रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा « Khabarhub

रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि बुधबार क्षमा पूजा गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै हिजो(बुधबार) क्षमा पूजा गरिएको सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणको खतरा अन्त्य भएपछि स्वस्ति शान्तिसहित कोटीहोम गर्ने समितिले जनाएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको जात्रा १ हजार १ सय ४० वर्ष अघि शुरु भएको बताइन्छ । अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने यात्रा असनसम्म लैजाने गरिन्थ्यो ।

नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीका दिन कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनसम्म तान्ने गरिन्थ्यो । एकादशीका दिन लगनको पीपलबोटमा सेतोमच्छेन्द्रनाथका आमालाई तीनपटक घुमाउने परम्परा थियो । द्वादशीका दिन लगनबाट मच्छेन्द्रबहाल ल्याई सिन्दूर जात्रा गरेपछि पाँच दिन लामो जात्रा सकिने विधि थियो ।

काठमाडौँमा सेतो मच्छेन्द्रनाथको जात्रा भएपछि मात्र ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा गरिन्थ्यो । रातो मच्छेन्द्रनाथको जात्रा अक्षय तृतीयाका दिनदेखि शुरु हुन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गुठी संस्थान, समिति, बहालका गुठियार, वडा कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित बैठकले जात्रा नगरी क्षमा पूजा गर्ने निर्णय गरेको थियो ।

यसैगरी बुधबारकै दिन गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा मनाइने श्रीगणेश, श्रीभैरव र चामुण्डा देवीको रथायात्रासमेत कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन स्थगित गरिएको छ ।

रथयात्रा स्थगित गरेपछि मन्दिरमा क्षमा पूजा गरिएको श्री चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषका अध्यक्ष बिमलमान श्रेष्ठले जानकारी दिए । जात्रा हुन नसकेपनि मूर्ति निकाली नजिकैको महाङ्काल भैरवस्थानसम्म घुमाएर ल्याइएको उनले बताए।

कोरोना भाइरसको सङ्क्रमण अन्त्य भई विश्व शान्ति कायम होस् भन्ने सङ्कल्पले मन्दिर परिसरमा शतचण्डी पाठ भइरहेको छ । कान्तिभैरव गुरुकुल उत्तरवाहिनीका सात ब्राह्मण वटुकले शतचण्डी पाठ गरिरहेका जनाइएको छ । चैत्र शुक्ल नवरात्रको अवसर पारेर प्रतिपदादेखि शुरु गरिएको शतचण्डी द्वादशीका दिन सकी हवनसमेत गरिने जनाइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : २९ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका