‘धनी व्यक्ति बँगुर हुन गरिब व्यक्ति फ्याउरा हुन्,’ यो भनाई दुई दशक अघि तिर हामीहरुले तालिममा खुव प्रयोग गर्दथ्यौं । यो विचार कुनै सामूदायिक सशक्तिकरणको क्षेत्रमा कार्यरत विद्धानको भनाई भन्दै छलफल रोचक बनाउने प्रयास हुन्थ्यो ।
बँगुर ढुक्क बस्छ । उसँग ठुलो क्षमता छ । उसलाई मालिकले खान दिन्छ भन्ने कुरामा निश्चिन्त रहन्छ । उस्को काम मोटाउने मात्र हो । जुन मोटाइ मालिकको लागि फाइदाजनक हुन्छ । अरु चिन्ता लिनु पर्ने आवश्यक छैन । केही गरी उसलाई खाना दिएन भने आफै खोज्न सक्ने क्षमता भने छैन । एकै पटक उसको जीवन डामाडोल पनि हुन सक्छ । त्यता तिर उसले खासै ध्यान दिदैन वा दिन चाहँदैन । उसको एक मात्र विशेषतामा दक्षता प्राप्त गरिसकेको हुन्छ ।
तर फ्याउरो एकै ठाउँमा बस्दैन । उसले एकै ठाउँमा भने जति खान पनि पाउँदैन । उसको खाने बाटो एउटा मात्र हुँदैन । वल्लो गाउँ पल्लो गाउँ पखेरा घुमि हिड्छ । जे पाउँछ अली अली खाइखाल्छ । उ दुव्लो छ । जहिले पनि संकटमा तर उ खान नपाएर चाँही मर्दैन ।
वंगुरको जस्तो एक मात्र उपाय हैन फ्याउरासँग धेरै विकल्प हुन्छन् । धनी व्यक्ति वा मुलुकसँग एउटा ठूलो वुद्धि वा क्षमता हुन्छ । त्यसको प्रयोगवाट उ समृद्धि हासिल गरिरहन्छ । धनी व्यक्तिसँग ठुलो क्षमता हुन्छ । त्यसैका आधारमा जीवन सजिलै बिताएका हुन्छन् । काठमाडौंका घरधनीले घरभाडा लगाएर जीवन चलाए जस्तो ।
जापानसँग उपकरण सम्वन्धी ठूलो वुद्धि छ । त्यसैको प्रयोग गर्दछ धनी छ । त्यसै गरी अमेरिका पनि एक ठूलो शक्ति, क्षमता भएको राष्ट्र हो । त्यसैको सदुपयोगवाट शक्तिशाली बनेको छ ।
हाम्रो जस्तो गरिब देश र गरिब मान्छे फ्याउरा हुन् । हामीसँग साना साना तर धेरै विकल्प छन् । एउटा मात्र ठुलो वुद्धिमा क्षमता छैन । कुनै विषयमा विशेषज्ञता पनि हुँदैन । त्यसैले धनी मूलकको अर्थतन्त्र चौपट भए डावाडोल होला तर हामीजस्तो गरिब देशको अर्थतन्त्रमा चौपट भएर मर्नै पर्ने अवस्था नआउला ।
फ्याउरा जसरी नैं ग्रामिण जनजीवनका हरेक परिवारमा विभिन्न विकल्पहरु प्रयोग भैरहेको हुन्छ । २/४ कुखुरा, बाख्रा पालेका हुन्छौं । धेरथोर खेतीपाती सबैको हुन्छ । २/४ फलफूलको बोट नभएको घर नैं हुँदैन ।
सके घरमैं सानो तिनो पसल पनि चलाएकै हुनसक्छ । परिवारका एक जना जागिर पनि हुन सक्छन् । खेतीपातीमा पनि विविधता छ । यसले वाँच्नलाई कठिन छैन । तर विशेषज्ञता छैन । ठूलो क्षमता पनि देखिँदैन । अमेरिका र जापानमा एक घण्टा विजुली गएमा सवै कुरा चौपट हुन्छ तर हाम्रोमा ३ महिना वत्ति गयो भने पनि मरिँदैन ।
अस्ट्रेलियामा ट्वाइलेट पेपरको हाहाकार भयो ।तर नेपालको ग्रामिण क्षेत्रमा ३ महिना बाहिरबाट सामान गएन भने पनि भोकै मर्नु पर्ने अवस्था आउँदैन । ग्रामिण परिवेशमा आयात गर्नै पर्ने खाद्य सामाग्री भनेको नून मात्र हो ।
त्यसैले औद्योगिक केन्द्रित अर्थतन्त्र भएका र हाम्रो जस्तो अर्थतन्त्र भएकाबीचमा कोरोनोले पार्ने प्रभाव पनि फरक नैं हुन्छ । मासु र गुन्द्रुक जस्तै । मासु बिग्रे कामै नलाग्ने हुन सक्छ तर गुन्द्रुक सुकाएर फेरी काम लाग्न सक्छ ।
फ्याउरालाई दुःख भए पनि वाँच्न कठिन हुँदैन । जस्तै लकडाउनको अवधि र त्यस पछि पनि हामी नेपाली अझ ग्रामिण क्षेत्रमा वसोवास गर्नेलाई प्रलयकारी दुःख थपिदैन । तर हाम्रा केही गतिविधिहरुमा भने परिवर्तन हुन सक्नेछन् ।
लामो एकान्तवास पछि हामी कुनै न कुनै दिन बाहिर निस्कन्छौं । कोभिड १९ को विपद् नटर्ला तर हामी एकान्तबासबाट मुक्त पाउँछौ नैं । केही सामान्य अवस्था आए पछि सरकारले लकडाउनलाई केही खुकुलो पार्ला अनि हामी हाम्रा घरवाहिरका काम तिर लाग्नु पर्छ ।
मैले घर बाहिर निस्कन पाउने भनेको समयमा कोरोनाको लहर भने सकिएको हुँदैन । वैज्ञानिकहरुको भनाईलाई आधार मान्दा पनि भ्याक्सिन नबनी यो पूर्ण नियन्त्रणमा आउन सक्दैन । नियन्त्रणमा आए सामान्य बन्न एक वर्ष लाग्छ । यसको अर्थ कोरोना भाईरसको महामारीको रुप नआउने अवस्था देखिनासाथ सरकारले सचेत गरी काम कारवाही गर्न आव्हान गर्दछ । त्यो बेलामा हामी खुल्ला आकासको सडकका कार्यक्षेत्रमा जाँदा कस्तो अवस्था होला भन्ने कौतुहलता लागिरहेको छ ।
हाम्रो लवाइखुवाईमा परिवर्तन आउने छ । अनुहार चिन्न मुस्किल हुनेछ । सबैको अनुहार मास्कले ढाकेको हुनेछ । होटल तथा रेष्टुरेन्टमा गएर खाने मौका पाउन मुस्किल पर्नेछ । सायद धेरै होटल तथा रेष्टुरेन्ट बन्द भएका छन् । सार्वजनिक सवारीमा हुने भीडभाडमा कमी आउनेछ । हरेक घरका धारामा साबुन हुनेछ । सरसफाइमा सबैको ध्यान जानेछ । शौचालय सफा हुनेछ ।
विदेश जानेको संख्यामा कमी आउनेछ । विदेशी श्रमबजारमा भएका पनि स्वदेश फर्कनेछन् । उनीहरुसँग केही पैसाका साथमा सीप पनि हुनेछ । त्यस्तो व्यवसायिक सीप नभएकाले पनि गाउँमा केहि गर्छु भन्ने सोच लिएका आएका हुनेछन् ।
त्यो तागतको रुपमा आफ्नो भूमिमा प्रयोग गर्न लालयित हुनेछन् । यस्ता नेपाली नागरिक यूवा वर्गका नैं छन् । त्यसैले यी मध्ये आधाभन्दा वढिको ध्यान आफ्नो पुख्र्यौली व्यवसाय कृषिमा लाग्नेछन् ।
व्यवसायिक र यन्त्रमा आधारित कृषि व्यवसायको नयाँ फड्को मार्ने छ । यो कार्यका लागि स्थानीय सरकारले प्रयाप्त सहयोग र सहजिकरण गर्नेछ । संघीय र प्रदेश सरकारले समेत यसमा ध्यान हुनेछ । घरघर खेती खेतीमा सहयोग गर्ने विषयगत जानकार कृषि प्राविधिक उपलव्ध हुनेछन् ।
हेर्ने मात्र हैन परेको अप्ठेरोमा सहयोग गर्ने प्राविधिक उपलव्ध हुनेछन् । विधुत्मा हामी आत्मनिर्भर हुने बाटोमा छौं । अव कृषि उपजमा आत्मनिर्भर हुने मौका मिलेको छ । संघीय कृषि मन्त्रालयले उद्घोष गरेको मार्ग चित्रलाई कार्यान्वयन गर्ने मौका मिल्नेछ । हाम्रो पुँजी र सीपले ठूला ठूला उद्योग सञ्चालन गर्न सक्दैनौं । हामीले गर्ने कृषिमा आधारित उद्यम पहिलो प्राथमिकतामा राख्नै पर्दछ ।
सडक खन्ने मात्र ध्यान जाने हाम्रो विकासवादी सोचमा केही परिवर्तन हुनेछ । अस्पतालमा लगानी हुनेछ । शिक्षामा समेत ध्यान जानेछ । कर्मचारीतन्त्रमा पनि जसरी पनि पैसा कमाउनु पर्दछ भन्ने मानसिकतामा भन्दा माथि उठ्नेछ ।
राजनीतिककर्मीलाई पनि राम्रै पाठ हुन सक्छ । विकास निर्माणका योजना वनाउँदा वातावरण मैत्री र सम्भावित विपद् पहिचान गरी सो को विविध पक्षमा ध्यान जानेछ । हाम्रा अग्रज तथा पुर्खाले व्यवहारिक रुपमा लागु गरेका सावुन नहुँदा माटोले हात धुने, वाहिरवाट आए पछि आगो छोएर मात्र केटाकेटी समाउने, लुगा फेरेर खाना खाने सकेसम्म स्वयंपाक्य भोजन गर्ने, मान्छे मरेको १३ दिनसम्म कोरामा वस्ने जस्ता कुराहरुको वैज्ञानिक महत्व पछिल्लो पुस्ताले समेत थाहा पाउने छन् ।
पछिल्लो बालपुस्ताले “उहिलेका कुरा खुइले” नभनी केही हदसम्म अनुशरण गर्नु पर्ने रहेछ भन्न थाल्नेछन् ।
जे भए पनि लकडाउन पछि हामी हरेकले हिजोको भन्दा केही न केही फरक गतिविधि गर्नै पर्ने हुन्छ । बानी व्यहोरामा परिवर्तन ल्याउनैं पर्दछ । परिवर्तन हुन्छ नैं । हामी हरेकले आफ्नो भूमिका र प्रतिवद्धता खोजी गर्नै पर्दछ । हामी वँगुर होइन फ्याउरा हौं । सुखले नभए पनि दुःख नैं सहि वाँच्न कठिन छैन ।
प्रतिक्रिया