उच्च अदालतमा संघीयतासँग सम्बन्धित मुद्दा धेरै, वाणिज्यतर्फ चेक बाउन्सका « Khabarhub

उच्च अदालतमा संघीयतासँग सम्बन्धित मुद्दा धेरै, वाणिज्यतर्फ चेक बाउन्सका



काठमाडौं– उच्च अदालत पाटनले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा परेका रिटमध्ये सबैभन्दा धेरै कर्मचारी समायोजनको विषयमा रहेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै अदालतले संघीयता सम्बन्धी मुद्दा बढी रहेको जनाएको हो ।

मुख्य न्यायाधीश नहकुल सुवेदीले अदालतमा परेका रिटमध्ये सबैभन्दा धेरै कर्मचारी समायोजनको विषयसँग सम्बन्धित रहेको जानकारी दिए ।

उनले समायोजनमा पनि स्वास्थ्य क्षेत्रका धेरै रिट दायर भएको बताए । अदालतमा गत पुससम्ममा रिटको संख्या ८ सय ९१ थान रहेको छ ।

‘संघीयताको सन्दर्भमा स्थानीय तहले गरेका काम कारबाहीहरुको रिट धेरै नै संख्यामा रहेको छ ।’, मुख्य न्यायाधीश सुवेदीले भने, ‘हामीकहाँ भएका कूल रिटमध्ये एक चौथाई जति समायोजनसँग सम्बन्धित छन् ।’

उनले कर्मचारी समायोजनतर्फ तह नमिलेको, पद नमिलेको र यसका ‘टेक्निकल पाटो’सँग सम्बन्धित रिट बढी मात्रामा रहेको बताए ।

वाणिज्यतर्फ चेक बाउन्सका मुद्दा धेरै

उच्च अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्यतर्फका कूल मुद्दामध्ये सबैभन्दा धेरै बैंकिङ कसुर सम्बन्धी रहेका छन् ।

बैंकिङ कसुरमध्ये पनि चेक बाउन्स सम्बन्धी मुद्दा बढी रहेको अदालतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । वाणिज्यतर्फ चेक बाउन्स सम्बन्धी झण्डै ९० प्रतिशत मुद्दा अदालतमा दायर भएको मुख्य न्यायाधीश सुवेदीले बताए ।

अदालतका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका वाणिज्यतर्फका कूल १ हजार ८ सय ६४ थान मुद्दा मध्ये १ हजार ८ सय ४३ थान मुद्दा वैकिङ कसुरका रहेका छन् ।

‘समग्रमा पुनरावेदन रिट पनि वाणिज्यतर्फका धेरै नै छन् ।’ मुख्य न्यायाधीश सुवेदीले भने, ‘ संख्यात्मक हिसाबमा हेर्दा वााणिज्यतर्फ झण्डै ९० प्रतिशत जति त चेक बाउन्ससँग सम्बन्धित छन् ।’

उनले चेक बाउन्स बाहेक ऐन कानूनले तोकेको दामसाही सम्बन्धी तथा ऋण लगानीमा भएको अनियमितताका विषयमा पनि धेरै  रिट रहेको बताए ।

दुई वर्ष नाघेका मुद्दाको संख्या घट्यो

अदालतका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष मुद्दाको फर्छ्योट बढी मात्रामा भएका छन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् गत पुस मसान्तसम्म जम्मा १० हजार ४ सय २६ थान मुद्दा रहेकोमा ४ हजार ५ सय ४० थान मुद्दा फर्छ्योट भएको अदालतको तथ्याङ्कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २ वर्ष नाघेका २ सय ६७ मुद्दा अदालतमा रहेकोमा चालु आर्थिक वर्षमा त्यो संख्या २४ थानमा सीमित भएको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३६ हजार ६ सय ६४ पेशी तोकिएकोमा ४ हजार ५ सय ४० थान मुद्दाको फैसला भएको, १० हजार ५ सय ३६ वटा आदेश भएको, ७ हजार ८ सय ३० थान मुद्दा स्थगित भएको र २ हजार ६ सय ७५ थान मुद्दा हेर्न नभ्याइएको अदालतले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

अदालतका अनुसार उच्च अदालतमा रहेका कूल मिसिलको संख्या १ लाख ३८ हजार २ सय ८८ रहेको छ । जसमध्ये गत पुससम्ममा ९५ हजार ६ सय ६७ थान मिसिल कम्प्युटरमा प्रविष्ट गरिएको छ भने ४२ हजार ६ सय २१ थान मिसिल भने अझै पनि ढड्डामै रहेका छन् । जुन अबको केही समयमा कम्प्युटरमा प्रविष्ट गरिसक्ने अदालतले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : ३६ बजे

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक

संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण पक्षको

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण