प्युरे पहिरो पीडित भन्छन्– हामी यो देशको नागरिक नै होइन जस्तो लाग्छ | Khabarhub Khabarhub

प्युरे पहिरो पीडित भन्छन्– हामी यो देशको नागरिक नै होइन जस्तो लाग्छ

दीर्घकालीन समाधान खोज्दै स्थानीय सरकार



इलाम– इलामको रोङ गाउँपालिका वडा नम्बर ४ प्युरेका टेकबहादुर मगर अपाङ्गता भएका व्यक्ति हुन् ।

२०७४ सालबाट अपाङ्गग बनेका उनी घरमा एक्लै बस्दै आएका छन् । जेनतेन गुजारा गर्दै आएका टेकबहादुरलाई वर्खायाम रमाइलो लाग्दैन । यसवर्षको वर्खा पनि उनका लागि समस्या बनेर आयो ।

एक्लै बस्दै आएको घरसमेत पहिरोका कारण भासिन थालेपछि अब कसरी बस्ने भन्ने उनको चिन्ता छ । मनसुनको सक्रियतासँगै केहि हप्ता अघिको अविरल वर्षाले उनको घरबारीमा ठूलो धाजाँ फाटेको छ ।

पहिरोले घर भएको जमिन फाटेपछि वर्षौदेखि बस्दै आएको उनको घर छिमेकीको सहयोगमा भत्काइएको छ ।

‘घरको खावो बाङ्गिएकोले घरको टीन उप्काउन गाउँको साथिभाइ डराए । पाँचवटा खावा लडेपछि घर भत्काइयो,’ उनले भने ।

दाजुको घरमा आश्रय लिदै आएका उनी अब स्थानीय सरकारले सहयोग गर्ला कि भन्ने आशमा छन् ।

भत्काइएको घर अगाडि उभिएका टेकबहादुर मगर ।

टेकबहादुरको जस्तै पीडा छ मनु बस्नेतको पनि । उनी अनिदो बसेको धेरै रात भयो । घरको बलेसी नै पहिरोका कारण भाँसिएपछि उनको निद्रा हराएको छ ।

‘आगनबाट भाँसिन शुरु भएको छ । कतिबेला पानी पर्छ र पहिरोले लाने हो भन्ने डरकाबीच सुन्तुपर्छ । निदाएको बेला ठूलो पानी आयो भने के गर्ने ?’ उनले भनिन्, ‘त्रासैत्रासका बीचमा बस्नुपरेको छ ।’

धस्केको आँगन देखाउँदै उनी भन्छिन् ‘मध्यरात १२/१ बजे तिर अलि ठूलो पानी आयो भने छिमेकीको तिर भाग्नुपर्छ ।’

इलाम र झापाको सीमानाको प्युरेमा रहेका स्थानीयले २०७३ साल देखिनै यो समस्या भोग्दै आएका छन् । करिब १ सय घरधुरी रहेको यो गाउँको दक्षिण क्षेत्र पहिरो बनेर बगेको छ । गाउँका अधिकाशं घर र जमिनमा ठूलठूला धाजाँ फाटेका छन् । ९ घर पहिरोमा बगेका छन् ।

यो वर्ष पनि अवितर वर्षासँगै ५ घर पहिरोले बगाउने अवस्था आएपछि स्थानीय मिलेर घर नै भत्काएका छन् ।

पहिरोले अधिकाशंका बारी धस्किएर घरमा क्षति पुगेको छ भने सयौ रोपनी खेतीयोग्य जमिन पनि बगाइसकेको छ ।

दक्षिणमा झापाको बुद्धशान्ति गाउँपालिका हुँदै बग्ने टिमाइ खोलाको कटानले प्युरे गाउँ पहिरोको जोखिममा परेको हो ।

पहिरोले २०७३ सालमा घर बगाएपछि स्थानीय सोमदत्त अर्यालको घरमा बस्दै आएका भिमबहादुर मगर यसपालि पनि अहिले बसेको घर छाड्नु पर्ने अवस्थामा पुगेका छन् ।

आगँनको डिलैमा पहिरो आइपुगेपछि घर छोड्नुको विकल्प नभएको उनको भनाइ छ । पहिरोले बगाएको पुरानो घर भएको भीर देखाउदै भिमबहादुर भन्छन्–‘जता गएपनि पहिरोले छोडेन, सरकारले केही सहयोग पनि गरेन । हामी त यो देशको नागरिकै होइन कि जस्तो लाग्न थाल्यो, कमसेकम बस्ने वातावरण सरकारले मिलाइदिए हुन्थ्यो ।’

यस्तै घरसँगै कृषकले लगाएको बाली पनि पहिरोको जोखिममा पर्दा थप पीडा हुनेगर्छ उनीहरुलाई । पहिरोको डरले अहिले खेती नै गर्न छाडेको उनीहरु बताउँछन् ।

पिता पूर्खाको पालादेखि बस्दै आएको क्षेत्र छाडेर जाने मन नभएको बताउने प्युरेबासी सरकारको उचित राहतको पर्खाइमा छन् ।

यता रोङ गाउँपालिकाका अध्यक्ष शमरेर राई भने पहिरो पीडितलाई व्यवस्थापन गर्दै लैजाने बताउँछन् ।

‘पुख्यौली थलो नछोड्ने स्थानीय भनाई छ । गाउँ नै पहिरोको जोखिममा भएकाले गाउँ नै बगाउला भन्ने पीर हामीलाई छ,’ अध्यक्ष राईले भने, ‘स्थानीयलाई गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ ।’

उनले स्थानीय सरकारलाई प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरेको पनि गुनासो गरे । ‘चुरे क्षेत्रमा पर्ने यो पहिरोको दीर्घकालीन समाधान गर्न पटक–पटक केन्द्र र प्रदेश सरकारसँग मौखिक र लिखत आग्रत गरिएको छ । तर, कतै सुनुवाइ भएको छैन,’ उनले भने, ‘बस्ती नै व्यवस्थापन गर्न गा¥हो छ । तर समस्यासँग हामी भाग्दैनौं समाधानका लागि निरन्तर लागिरहेको छु ।’

हालसम्म प्युरेका ९ परिवारलाई स्थानीय सरकारले बसोबासको व्यवस्था मिलाएको पनि राईले बताए । उनले यसपाली बिस्थापित भएका अन्य पाँच परिवारको समेत ब्यवस्थापन गर्ने बताए ।

चुरे र पहाडी क्षेत्रमा यस्ता प्राकृतिक बिपत्तिका कारण देशभर वर्षेनी हजारौ परिवार प्रभावित हुँदै आएका छन् । तर, दीर्घकालीन समाधानको बाटो नजोजिएको सरोकारवाला निकायको भनाई छ ।

यस्ता समस्याको समाधान गर्न प्राविधिक अध्ययन गरी निकास निकाल्न आवश्यक छ । राष्टपति चुरे संरक्षण कार्यक्रमलाई चुरे संरक्षणको अभियान बनाउन सके प्रभावकारी हुनसक्ने चुरे क्षेत्रका पीडितहरुको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ३ : २७ बजे

स्पष्टीकरण सोधेको झोकमा उपसचिवले हाने प्रदेश सचिवलाई चड्कन

जनकपुरधाम । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर

शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले

प्रकाशमानले भने : लोकतान्त्रिक व्यवस्थाले मात्र खेलाडीको हित हुन्छ

ललितपुर – उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक व्यवस्थामा

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको भिडियो गत मंसिरको, चार जनामाथि थालियो कारबाही

काठमाडौं- ट्राफिक प्रहरीले सर्वसाधारणलाई सडकमै लात्ती मुक्का बर्साएको भिडियो २०८१

पत्रकारमाथि दुर्व्यवहार गर्ने दीपेश यादव पक्राउ

लुम्बिनी – पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरी