काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपा एक नम्बर अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
बिहीबार बस्ने सचिवालय बैठकअघि ओली र दाहालबीच आज करिव २ घण्टा भेटवार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका एजेन्डाबारे छलफल भएको बताइएको छ।
यसअघि भदौ १३ गतेका लगि तय भएको सचिवालय बैठक कोरोनाभाइरसको प्रकोपका कारण रोकिएको थियो । सचिवालय सदस्य उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण बैठक सारिएको थियो।
बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ।
यस्तै अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिने भएपछि नयाँ अर्थमन्त्रीसहित मन्त्रिपरिषद् फेरफेरको विषयमा पनि छलफल गर्ने तयारी भएको छ ।
यस्तै राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य बामदेव गौतमलाई बनाउने गत फागुनको सचिवालय बैठकको निर्णय कार्यान्वयनका विषयमा पनि ओली-दाहालबीच छलफल भएको स्रोतले बताएको छ ।
ओलीले खतिवडालाई नै फेरि राष्ट्रियसभा सदस्य बनाउने चाहाना राखेको बताइरहँदा उपाध्यक्ष वामदेव गौतमले यसअघि पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिएपछि ओली दबाबमा परेका छन् ।
प्रतिक्रिया