यूएईबाट रित्तै हात फर्किएका भन्छन्,- आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ « Khabarhub

यूएईबाट रित्तै हात फर्किएका भन्छन्,- आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो ।

संयुक्त अरब इमिरेट्स (युएइ)बाट एयर अरेबियाको जी ९:१७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ : ३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो ।

यूएईबाट फर्किएकामध्ये प्रदेश नं १ का ४१ इम्पिरियरमा र प्रदेश नं २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरू झर्दै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पीडा देखिन्थ्यो ।

एकाध व्यक्तिको हातमा मात्रै सुटकेश थिए, आउनेमध्ये अधिकांशको हातमा एउटा सानो झोलाबाहेक केही थिएन । रित्तै हात आउने कतिपयको खुट्टामा चप्पल, आङमा पुरानो टिसर्ट र हाफ पाइन्टमात्रै थियो । लाग्थ्यो उनीहरु विदेशबाट होइन, कतै कारखानामा मजदुरी गरेर फर्किरहेका छन् ।

यूएईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन् । विदेश जाँदा लिएको ऋण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना यूएईमै सेलाएर उनी रित्तै हात फर्किए। कारोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन । एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता गर्‍यो ।

नेपाल फर्कने टिकटसम्म लिने पैसा बल्ल जोहो गर्न सके, लिएर आए त केवल सिङ्गो शरीर । सहनी भन्छन्, ‘धेरै सपना बोकेर गएको थिएँ, ऋण तिरौँला, आमा, श्रीमती र सन्तानलाई नयाँ लुगा ल्यादिउँला, तर फर्किंदा रित्तो ज्यान लिएर आएको छु, आफ्नै देशमा फर्किन पाएँ, यसैमा आफूलाई भाग्यमानी ठानेको छु ।’

सप्तरी कञ्चनपुरकी सीतादेवी सतारको दुःख पनि कम छैन । घरमा छोराछोरी सासूको जिम्मेवारी श्रीमान्लाई सुम्पिएर नौ महिनाअघि यूएई पुगेकी उन एउटा घरमा काम गर्थे । विदेश जाँदा देखेका सारा सपना एउटा प्लाष्टिकको झोलामा पोको पारेर फर्किएकी उनी कोरोनाको कहरसँगै दुई महिना जेलमा बस्नु पर्‍यो ।

‘सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले जबर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जेल पठाइदिए’, उनले भने, ‘मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि पाउन्न भन्ने लागेको थियो, त्यहाँको सरकारले जेलबाट झिकेर नेपाल पठाइदियो, अब त बाँचियो, आफ्नै देशमा आएँ ।’

सर्लाही वाग्मतीका युवराज स्याङ्तान यूएई पुगेको छ महिनामात्रै भयो । एक कम्पनीमा हेल्परको काम गर्ने उहाँले जम्मा तीन महिना काम गर्न पाए । ऋण तिर्न त कहाँ हो कहाँ, तीन महिना काम गरेको पैसाले रोजगारी गुमेको तीन महिना खान र प्लेन भाडामात्रै पुगेको बताए । ‘सरकारले कहिले फर्काउला भनेर निकै कुर्‍यौँ, दूतावास धायौँ, कयौँ फोन गर्‍यौँ, बल्ल आफ्नो देश टेक्न पाउँदा उताको सबै दुःख भुलेर खुशी भएको छु, परिवार पनि बल्ल खुशी भए, ज्यान रहे ऋण त तिरौँला नि’, उनी खुशी र हिम्मतसँगै व्यक्त गरे ।

दुईवर्षअघि यूएई पुगेका बारा कलैयाका जीतेन्द्र सहनी कोरोना भाइरसका कारण डेढ महिनादेखि कामविहीन बनेका थिए । त्यहाँ हेल्परको काम गरेका सहनीलाई कोरोनाको महामारीले कम्पनी बन्द भएसँगै निकाल्यो ।

‘कम्पनी छाडेर जा, जहाँसुकै जा, कि अरु कम्पनी खोजेर भए पनि जा भनेर निकै दुःख दियो, यस्तो बेलामा कुन कम्पनीले काम लाउँथ्यो र !’ उनी भन्छन, ‘कति नेपाली सडकमा परेका छन्, कतिले खान पाएका छैनन्, नेपाल फर्कने बाटो कुरेर बसेका छन्, बल्लतल्ल म आफ्नो देश आएँ, अब त मरे पनि बाँचे पनि आफ्नै माटोमा आएँ, धेरै खुशी भाएको छु ।’

नेपाल आउँदा आफैंले भाडा तिरेर आएका उनले पेटभरि खानसमेत नपाएको बताए । ‘त्यहाँ कैयौँ नेपालीले पेटभरि खान पाएका छैनन्, कैयौँ अलपत्र छन्’, घरमा आमा, श्रीमतीसहित चार सन्तानले पर्खिरहेको बताउँदै उनी भन्छन्, ‘युएइको १५५० रुपैयाँ जहाज भाडा तिरेर म फर्किएँ, गोजीमा उताको १० रुपैयाँ बाँकी छ, कैयौँ नेपालीसँग जहाज भाडा तिर्ने पैसा पनि छैन, उनीहरु कसरी फर्कन्छन् खै ?, आज आफ्नै देशमा आउन पाएँ, धेरै खुशी भएको छु ।’

खाडी मुलुकबाट नेपाल फर्कने सबैको दुःख उस्तै थियो । धनुषा जनकपुरका हरिकिशोर चौधरी यूएई गएको पाँच महिनामात्रै काम गर्न पाए । त्यसपछि कोरोनाले काम बन्द भयो, आठ महिनाको बसाईँमा तीन महिना कामविहीन भएर अलपत्र परेँ । उनी भन्छन, ‘दुई वर्षको भिसा छ, पाँच महिनामात्रै काम गरेँ, जाँदा लिएको ऋण पनि तिर्न पाइनँ, युएइको १८५० रुपैयाँ जहाज भाडा तिरेर फर्किएँ, नेपाल आउन लागेको खबरले परिवार पनि धेरै खुशी छन्, सकुशल नेपाल फर्किन पाएँ, यसैमा धेरै खुशी लागेको छ ।’

भक्तपुरका दुई होल्डिङ सेन्टरमा रहेका प्रदेश नं १ र २ का उनीहरुको व्यक्तिगत विवरण लिने, तापक्रम नाप्ने कार्यमा नेपाली सेना वीरदल गण खटिएको थियो ।
उनीहरुलाई खाना खुवाएर एक घण्टाभन्दा बढी विश्राम गराएर राति १० : ४० मा प्रदेश पठाएको गणका गणपति एवं कर्नेल शिवप्रसाद पौडेलले जानकारी दिए।

यातायात व्यवसायी महासङ्घको दुईवटा बसमा हालेर उनीहरुलाई प्रदेश पठाएको थियो । शुक्रबार युएइबाट एक शिशुसहित १५५ पुरुष र १३ महिला गरी १६८ जना नेपाली कामदारलाई सरकारले उद्धार गरेर नेपाल ल्याएको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १ : १४ बजे

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको

तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो

दमौली– तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित