बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलाको आएको बाढीले बेपत्ता भएकामध्ये १२ जनाको शव फेला परेको छ ।
बाढीमा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ताको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घटनास्थलको क्षेत्र ठूलो हुँदा सुरक्षा निकाय र स्थानीयवासीलाई उद्धारमा समस्या भएको छ ।
बाह्र जनाको शव क्षतविक्षत फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।
बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ । बाढीले स्थानीय विद्यालय, लघु जलविद्युत् तथा झोलुङ्गे पुलसमेत बगाएको छ ।
शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये एकको मात्रै पहिचान भएको छ । कसैको खुट्टा त कसैको टाउको चुँडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेका छन् । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीको बताएको छ । अविरल वर्षासँगै बुधबार राति १२ बजे आएको बाढीले बस्ती बगाएको हो ।
तीन शव गुल्मीमा
बागलुङको ढोरपाटनमा बाढीले बगाएर हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ ।
मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए ।
बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५-४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ ।
उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ ।
बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।
प्रतिक्रिया