल सच्याउन सभापति देउवालाई चेतावनीसमेत दिएको थियो । असन्तुष्ट पक्षको बैठकले सभापति देउवाले बोलाएको बैठकमासमते सहभागी नहुने निर्णय यसअघि नै गरेको थियो ।

समानान्तर बैठक

पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनका लागि भन्दै केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । तर सभापति देउवाले बोलाएको बैठकमा असन्तुष्ट पक्षका नेताहरु सहभागी नहुने भएका छन् । देउवाले बोलाएको बैठकमा सहभागी नहुने मात्र होइन, असन्तुष्ट पक्षले समानान्तर बैठक नै बोलाएको छ ।

संस्थापन पक्षले दिउँसो २ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाएको छ भने असन्तुष्ट पक्षले महामन्त्री डा शशांक कोइराला निवासमा बैठक बोलाएको छ ।

‘२ बजे केन्द्रीय समिति बैठक छ’ संस्थापन पक्षका नेता ज्ञानेन्द्र बहादुर कार्कीले भने,‘राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार चयन, उपेन्द्र यादवजीको पार्टीसँगको तालमेल लगायतका विषयमा निर्णयमा पुग्ने कार्यक्रम रहेको छ ।’

पार्टीका वरिष्ठ नेता, महामन्त्रीसहितका नेताहरुले भने देउवाले बोलाएको बैठकमा सहभागी नहुने भनेर खबर पठाइसकेका छन् ।

‘उहाँहरुले(पौडेल पक्ष) बैठकमा सहभागी नहुने भनेर खबर गर्नु भएको छ’ नेता कार्कीले भने,‘केही साथीहरु आउनु भएन भनेर महत्वपूर्ण विषयलाई रोक्न मिल्दैन । बहुमतको आधारमा भएपनि अघि बढ्नुपर्ने हुन्छ ।’

नेपाली कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य रहेका छन् । खुमबहादुर खड्काको निधनपछि ८४ जना केन्द्रीय सदस्य रहेका छन् । जसमध्ये २६ जना केन्द्रीय सदस्य पौडेल पक्षमा रहेका छन् । यसआधारमा देउवा पक्षसँग ५८ जना केन्द्रीय सदस्य रहेका छन् ।

उता संस्थापन इतरको बैठक ३ बजेपछि कोइराला निवासमा बस्दैछ । बैठकमा संस्थापन पक्षले बहुमतका आधारमा यसअघि गरेको निर्णयको प्रतिवाद गर्दै अझ शसक्त रुपमा अघि बढ्ने बारे छलफल हुने असन्तुष्ट पक्षका नेता दीपक गिरीले बताए ।

संस्थापन पक्षलाई चुनौती दिनका लागि असन्तुष्ट पक्षले पुस २१ गते पार्टीका सबै जिल्लाका सभापतिहरुलाई भेला गर्ने भएको छ । त्यसबारेमा पनि आजको बैठकमा छलफल हुने गिरीले जानकारी दिए ।

‘आजको बैठकमा जिल्ला सभापतिहरुको भेला, आगामी रणनीति तय गर्ने काम हुनेछ’ गिरीले खबरहबसँग भने ।

पार्टी सभापति पक्षले बहुमतको आधारमा पेलेर अघि बढ्न खोजेपनि आफूहरु कांग्रेसको मूलधार रहेको असन्तुष्ट पक्षको दाबी रहेको छ ।

‘हामी पार्टीको मूलधार हौं’नेता गिरीले भने,‘आगामी दिनमा हाम्रा बैठकहरु पार्टी कार्यालय मै बस्ने छ । सभापतिहरुको भेला पनि पार्टी कार्यालयमै हुनेछ ।’

७७ जिल्ला कार्यसमिति मध्ये ५२ जिल्लाका पार्टी सभापतिहरुले भेलामा सहभागीताका लागि हस्ताक्षर गरिसकेको गिरीको दाबी छ ।

देउवापक्ष प्रदेश नम्बर दुईमा मात्र बलियो देखिएको आकलन असन्तुष्ट पक्षले गरेको छ ।

नेताहरु गुरुराज घिमिरे, प्रदीप पौडलाई आगामी कार्य योजना, भावी कार्यदिशाका बारेमा प्रतिवेनद तयार पार्ने जिम्मेवारी दिइएको छ । उक्त प्रतिवेदनका बारेमा छलफल गरेर अघि बढ्ने तयारी पौडेल पक्षले गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १ : ५७ बजे

लोसपाले छाड्यो मधेश सरकार 

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश सरकार छाडेको छ । 

लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि, आईएफएसी अध्यक्ष रेसमौकीले सम्बोधन गर्ने

काठमाडौंऔ- लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीबारदेखि राजधानीमा

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

काठमाडौं– सरोकारवालाहरूले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्ने

गलकोट– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा– साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।