बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर « Khabarhub

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन ।

बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ । त्यसको प्रत्यक्ष असर पर्यटन, व्यापार र सर्वसाधारणको जीवनमा पर्न गएको छ ।

यही असोज ११ गतेको कालीगण्डकीको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्कविच्छेद भएको छ । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा त्यसको प्रभाव बागलुङको पर्यटन व्यवसायमा परेको छ ।

पर्यटकीय गन्तव्यमा जाने पर्यटकका लागि बागलुङ प्रवेशद्वारका रूपमा रहेको छ । होटल व्यवसायी एन्जील शाक्यले दसैँको मुखमा होटलमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि सुनसान रहेको बताए ।

‘मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो’, उनले भने, ‘पुल सञ्चालनमा आउन जति ढिला हुन्छ, होटल व्यवसायी त्यति नै मारमा पर्छन् । वैकल्पिक बाटोबाट पर्यटक कमै आउने गरेका छन् । मुस्ताङ जाने सडक र मालढुङ्गा पुल नखुल्दासम्म होटल व्यवसायमा ठूलो नोक्सानी हुने देखिन्छ ।’

भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गा भएकाले यहाँको सडक अवरोधले बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनमा असर पारेको छ ।

वैकल्पिक मार्गले बढायो ढुवानी खर्च

मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको व्यवसायीको भनाइ छ । यसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्न थालेको छ ।

ग्यास ढुवानीमा वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर १५० देखि १७० सम्म अतिरिक्त ढुवानी खर्च लाग्न थालेको ग्यास विक्रेता हरि आचार्यले बताउनुभयो । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्य १०० ले बढाउनुपरेको उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा समयमै आपूर्ति हुन नसकेपछि बागलुङमा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुनसकेको छैन ।

मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा असर परेको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानैपर्ने सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।
 
दसैँअघि पुल सञ्चालनको तयारी

सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक बाढीले क्षति पुर्‍याएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कविच्छेद भएको हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङसँगै पूर्वीरुकुम र रोल्पातर्फ जाने यातायात प्रभावित भएको छ । पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ८ : ४६ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान