कोरोना कहर : कुखुरा पालक किसानलाई २५ करोडको घाटा « Khabarhub

कोरोना कहर : कुखुरा पालक किसानलाई २५ करोडको घाटा


२५ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा कुखुरा पालक किसानले १० दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

‘लकडाउनको पहिलो साता साना, मझौला र ठूला बोइलर पालक किसानले करिब दश लाख कुखुरा मासुका लागि तयार गरेका थिए,’ सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत हेमराज अवस्थीले भने, ‘कुखुराका लागि दाना, औषधिलगायत सबै प्रभावित हुँदा किसानले क्षति व्यहोर्नु पर्‍यो ।’

मन्त्रालयले एक साता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर सङ्घीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ । ‘प्रदेशभरी कुखुराका लागि दैनिक २० टन दाना चाहिन्थ्यो,’ वरिष्ठ पशु विकास अधिकृत अवस्थीले भने, ‘शुरुमा आहार नपाउँने भएपछि ५० हजार कुखुरा खाल्डोमा पुरेर नष्टसमेत गर्ने अवस्था आयो ।’ लकडाउन लम्बिएसँगै कुखुरा पालक किसानको नोक्सानीको दायरासमेत बढ्दै जाने अवस्थीको भनाइ छ ।

त्यसैगरी सुदूरपश्चिममा अण्डा उत्पादनका लागि किसानले २० लाख लेयर्स जातको कुखुरा पालेका छन् । ‘लकडाउनले अण्डा उत्पादनसमेत बन्द भयो,’ अवस्थीले भने, ‘अहिले दैनिक २० लाख अण्डा नष्ट हुँदैछ ।’ सुदूरपश्चिममा दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको थियो ।

‘अण्डाको बिक्री वितरणका लागि सहजीकरण पनि गर्‍यौँ,’ अवस्थीले भने, ‘अरू विविध कारणले स्थानीय उत्पादन बिक्री भएन ।’

सरकारले कुखुरा पालक किसानका लागि लकडाउनमा दाना ओसारपसारमा सहजीकरण गर्ने भने पनि किसानले सहज रुपमा दाना नपाएको समेत गुनासो गरेका छन् । ‘यहाँ ८० प्रतिशत भारतबाट कच्चा पदार्थ आएर दाना उत्पादन हुन्थ्यो,’ अवस्थीले भने, ‘भारतबाट नआउँदा यहाँ अन्य ठाउँबाट ल्याउनेले महङ्गो र नगदमा मात्रै दाना दिने भनेपछि थप समस्या किसानमा पर्‍यो ।’

उत्पादन गरिएको अण्डा २ साताभित्र खराब भइसक्छ । सुदूरपश्चिम प्रदेशमा वार्षिक ३ हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । ‘यहाँ दैनिक १२० टन दाना उत्पादन हुन्थ्यो,’ वरिष्ठ पशु विकास अधिकृत अवस्थीले भने, ‘५० टन जति दाना मुलुकको अन्यत्रबाट आउँथ्यो ।’ सुदूरपश्चिमका नौवटै जिल्लामा कुखुरा पालक किसान रहे पनि दाना उत्पादन भने कैलाली कञ्चनपुरमा मात्रै हुने गरेको छ ।

सुदूरपश्चिममा प्रतिहप्ता ८० हजार चल्ला उत्पादन हुने गरेको थियो । ‘ह्याचरीले दुई हप्तामा १ करोड नोक्सानी व्यहोरिसकेका छन्,’ अवस्थीले भने, ‘धेरै ठाउँमा किसानले सस्तोमा बोइलर कुखुरा बिक्री गरिरहेका छन् ।’ दुग्धतर्फ पनि सुदूरपश्चिमका किसानले दैनिक ८० लाख बराबरको नोक्सानी व्यहोर्नु परेको कृषि मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा दाना र चल्ला बिक्री गर्दै आएका व्यापारी अर्जुन नेपालले किसानको अवस्था निकै नाजुक रहेको बताए । ‘यतिसम्मको विपत्ति कहिल्यै भोग्नु परेन,’ उनले भने, ‘बर्डफ्लुमा समेत यस्तो समस्या व्यहोर्नु परेन ।’

कञ्चनपुर कुखुरा तथा अण्डा उत्पादक किसान सङ्घका अध्यक्ष विक्रम नाथले कुखुरापालक किसान लकडाउनका कारण सबैभन्दा बढी मारमा रहेको बताए । ‘हामीले सामाजिक दूरी कायम गरेर मासु बिक्रीका लागि स्थानीय प्रशासनसित समन्वय गरेपनि सुनुवाई भएन,’ अध्यक्ष नाथले भने, ‘दाना नपाउँदा नै कुखुरालाई नष्ट गर्नुपर्ने अवस्था आयो ।’ केही दिनअघि यहाँको स्थानीय प्रशासनले राति ८ बजेपछि दाना ढुवानीमा खुकुलो गर्ने निर्णय गरेको थियो । ‘खुकुलो भए पनि सबै किसानले दाना ल्याउन सक्ने अवस्था रहेन,’ उनले भने, ‘रातिको समय पसल बन्द हुँदा दाना ल्याउन समस्या भएको छ ।’

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : २१ बजे

कांग्रेसले भन्यो : संसद् अधिवेशन बोलाइसकेर बिनाकारण स्थगित गर्नु गलत

काठमाडौं– नेपाली कांग्रेसले संसद्को सर्वोच्चतालाई अमूल्यन गर्ने काम नगर्न सरकारको

पछिल्लो २४ घण्टामा विपदका घटनामा परी १० जनाको मृत्यु, २५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपदका घटनामा परी

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल

नारायणगढ– चितवनको माडी उपत्यकाको समग्र जानकारी उपलब्ध गराउने उद्देश्यले माडी

महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको हमलामा

इजरायलमा नेतन्याहूलाई कडा चुनौती: दुई पूर्वप्रधानमन्त्री मिलेर घोषणा गरे नयाँ पार्टी

तेलअभिभ- इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै