काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमित छैटौं व्यक्ति पनि बागलुङकै भएको खुलेको छ ।
यसअघि पाचौं संक्रमित युवती पनि बागलुङकै थिइन् । छैठौँ संक्रमित ६५ वर्षीया महिला बागलुङ नगरपालिका–३ बागलुङकी रहेकी छन् ।
उनी पनि काठमाडौं र बागलुङकै दुई युवतीसँगै चैत्र ४ गते नै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आएकी थिइन् ।
कान्छा छोरालाई भेट्न बेल्जियम गएकी उनी बेल्जियमबाट नेपाल फर्कने क्रममा बागलुङकै संक्रमित युवतीसँग कतार आएपछि ट्रान्जिटका बेला दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवतीसँग भेटघाट भएको खुलेको छ ।
स्वास्थ्य अधिकारीहरुले दोस्रो संक्रमित, पाँचौँ संक्रमित र छैठौँ संक्रमितबीच कतारको ट्रान्जिटमा भएको भेटवार्ता नै कोरोना संक्रमण भएको हुनसक्ने आकलन गरिरहेका छन् ।
६५ वर्षीया संक्रमित महिलाले आफूलाई काठमाडौं र बागलुङकै युवतीले नेपाल आउनलाई सहयोग गरेको बताएकी आफन्तले बताउन थालेका छन् ।
बानपा–३ की यी महिलामा कुनै पनि प्रकारको लक्षण देखिएको छैन । उनलाई बागलुङ अस्पतालमा ल्याउने तयारी गरिएको छ ।
सरकारी अधिकारीहरुले अहिलेसम्म संक्रमण देखिएका नेपालीहरु कतार र यूएईबाट आएका भएकाले उनीहरुसँगै जहाजमा आएका सबैलाई जसरी भए पनि सम्पर्कमा ल्याउने तयारी थालेका छन् ।
प्रतिक्रिया