काठमाडौं- गत आर्थिक वर्षमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
मन्त्रालयअन्तर्गत १४ आयोजना सम्पन्न हुँदा एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएका छन् ।
मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायले आव २०७६/७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा सहसचिव अरुण सिंखडाले गत आवमा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको बताए ।
बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिसमेत सहभागी थिए ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी विभागअन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रमको भौतिक प्रगति ८७, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ र सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको महानिर्देशक सुनिलकुमार दासले जानकारी दिए ।
त्यसैगरी बैठकमा राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलव ८८ प्रतिशत रहेको बैठकमा जानकारी गराइयो । मेलम्ची आयोजनाले गएको आवको अवधिमा हेडवर्कस डाइभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवर्कसको काम ७० प्रतिशत सकिएको जनाएको छ ।
आव २०७६/७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनामध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५३४ जनसङ्ख्या लाभान्वित भएका छन् । तेस्रो साना सहरी खानेपानी आयोजनाअन्तर्गत दुई आयोजना सम्पन्न भई ५० हजार ५७० लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रमअन्तर्गत निर्माणाधीन ६१ आयोजनामध्ये चारवटा सम्पन्न भई करीब ६१ हजार ७४३ जनसङ्ख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिए ।
खानेपानीमन्त्री बीना मगरले सबै नागरिकमा खानेपानी र सरसफाइको पहुँच विस्तारको लक्ष्य पूरा गर्न अझै मिहिनेत गर्नुपर्ने बताइन् । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्नु जरुरी रहेको उनको भनाइ छ ।
खानेपानी तथा सरसफाइको क्षेत्रमा दीर्घकालीन ‘रोड म्याप’ तयार गरेर मन्त्रालय अघि बढेको उनले बताइन् ।
“गत आर्थिक वर्षमा हामीले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्यौँ”, उनले भनिन्, “यो चालू आर्थिक वर्ष हाम्रा लागि चुनौती र अवसरको हुनेछ ।”
राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले पन्ध्रौँ योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखहरुलाई निर्देशन दिए ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले गत आवमा राम्रो उपलब्धि हासिल गरेको बताए । उनले सरकारले लिएको ‘एक घर, एक धारा’को नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर मन्त्रालय अघि बढेको स्पष्ट पारे ।
प्रतिक्रिया