काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गर्दै अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा उपकरण नष्ट गरेको बताएका छन् ।
ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानसँग वार्ता भइरहेको र यसअघि पनि छलफल भएको बताएका हुन् ।
‘हामीले इरानलाई पराजित गरिसकेका छौँ । इरानको मामिलामा अवस्था हाम्रा लागि निकै राम्रो छ । हामी इरानसँग कुरा गरिरहेका छौँ र यसअघि पनि वार्ता गरिसकेका छौँ,’ उनले भने ।
ट्रम्पले होर्मुज जलडमरूमध्य खुल्दै गएको र त्यहाँबाट पहिलेभन्दा बढी तेल व्यापार भइरहेको दाबीसमेत गरेका छन् । उनले पछिल्लो ६–७ महिनामा अमेरिकाले कुनै पनि सैनिक गुमाउनुपरेको छैन भन्ने दाबी पनि गरेका छन् ।
अर्को प्रसङ्गमा ट्रम्पले इरानले विकास गरेको एउटा सानो हवाई प्रतिरक्षा उपकरण अमेरिकी सेनाले नष्ट गरेको बताएका छन् । यद्यपि, उक्त कारबाही कहाँ र कहिले गरिएको हो भन्नेबारे उनले खुलाएका छैनन् ।
उता, ट्रम्पको यो भनाइ सार्वजनिक भइरहेका बेला इरानी सञ्चारमाध्यमले भने देशको दक्षिणी क्षेत्रमा विभिन्न स्थानमा क्षेप्यास्त्र आक्रमण भएको समाचार सार्वजनिक गरेका थिए ।
इरानी समाचार संस्था इरना र तस्निमका अनुसार कश्म टापुमा दुईवटा क्षेप्यास्त्र खसेका थिए । त्यस्तै, इरानी प्रसारण संस्थाले सिरिक क्षेत्रमा खानेपानीका दुईवटा ट्याङ्कीलाई निशाना बनाइएको जनाएको छ । आक्रमणपछि उक्त क्षेत्रका केही स्थानमा खानेपानी आपूर्ति अवरुद्ध भएको समाचारमा उल्लेख छ ।













प्रतिक्रिया