कोरोनाग्रस्त युरोप जहाँ मलामी छैनन् | Khabarhub Khabarhub

कोरोनाग्रस्त युरोप जहाँ मलामी छैनन्


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे तीन महिनाअघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको लडाइँमा यतिबेला चीन एक्लो छैन, सिंगो विश्व भगीरथ प्रयत्नका साथ संघर्षरत छ ।

डिसेम्बरको अन्तिमदेखि लगभग जनवरीभर कोरोनाकाविरुद्ध एक्लो देखिएको चीन अहिले महामारी करिब नियन्त्रणको अवस्थामा पुगेको छ ।

चीन एक्लै संघर्षरत हुँदा प्रतिक्रियात्मकजस्ता देखिएका मुलुकहरू अहिले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि युद्धस्तरमा लागिपरेका छन् । तैपनि पनि मानवजातिका पक्षमा अपेक्षित सफलता हात लाग्न सकेको छैन ।

कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौँ मानिसको खुसी खोसिएको छ ।

प्राण गुमेपछि फेरि जीवनको परिपूरण सम्भव छैन । यो शाश्वत सत्यलाई अधुनिक विज्ञानले समेत चुनौती दिन सकेको छैन । गुमेको प्राण फेरि भर्न नसके पनि आयु लम्ब्याउन भने चिकित्सा विज्ञानले ठूलै मद्दत गरेको छ ।

कोरोना भाइरसको भने भरपर्दो उपचार नहुँदा वैज्ञानिकहरू रातोदिन औषधि र खोपको खोजिमा तल्लीन छन् ।

तीन महिनामा कोरोना भाइरसको संक्रमण २०८ भन्दाबढी मुलुकमा पुगिसकेको छ ।

संसारभर १२ लाख ७२ हजार हाराहारी मानिस कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालका शैयामा थलिँदा आफन्तमा छटपटी व्याप्त छ ।

६९ हजार भन्दाबढीले त संसार छाडिसकेका छन् । तीनका परिवार शोकमा छन्, नाटकीय ढंगले आफ्ना नागरिकको मृत्यु भएपछि कतिपय मुलुक नै शोकमा छन् ।

कोरोना भाइरसको उद्भव मानिएको चीनमा ज्यामितीय ढंगले बढेको संक्रमण १५ दिनयता करिब नियन्त्रणमा छ । उता युरोपका इटाली, स्पेन, फ्रान्स, जर्मनीसमेत र विश्वमहाशक्ति अमेरिका हायलकायल छन् ।

कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङमा शनिबार अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी सातासम्मको अवस्थालाई गम्भीररूपमा चित्रत गर्दै भनेका छन्, ‘शायद यस साता र अर्को साताबीच सबैभन्दा कठिन समय हुनेछ । दुर्भाग्यवस धेरैको मृत्यु पनि हुनेछ, सावधानी अपनाइए केही कम हुन सक्छ तर मृत्यु निश्चित छ ।’

ट्रम्पको उक्त भनाइले नै अमेरिकामा नौ/दश हजारमा मात्र होइन अरू धेरैको ज्यान जाने संकेत गर्छ ।

विश्व स्वास्थ्य संगठनले भन्दै आएको कोरोना भाइरसको ‘इपिसेन्टर’ अमेरिका सरेको संकेत देखिएको छ तर अहिले पनि युरोपलाई कोरोनाले गाँज्न छाडेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आएका सबै सूचना सत्य हुन् भने युरोपका पनि मूलतः इटाली, स्पेन, जर्मनी र फ्रान्समा त मलामी नै छैनन् । आफन्त गुम्दा परिवारकै सदस्य दाहसंस्कारमा छैनन् । अर्कातर्फ ‘लकडाउन’ ले जनजीवन नै अस्तव्यस्त अवस्थामा पुगेको छ ।

इटालीका शवगृह भरीभराउ छन् । मृत्यु भएकाहरूको अन्तिम संस्कार पनि सुरक्षाकर्मीले सामूहिकरूपमा गर्ने गरेका छन् ।

इटालीमा करिब १६ हजार हाराहारी मानिसको मृत्यु भएको छ, १ लाख २९ हजार जति संक्रमित छन् ।

उपचार गराइरहेकामध्ये ४ हजारभन्दा बढी सिकिस्त रहेकाले मृतकको संख्या बढ्ने त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इटालीका शवगृहहरू भरिएका छन् । अस्थायीरूपमा अनेकौँ स्थानमा शव राखिएका छन् । अवस्था यस्तो छ कि शव बुझ्ने आफन्त कोही छैन । सैनिकले धेरै शव गाडेका दृश्यहरू देखिएका छन् ।

इटालीमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउने धेरै मानिससँग अन्तिम सास फेर्दा परिवारका सदस्य छैनन् । उनीहरूबाट हुनसक्ने संक्रमण रोक्न अस्पतालमा भेट प्रतिबन्ध लगाइएको छ ।

इटालीको क्रेमोनामा अन्तिम संस्कारका लागि शव तयार गर्ने काममा संलग्नहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘धेरै परिवारका सदस्यहरूले सोध्ने गर्छन्, हामी अन्तिमपटक प्रियजनलाई देख्न सक्छौँ ॽ तर, उनीहरूलाई अनुमति मिल्दैन, भाइरसको संत्रासले सबै भेटघाटमा प्रतिबन्ध लगाइएको छ ।’

सामान्यतया परिवारजनले निधन भएको व्यक्तिलाई मनपर्ने कपडा लगाइदिने, उसलाई सजाउने र अन्तिम संस्कार गर्ने परम्परा इटालीमा छ । अहिले अस्पतालले उपचार गर्दा लगाइदिएको गाउनमा शव गाड्ने गरिएको छ ।

कफिन बनाउने र संस्कार स्थलसम्म शव पुर्‍याउनेहरू भक्कानिने गरेका छन् ।

कफिनमा राखिएका शव सेनाले ट्रकमा हालेर सामूहिकरूपमा लगेर गाड्ने गरेको छ ।  जहाँ न आफन्त हुन्छन् न इष्टमित्र । मृतकका परिवारजन मन बाँधेर बस्न बाध्य छन् ।

युरोपकै अर्को मुलुक स्पेनको अवस्था पनि इटालीको भन्दा गतिलो छैन ।

इटालीमा भन्दा बढी संक्रमित रहेको स्पनेमा १२ हजार ५ सय हाराहारी मानिसको मृत्यु भएको छ ।

थोरै दिनमा यति धेरै मानिसको मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या भएको छ ।

त्यहाँका पनि शवगृहहरू भरिएपछि सार्वजनिक स्थलहरूमा अस्थायी शवगृह बनाइएका छन् ।

कोरोना भाइरसको संक्रमणले फैलिएपछि त्रासकै कारण पनि मानिसहरू अन्तिम संस्कारमा जान डराएका छन् । घरबाहिर रहेको परिवारको सदस्यलाई समेत घरमा डाक्ने हिम्मत छैन ।

संख्यामा तलमाथि मात्रै हो, फ्रान्स र जर्मनीको अवस्था पनि इटाली र स्पेनको भन्दा कम छैन ।

जर्मनीमा संक्रमितको संख्या बढ्दो छ । त्यहाँ १ लाख हाराहारी मानिस संक्रमित छन्, १५ सयभन्दा बढीको मृत्यु भएको छ ।

फ्रान्समा ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने ७ हजार ५ सयभन्दा बढीको ज्यान गएको छ । शव राख्ने ठाउँकै अभाव भएको खबर छ ।

सामान्य अवस्थालाई आकलन गरेर बनाइएका शवगृह खाली नभएपछि राजधानी पेरिसस्थित विश्वकै सबैभन्दा ठूलो थोक बजार रोँजिस इन्टरनेशनल अस्थायी शवगृहमा परिणत भएको छ ।

कोरोना भाइरसले ठूलो संख्यामा मानिसहरूको मृत्यु भएपछि यो बजारमा अस्थायी शवगृह बनाइएको हो ।

महामारीले शव बुझ्न आफन्त नपुग्ने भएपछि शवगृह चिस्याउने बन्दोबस्त गरिएको छ ।

विश्वभर कोरोनाबाट मृत्यु भएका ६८ हजार भन्दाबढी मानिसमध्ये युरोपका इटाली, स्पेन, फ्रान्स र जर्मनीका मात्रै ३७ हजार अर्थात कुल मृतकको ५५ प्रतिशत छन् ।

महामारीबीच युरोप फेरि उठ्ने कोशिसमा छ । अदृश्य शत्रुसँगको मुकाबिला जारी छ ।

एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ०० बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन