सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स – २’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएको देखिएको छ ।
स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो । त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो ।
यो प्रकारको परीक्षण देश, काल र परिस्थिति अनुसार फरक फरक परिणाम दिने खालको हुन्छ । त्यस्तै स्याम्पललाई फ्रिजमा राख्दा एउटा रिपोर्ट र बाहिर राख्दा अर्को रिपोर्ट आएको धेरै अध्ययनले बताएका छन् ।
त्यस्तै २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो । यो सस्तो एबम सजिलो अध्ययन हो। नेपालजस्तो गरिब देशको लागि यो बिधि उपयुक्त मोडेल हो ।
हामीकहाँ गरिएको सानो स्याम्पल साइजको आधारमा कोरोना संक्रमणको अनुमान गर्न गाह्रो हुन्छ। यदि बिभिन्न ल्याबले सहरका करिब २०० ठाउँमा ढलको पानी वा फोहोर परीक्षण गर्ने हो भने संक्रमण समुदायमा फैलिएको छ कि छैन भनेर अनुमान गर्न सकिन्छ ।
संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्था अर्थात संक्रमण भएको ३-६ दिनसम्म धेरै मात्रामा भाइरस बोकेको हुन्छ ।
त्यो समुहमा केहि प्रतिशत व्यक्तिले दिशाबाट कोरोना भाइरस / भाइरसका टुक्रा / भाइरसको फोहोर बिसर्जन गर्दछन । खासगरि वान्ता, पखाला लगायत पेटको लक्षण देखिएका बिरामीबाट यो उत्सर्जन हुन्छ।
सहरका अधिकांश भागमा ढलको फोहोर वा ढल मिसिएको पानीमा RT – PCR टेस्ट गर्दा RNA Virus देखियो भने उक्त सहरमा आगामी ७-१० दिनमा प्रकोप फैलिन्छ भन्ने प्रक्षेपण गर्न सकिन्छ।
यस्तो अवस्थामा आम नागरिकले पूर्ण सतर्कता अपनाउने तथा सरकारले उपचार ब्यबस्थापन गर्ने हो भने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ।
अन्त्यमा, यो २ ठाउँको सीमित परीक्षणको आधारमा डर मान्नुपर्ने अवस्था छैन। सरकारी तथा नीजी ल्याब एवम् अनुसन्धान केन्द्रहरुले जतिसक्यो धेरै ठाउँमा परीक्षण गरेमा सम्भावित महामारीको पूर्व अनुमान गर्न सकिन्छ ।
सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालले सुरुवात गरेकोमा हार्दिक धन्यबाद ।
प्रतिक्रिया