यी हुन् ‘एन्टिजेन परीक्षण’बारे बुझ्नैपर्ने पाँच कुरा « Khabarhub

यी हुन् ‘एन्टिजेन परीक्षण’बारे बुझ्नैपर्ने पाँच कुरा



काठमाडौँ– सरकारले काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन तत्काल परिणाम दिने एन्टिजेन परीक्षण सुरु गरेको जनाएको छ।

उक्त परीक्षणका आधारमा काठमाण्डूमा “समुदायमा सङ्क्रमणको अवस्था” पत्ता लाग्ने अधिकारीहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाण्डूमा तीन हजार जनामा यस्तो परीक्षण गरिनेछ।

सोमवारदेखि सुरु गरिएको यस्तो परीक्षण काठमाण्डूका विभिन्न भागमा भइरहेको छ।

तर समुदायमै पुगेर गरिएको भनिएको यस्तो परीक्षणमा सहभागी हुनेहरू कम देखिएको कतिपय अधिकारीहरूले बताएका छन्।

उनीहरूका भनाइमा यस्तो परीक्षणको प्रतिवेदन कागजी रूपमा नपाइने हुँदा पनि कतिपयको आकर्षण नभएको हो।

यद्यपि काठमाण्डू महानगरपालिकामा यस्तो परीक्षण भइरहेका वडाका वडाध्यक्षहरूले चाहिँ परीक्षणमा सहभागिता उल्लेख्य रहेको बताएका छन्।

एन्टिजेन परीक्षणबारे तपाईँले थाहा पाउनुपर्ने पाँच मुख्य कुरा:

१. तत्कालै नतिजा थाहा हुने

यो परीक्षणमा पीसीआर विधिमा जस्तो लामो समय नलाग्ने र तत्कालै परीक्षणको नतिजा आउने अधिकारी र चिकित्सकहरू बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यस्तो परीक्षण गरेको आधा घण्टाभित्र नतिजा आइसक्छ।

उनका अनुसार पीसीआरमा नतिजा आउन कम्तीमा आठ घण्टा लाग्ने गर्छ।

चाँडै नतिजा आउने भएकाले सङ्क्रमित पत्ता लगाउन सजिलो हुने र सङ्क्रमितलाई आइसोलेशनमा राख्न सकिने उनी बताउँछन्।

२. सहजै र जहाँसुकै परीक्षण गर्न सकिने

अधिकारीहरू र चिकित्सकहरू यो परीक्षण सहजै र जहाँसुकै गर्न सकिने बताउँछन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुनका अनुसार यस्तो परीक्षणका लागि प्रयोगशालाको आवश्यकता पनि पर्दैन।

शङ्का लागेको व्यक्तिको स्वाब लिएपछि त्यसलाई पीसीआरका लागि निश्चित तापक्रममा राखेर प्रयोगशालासम्म पुर्‍याउनुपर्छ।

तर यो परीक्षणमा स्वाबलाई ठाउँको ठाउँ एउटा परीक्षण कीटमा राखेर केही क्षणमै नतिजा थाहा पाउन सकिने उनी बताउँछन्।

महिलाले गर्भवती भए/नभएको परीक्षण गरेजस्तै गरी यसलाई परीक्षण गर्न सकिने चिकित्सकहरूको भनाइ छ।

३. भाइरस शरीरमा भए/नभएको हेरिने

कतिपयले एन्टिजेन परीक्षणलाई पनि नेपालमा सुरुमा भित्र्याइएको आरडीटी परीक्षण विधिजस्तै ठान्ने गरेका छन्।

तर आरडीटी र एन्टिजेनमा निकै फरक रहेको चिकित्सकहरू बचाउँछन्।

आरडीटी परीक्षणमा शरीरमा कोरोनाभाइरससँग लड्ने एन्टिबडी विकास भएको छ कि छैन भनेर हेर्ने गरिन्छ।

एन्डिजेन परीक्षणमा भने भाइरस नै छ कि छैन भनेर हेरिने उनीहरूको भनाइ छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. वासुदेव पाण्डे यो परीक्षणमा शरीरमा भाइरसको तत्त्व छ कि छैन भनेर हेरिने बताउँछन्।

डा. पुनका अनुसार यसमा भाइरसको प्रोटिन हेर्ने गरिन्छ र त्यसैका आधारमा सङ्क्रमित पत्ता लाग्ने गर्छ।

४. प्रभावकारी कति छ?

यो विधिबाट परीक्षण गर्दा शतप्रतिशत निश्चित हुन भने नसकिने चिकित्सकहरूको भनाइ छ।

एकजना जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे तत्कालै आवश्यक पर्दा मात्र यो परीक्षण उपयुक्त हुने बताउँछन्।

“यसले सीटी भ्यालू ३० भन्दा बढी भएको देखाउँदैन भनिएको छ। यद्यपि यो पनि विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएकै परीक्षण विधि हो। तर ३० सीटी भ्यालू माथि नदेखाउने भनेको भर्खरै सङ्क्रमण भएको व्यक्तिलाई सङ्क्रमण नभएको देखाउने सम्भावना रहन्छ।”

“त्यस्तो अवस्थामा उक्त व्यक्तिबाट अन्यलाई सङ्क्रमण सर्ने सम्भावना कायमै रहन्छ।”

सरकारले पनि त्यसै कारणले गर्दा लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि पीसीआर गराउनु पर्ने सिफारिस गर्ने निर्देशक डा. वासुदेव पाण्डे बताउँछन्।

५. शल्यक्रिया, समुदायमा सङ्क्रमण हेर्न र नाकामा परीक्षणका लागि उपयुक्त

यो परीक्षण विधि आमपरीक्षणका रूपमा नभई तत्कालको तत्कालै रिपोर्ट चाहिने स्थानमा उपयुक्त हुने सरकारी अधिकारीहरू र चिकित्सकहरू बताउँछन्।

जनस्वास्थ्यविद् पाण्डेका अनुसार अस्पतालहरूमा अन्य रोग लागेका र तत्कालै शल्यक्रिया गर्नुपर्नेका हकमा यो उपयुक्त हुने देखिन्छ।

त्यस्तै समुदायमा सङ्क्रमण फैलिएको छ कि छैन भनेर हेर्न पनि यसलाई प्रयोग गर्न सकिने र हाल सरकारले पनि त्यसैका लागि उपयोग गरिरहेको उनी बताउँछन्।

पाण्डे विभिन्न नाकाहरूमा मानिसहरूलाई तत्कालै परीक्षण गर्नुपर्ने हुँदा पनि यो उपयुक्त हुने ठान्छन्।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ४५ बजे

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको