काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना भएका छन् ।
टिचिङ अस्पतालको नेफ्रोलोजी विभागका चिकित्सहरुको टोलीले प्रधानमन्त्री ओलीको भोली (बुधबार) दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पुरा गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्राडा उत्तम शर्मा, प्राडा प्रेमराज ज्ञवाली, डा पवन चालिसेसहित ६ जना सर्जन, २ जना एनेस्थेसिस्ट, ८ जना नर्सिङ स्टाफ तथा पारामेडिक्सको टोली छ ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्न प्रधानमन्त्रीकी भान्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवाली पनि अस्पतालमा भर्ना भइसकेकी छन् ।
सोमबार अस्पताल भर्ना हुनुभन्दा अगाडी भिडियो संदेश मार्फत प्रधानमन्त्री ओलीले आफु दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको जानकारी दिइसकेका छन् ।
सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली अहिले टिचिङ अस्पतालको नेफ्रोलोजी वार्डमा भर्ना भएका छन् । मिर्गौला पत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र प्रत्यारोपणअघि गर्ने तयारीबारे अस्पताल र चिकित्सकहरुले कुनै जानकारी सार्वजनिक गरेका छैनन् । तर, आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराउने जनाएको छ ।
यद्यपी हामीले मिर्गौला रोग विशेषज्ञहरुसँग दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा मिर्गौला प्रत्यारोपणको लागि बिरामी र मिर्गौला दिने व्यक्तिले पुरा गर्नुपर्ने स्वास्थ्य परीक्षणबारे कुराकानी गरेका छौं ।
किस्ट मेडिकल कलेजका कन्सलटेन्ट सर्जन न्युरोलोजिष्ट (मिर्गौला रोग विशेषज्ञ) डाक्टर नारायण भुसालले मिर्गौला प्रत्यारोपण गर्नु पूर्व अस्पतालमा हुने तयारीबारे खबरहबलाई जानकारी दिएका छन् ।
डा भुसालसँग गरिएको कुराकानीमा आधारित :
मिर्गौला प्रत्यारोपण गर्नुअघि गरिने जाँच
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । कुनै पनि मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको अस्पतालमा भर्ना हुनुभन्दा अगाडी नै सबै प्रक्रियाहरु पुरा गरिएको हुन्छ ।
भर्ना गर्नु भनेको प्रत्यारोपणका लागि सबै प्रक्रियाहरु पुरा भएर शल्यक्रियाका लागि नै अस्पताल भर्ना हुने हो । भर्ना गर्नु अगाडी नै सम्पूर्ण जाँचहरु जस्तै मिर्गौला दिने व्यक्ति (डोनर) र मिर्गौला लिने व्यक्तिको सबैभन्दा पहिला ब्लड ग्रुप मिल्नुपर्छ ।
त्यसैले मिर्गौला लिने र दिने दुवैको ब्लड ग्रुपको जाँच गरिन्छ । त्यसपछि सबैभन्दा महत्वपूर्ण जाँच क्रसम्याच हो ।
ब्लड ग्रुपसँगै क्रसम्याच पनि गरिन्छ । क्रसम्याच भनेको मिर्गौला लिने व्यक्तिको रगतमा मिर्गौला दिने मान्छेको मिर्गौलाको विरुद्धमा एन्टीबडि छ कि छैन भनेर जाँच गर्नु हो । यदि मिर्गौला लिने व्यक्तिमा दिने व्यक्तिको मिर्गौलाको विरुद्धमा हुने एन्टिबडी छ भने त्यस्तो मिर्गौला प्रत्यारोपण गर्न मिन्दैन ।
प्रधानमन्त्री ओलीका लागि मिर्गौला दिने व्यक्तिसँग क्रस म्याच भइसकेको छ । प्रधानमन्त्री ओलीमा अहिले कुनै पनि संक्रमणहरु भएको हुनु हुँदैन । सम्पूर्ण शरीर जस्तै नाक, कान, घाँटीको , पेट, पिसाबमा संक्रमणको स्रोतहरु हुनु हुँदैन ।
शरीरमा घाउँहरु पाकेको हुनु हुँदैन । सबै जाँच गर्नुपर्छ । यस्तै भाइरल रोगहरु एचआइभी, हेपाटाइटिस हुनु हुँदैन । मिर्गौला प्रत्यारोपण पछि कडा खालको औषधि दिइन्छ ।
त्यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । त्यसैले मिर्गौला प्रत्यारोपण गर्नु अघि नै संक्रमण देखियो भने मिर्गौला प्रत्यारोपण पछि झनै संक्रमण बढ्ने खतरा हुन्छ । संक्रमण देखिदा मिर्गौला प्रत्यारोपण सम्भव हुँदैन ।
यस्तै प्रधानमन्त्रीमा कुनै पनि किसिमको सक्रिय क्यान्सर हुनुहुदैन । क्यान्सर भएको अवस्थामा शल्यक्रिया गर्दा क्यान्सर झनै फैलिने सम्भावना हुन्छ । यस्तै मुटु, फोक्सो, कलेजको सबैको जाँच गरिन्छ ।
प्रधानमन्त्रीलाई सबै जाँच गरेर कुनै संक्रमणहरु नदेखिएकाले नै प्रत्यारोपणको तयारी गरिएको हो ।
केके जाँच गरिन्छ ?
प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेर नै मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।
प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि नियमित डायलाइसिस गर्दै आएका छन् । मिर्गौला प्रत्यारोपण अघि पनि प्रधानमन्त्री ओलीलाई डायलाइसिस गरिने डा.भुसाल बताउँछन् ।
‘अस्पताल भर्ना भएपछि अहिले गर्ने भनेको प्रत्यारोपण अघि डायलाइसिस गर्ने हो,’ डा भुसालले खबरहबसँग भने, ‘प्रत्यारोपण अघि हामीले बिरामीको डायलाइसिस गर्ने गछौं । प्रधानमन्त्रीको पनि आज डायलाइसिस गरिएको छ ।’
मिर्गौला प्रत्यारोपण अघि यस्तो तयारी हुन्छ
अस्पताल भर्ना भएपछि अप्रेसन गर्नुभन्दा अगाडी रगतमा टक्सिनको मात्र कम गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रत्यारोपण डायलाइसिस गरिन्छ । त्यसलाई प्रि ट्रान्सप्लान्ट डायलाइसिस भन्छिन् । यस्तै अस्पतालमा भर्ना भएपछि मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिको रगतमा ब्लिडिङ पारामिटर हेरिन्छ ।
ब्लिडिङ पारामिटर जाँच गर्दा शल्यक्रियाको क्रममा कति रगत बग्ने सम्भावना हुन्छ भनेर थाहा पाइन्छ । त्यसैले कुनैपनि शल्यक्रिया गर्नुअगाडी ब्लिडिङ पारामिटर जाँच गरिन्छ ।
यस्तै शरीरमा सोडियम, पोटासियम, युरिया, क्रियाटिनिन हेरिन्छ । शरीरमा हेमोग्लोबिन कति मात्रामा छ ।
क्याल्सियमको मात्रा के छ भन्ने हेरिन्छ । यस्तै सीबीसी (कम्प्लिट ब्लड काउन्ट) गरिन्छ । मिर्गौला प्रत्यारोपण गर्नु अगाडी यो सबै जाँच गरिन्छ । केही अनियन्त्रित छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ ।
मिर्गौला दिने व्यक्ति मिर्गौला दिनका लागि योग्य छ भनेर नै छनोट भइसकेको हुन्छ । मिर्गौला दिने व्यक्तिले मिर्गौला झिक्नुभन्दा ६ देखि ८ घण्टा खाली पेट बस्नुर्छ ।
प्रधानमन्त्री ओली पनि प्रत्यारोपणका लागि शल्यक्रिया गर्नुभन्दा ६ घण्टा अगाडी नै खाली पेटमा बस्नुपर्छ ।
पानी भने शल्यक्रियाको दुईघण्टा अगाडीसम्म खान मिल्छ । मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी एटीजी (एन्टाइ थाइमोसाइड ग्लोवोलिन) दिइन्छ । त्यो एकदमै हाइ डोज औषधि हो । यो औषधिले मिर्गौला दिने व्यक्तिको मिर्गौला रिजेक्सन हुनबाट रोक्छ ।
रिजेक्सन भनेको मिर्गौला दिने व्यक्तिको मिर्गौला लिने व्यक्तिको शरीरले अस्वीकार गर्नु हो । पहिला नै क्रस म्याच भएको व्यक्तिको मिर्गौला पनि रिजेक्सन हुने सम्भावना हुने भएकाले प्रत्यारोपण अगाडी मिर्गौला लिने व्यक्तिलाई रिजेक्सन रोक्ने हाइ डोजको औषधि दिइन्छ । यो औषधि प्रत्यारोपणको ५ देखि २ घण्टा अगाडी दिइन्छ ।
यो औषधिले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम गराउँछ । त्यसैले मिर्गौला प्रत्यारोपण गरेको बिरामीले संक्रमणबाट बच्नुपर्छ । संक्रमण भयो भने निमोनिया हुने जोखिम हुन्छ ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नु र पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुमा खासै फरक हुँदैन । प्रधानमन्त्री ओलीको पहिलो पटक दाँया तर्फ प्रत्यारोपण गरिएको हो भने अब बाँया तर्फ प्रत्यारोपण गरिदै छ । जसले गर्दा यो पनि नयाँ अप्रेसन जस्तै नै हुन्छ ।
मिर्गौलाको सफल प्रत्यारोपण भयो भने बिरामी ५ देखि ७ दिनमा हिडेरै घर जान सक्छ । तर पहिलो पटक प्रत्यारोपण गरिएको हुँदा रेजिक्सनको रिक्स हाइ हुने भएकाले विशेष ख्याल भने गर्नुपर्छ ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले एक महिना आराम गर्नुपर्छ । किनकी प्रत्यारोपण पछि हाइ जोडको औषधि दिइएको हुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ ।
विशेषगरी भिडभाड र संक्रमण हुने स्रोतबाट बच्नुपर्छ । समय समयमा रगत जाँच गरिरहनु पर्छ । एकमहिना राम्रोसँग आराम नै गर्नुपर्छ ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री ओलीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गराइयो, राति १० बजेपछि खाली पेट बस्ने
प्रतिक्रिया