जनतालाई आरडीटी मात्रै, सांसदको पीसीआरबाटै परीक्षण किन ? | Khabarhub Khabarhub

जनतालाई आरडीटी मात्रै, सांसदको पीसीआरबाटै परीक्षण किन ?


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको वर्षे (बजेट) अधिवेशन शुरु हुनु अघि संसद सचिवालयले दुवै सदनका सदस्य र सचिवालयका कर्मचारीहरुको कोरोना परीक्षण गर्ने निर्णय गर्‍यो ।

सांसदहरुको कोरोना परीक्षण गर्नुपर्ने जानकारी स्वास्थ्य सेवा विभागमा आए पछि विभागले सांसदहरुको कोरोना परीक्षण गर्ने जिम्मेवारी हाल कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ समेत गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) लाई दियो ।

सांसदहरुमा कोरोना परीक्षण गर्ने विषयमा महाशाखाले बुधबार मेडिकल ल्याबरोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का विज्ञहरुसँग छलफल गर्‍यो ।

विज्ञहरुको सुझावका आधारमा इडीसीडीले सांसदहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बिहीबारदेखि सांसदहरुको कोरोना परीक्षण गर्ने तयारी गरेको थियो ।

शुक्रबार शुरु हुने संघीय संसदको बजेट अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरिँदै । तस्वीर– रोशन सापकोटा/रासस

आरडीटी विधिबाट कोरोना परीक्षण गर्न इडीसीडीले स्वास्थ्यकर्मी संसदमा पठाउने तयारी गर्दैगर्दा बिहीबार विहान संसद सचिवालयबाट सांसदहरुको आरडीटी नभइ पीसीआर विधिबाट कोरोना परीक्षण गर्न निर्देशनसहितको परिपत्र आयो ।

शुक्रबार संघीय संसदको वर्षे (बजेट) अधिवेशन शुरु हुँदै छ । वर्षे अधिवेशनको पहिलो बैठक शुरु हुनुभन्दा अघि सांसदहरुको कोरोना परीक्षण गर्ने निर्णय उपयुक्त पनि थियो । तर सांसदहरुको पीसीआर विधिबाटै कोरोना परीक्षण हुनुपर्ने निर्देशन आएपछि परीक्षणका लागि नमूना संकलन गर्न तयारी अवस्थामा रहेका विज्ञहरु नै अचम्मित भए ।

‘सांसदहरुको कोरोना परीक्षण हुने भनेपछि त्यसको जिम्मा इडीसीडीले पायो, इडीसीडीले मेलानसँग पनि सहयोग गर्न आग्रह गरेको थियो, सांसदहरुको कोरोना परीक्षण गर्नु राम्रो कुरा थियो,’ मेलानका संस्थापक अध्यक्ष एवं संरक्षक कृष्णप्रसाद रिजालले खबरहबसँग भने, ‘इडीसीडीले आरडीटीबाटै कोरोना परीक्षण गर्ने तयारी गरेको थियो तर, सायद संसद सचिवालयबाट पीसीआर विधिबाटै परीक्षण गर्न निर्देशन आएर होला पछि थ्रोड स्वाब संकलन गरेर पीसीआर टेस्ट नै गर्न लागियो ।’

सांसदहरुको कोरोना परीक्षण गर्ने विषयमा बुधबारको बैठकमा विज्ञहरुले कोरोना संक्रमित क्षेत्रबाट आएका सांसदहरुको पीसीआर टेस्ट गर्ने र काठमाडौंमै रहेका तथा कोरोना संक्रमितसँग सम्पर्कमा नरहेका व्यक्तिको आरडीटी विधिबाट कोरोना परीक्षण गर्न सुझाव समेत दिएका थिए ।

‘सांसदहरुमा कसैमा कोरोना संक्रमण रहेछ भने समयमै पत्ता लाग्नु राम्रो कुरा थियो । हिजो भएको छलफलमा हामीले त कोरोना संक्रमित क्षेत्रबाट आएका सांसदहरु रेड जोनमा हुने भएकाले उहाँहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने र संक्रमितको सम्पर्कमा नरहेका सांसदहरु ग्रीन जोन भएकाले उहाँहरुलाई आरडीटी विधिबाट परीक्षण गरौं भनेर सुझाव दिएका थियौ,’ मेलानका संस्थापक अध्यक्ष रिजालले भने, ‘तर आज (बिहीबार) बिहान एक्कासी सांसदहरु सबैको पीसीआर टेस्ट नै गर्ने भनेर कुरा आयो । त्यसपछि हामीले त्यहि अनुसार तयारी गरेर स्वाब संकलनमा लाग्यौं ।’

संक्रमितको क्षेत्रबाट आएकाहरुको मात्र पीसीआर परीक्षण गर्दा उपयुक्त हुने मेलानका संस्थापक अध्यक्ष रिजालको तर्क छ ।

आरडीटी किटमार्फत कोरोना भाइरस (कोभिड १९)को परीक्षण गरिँदै, तस्वीर– रासस

‘म पनि यो क्षेत्रको विज्ञ भएको हिसाबले मलाई के लाग्छ भने ग्रीन जोनमा हुनुभएका माननीयज्यु (सांसद) अनुसार प्राथमिकताको आधारमा पीसीआर गरेको भए हुन्थ्यो,’ मेलानका संस्थापक अध्यक्ष रिजालले भने, ‘यस्तै केही मन्त्रीज्यु, सांसदहरु कोरोना संक्रमित क्षेत्रमा फिल्डमै गएर आउनुभएको थियो, उहाँहरुलाई चाँही रेड जोनमा राखेर पीसीआर गर्न पाएको भए प्राविधिक रुपमा पनि केही पीसीआर टेस्ट किट पनि बचत हुन्थ्यो । संक्रमित क्षेत्रमा त्यो किट पठाउन सकिन्थ्यो ।’

सरकारले शुरुमा सांसदहरुको मात्र पीसीआर परीक्षण गर्ने निर्णय गरेपनि विज्ञहरुकै सुझाव पछि संसदका कर्मचारीको समेत कोरोना परीक्षण गर्न लागिएको रिजालको भनाइ छ ।

उनले भने, ‘सुरुमा माननीयज्यु (सांसद) हरुको मात्र कोरोना परीक्षण गर्ने कुरा आएको थियो, पछि विज्ञहरुले कोरोना संक्रमणको जोखिमबाट मुक्त हुन कर्मचारीको पनि परीक्षण आवश्यक छ भनेर सुझाव दिएपछि कर्मचारीको पनि परीक्षण गर्न लागिएको हो ।’

सरकारले केही समय अघि कोरोना संक्रमित भेटिएको काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका अन्य व्यक्तिहरुको आरडीटी विधिबाट कोरोना परीक्षण गरेको थियो । यस्तै कोरोना संक्रमित भेटिएका अन्य जिल्लाहरुमा पनि संक्रमितको सम्पर्कमा रहेका बाहेक टोल र नजिकका अन्य व्यक्तिलाई समेत आरडीटी विधिबाट मात्रै कोरोना परीक्षण गरिएको छ ।

कोरोना संक्रमित क्षेत्रमा रहेका नागरिकलाई समेत आरडीटी विधिबाट मात्र कोरोना परीक्षण गरेको सरकारले सांसदहरुको भने पीसीआर विधिबाट कोरोना परीक्षण गर्न थालेको हो ।

कोरोना संक्रमितको सम्पर्कमै नरहेका सांसदहरुको आरडीटी विधिबाट नभइ पीसीआर विधिबाट कोरोना परीक्षण गरिनुले पनि सरकारले खरिद गरेको आरडीटी टेस्ट किटप्रति सरकारलाई नै विश्वास नभएको जनस्वास्थ्य विज्ञहरुको तर्क छ ।

आरडीटी विधिबाटै कोरोना परीक्षण गर्दा हुने भनेर विज्ञहरुले नै सुझाव दिँदा पनि संघीय संसदले भने सांसदहरुको पीसीआर विधिबाटै कोरोना परीक्षण गराएपछि अहिले धेरैले सरकारले नै खरिद गरेर प्रयोगमा ल्याएको आरडीटी किटप्रति सरकारमै रहेकाहरुको विश्वास नभएको भन्दै आलोचना गरेका छन् ।

जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे सांसदहरुको कोरोना परीक्षण गर्नु राम्रो कुरा भएको बताउँछन् । तर, आरडीटी विधिबाट नभइ सबैको सिधै पीसीआर विधिबाट कोरोना परीक्षण गरिनुले सरकारले खरिद गरेको आरडीटी परीक्षण किटप्रति सरकारमै रहेकाहरुको अविश्वास रहेको भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।

‘सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुले के बुझिन्छ भने, सरकार आफैंले खरिद गरेको आरडीटी टेस्ट किटप्रति सरकार आफैं विश्वस्त छैन,’ डा पाण्डले भने, ‘अहिले संक्रमितहरु देखिएको जिल्लामा पीसीआर टेस्ट गर्न किट अभाव छ, तर कोरोना संक्रमितको सम्पर्कमै नरहेका सांसदको पीसीआर विधिबाट कोरोना टेस्ट हुनु अहिलेको समयमा उपयुक्त देखिँदैन ।’

सांसदहरुको लागि प्रयोग हुने पीसीआर टेस्ट किट कोरोना संक्रमित देखिएको क्षेत्रमा पठाउन उपयुक्त हुने जनस्वस्थ्य विज्ञ डा रविन्द्र पाण्डे बताउँछन् ।

‘संघीय सरकारका सांसद, उहाँहरुका सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारी सबै गरेर ७–८ सय जना हुनुहुन्छ, उहाँहरुको पीसीआर परीक्षण हुँदैछ,’ डा पाण्डेले खबरहबसँग भने, ‘संक्रमित जिल्लाहरुमा किटको अभाव छ । यस्तो अवस्थामा पीसीआर किट संक्रमित भएको जिल्लामा पठाएर, संक्रमित क्षेत्रमा रहेका सांसदको मात्र पीसीआर टेस्ट गर्ने र जो संक्रमितसँग सम्पर्कमा रहनुभएको छैन, उहाँहरुको चाँही आरडीटी परीक्षण गरेको भए उपयुक्त हुन्थ्यो ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमूख डाक्टर बासुदेव पाण्डेका अनुसार कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका तथा लक्षण देखिएका व्यक्तिमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने मापदण्ड छ ।

देशको उच्च पदका व्यक्ति नभइ कोरोनाको लक्षण र संक्रमितको सम्पर्कमा रहेको आधारमा उनीहरु परीक्षणको दायरा भित्र पर्छन् ।

‘हामी सबैतिर संवेदनशील छौं, सनसिटी अपार्टमेन्टमा अन्य संक्रमित देखिएका क्षेत्रमा संक्रमितको कन्टयाक्ट टे«सिङ हेरेर नै सोही अनुसार प्रत्यक्ष सम्पर्कमा रहेकालाई पीसीआर गर्ने र संक्रमित बसोबास गर्ने क्षेत्रमा आरडीटी परीक्षण गर्ने गरेका थियौं,’ महाशाखाका प्रमुख डा पाण्डेले भने, ‘देशको उच्च पदका व्यक्तिलाई पीसीआर विधिबाट परीक्षण गर्ने भन्ने मापदण्डमा छैन, लक्षण र संक्रमण देखिएको व्यक्तिको कन्ट्याक्ट टे«सिङको आधारमा परीक्षण गर्ने हो ।’

कोरोना प्रभावित क्षेत्रमा किट अभाव भएकै समयमा संघीय संसदमा सांसदको आरडीटी नगरी पीसीआर विधिबाटै कोरोना परीक्षण किन गर्न लागियो त ?

खबरहबको प्रश्नमा महाशाका प्रमुख डा पाण्डको जवाफ छ, ‘केही सांसदहरु कोरोना संक्रमित रहेको क्षेत्रबाट आएकाले सबै सांसदको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।’

‘सांसदज्युहरु कोही वीरगन्ज, नेपालगञ्ज गएर आउनुभयो, त्यसले गर्दा उहाँहरुको थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो,’ डा पाण्डेले भने, ‘लक्षण हेरेर गरिने परीक्षण भएको भए कहिलेदेखि लक्षण देखिएको थियो, सोही अनुसार पीसीआर गर्ने कि आरडीटी गर्ने भन्न हुन्थ्यो, सांसदहरु संक्रमितसँग सम्पर्कमा भए वा नभएको यकिन गर्न सकिने अवस्था छैन । त्यसैले सांसदहरुको पीसीआर विधिबाटै परीक्षण गर्न लागिएको हो ।’

५४ हजार जनतामा आरडीटी परीक्षण

सरकारले गत चैत महिनामा द्रूत गतिमा कोरोना परीक्षण गर्ने भनेर ओम्नी नामक कम्पनी मार्फत र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट (आरडीटी) खरिद गरेर ल्याएको थियो ।

सरकारले कोरोना भाइरस पत्ता लगाउने भन्दै खरिद गरेको र्‍यापिड किट गुणस्तरहीन भएको भन्दै जनस्वास्थ्य विज्ञहरुले र्‍यापिड डाइग्नोस्टिक किटबाट हुँदै आएको परीक्षण रोकिनु पर्ने बताउँदै आएका छन् ।
विज्ञहरुले नै विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको आरडीटी विधिबाट कोरोना परीक्षण गर्न नहुने तर्क गर्दा स्वास्थ्य मन्त्रालयले चैत १९ गते विज्ञप्ती नै निकालेर आरडीटी परीक्षण गर्न उपयुक्त रहेको बताको थियो ।

‘सरकारले चीनबाट खरीद गरेर ल्याएको र्‍यापिड टेस्ट किट चीन सरकारले प्रमाणित गरेको किट हो,’ स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा महामारी फैलिहाले र एकै पटक हजारौं टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले र्‍यापिड टेस्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र संकास्पदहरुको पीसीआर प्रविधिबाटै जाँच गरी निर्क्यौल गर्ने अन्तराष्ट्रिय मान्यता अनुसार पूर्व तयारी गर्न खोजिएको हो ।’

त्यसको केही दिनपछि सरकारले कोरोना संक्रमित देशबाट स्वदेश फर्किएकाहरुमा र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण शुरु गरेको थियो ।

चैत ३० गते सम्ममा सरकारले सबै प्रदेशमा आरडीटी किट र स्वास्थ्यकर्मी पठाएर कोरोना प्रभावित देशबाट स्वदेश  फर्किएकाहरु, उनीहरुका परिवारका सदस्य र समुदायमा कोरोना परीक्षण शुरु गरिसकेको थियो । सरकारले चैत महिनामा मात्र ३ हजार ३ सय २१ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गरेको थियो ।

देशभर आरडीटी विधिबाट कोरोना परीक्षण शुरु भए पछि केही व्यक्तिमा आरडीटी विधिबाट कोरोनाको एन्टिबडी पोजेटिभ आउने तर पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आउने अवस्था देखियो ।

यस्तै केही क्षेत्रमा भने आरडीटी परीक्षणमा नेगेटिभ आएको रिपोर्ट पीसीआर परीक्षणमा भने पोजेटिभ आयो ।

आरडीटी र पीसीआर परीक्षणको रिपोर्ट नै फरक–फरक देखिन थालेपछि जनस्वास्थ्य विज्ञहरुले आरडीटी टेस्टको उपयोगिता नभएको बताए ।

आरडीटी टेस्टको विषयलाई लिएर सरकारको आलोचना बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले बैशाख २ गते कोरोना परीक्षणको विषयमा प्रयोगशालाकी डाक्टर रुना झामार्फत आरडीटी र पीसीआर विधिबाट गरिने परीक्षणबारे विस्तृत जानकारी गराएको थियो ।

तर विज्ञहरुले भने आरडीटी विधिबाट गरिने परीक्षणको नतिजाले मात्र ढुक्क हुन नसक्ने बताउँदै आए । सरकारले भने आरडीटी विधिबाट गरीने परीक्षणलाई स्थानीय तहमा झन व्यापक बनायो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ५४ हजार ९४ वटा नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

संक्रमित क्षेत्रमा भने किट अभाव

नेपालमा कोरोना संक्रमित बढ्दै जाँदा केही दिनदेखि पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने किट अभाव भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित देशभरका १८ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ ।

तर १८ वटा प्रयोगशालमा मध्ये ५ वटा प्रयोगशालामा पीसीआर विधिबाट गरीने कोरोना परीक्षण दर शुन्य छ ।

जनकपुर प्रादेशिक अस्पताल, भरतपुर कोभिड १९ प्रयोगशाला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही र वीर अस्पतालमा कोरोना परीक्षण दर शुन्य भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि परीक्षण किट अभावका कारण पीसीआर विधिबाट परीक्षण रोकिएको छ ।

बिहीबार मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित देशभरका १३ वटा प्रयोगशालमा ४ सय १५ वटा नमूना मात्र पीसीआर विधिबाट परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट भने १ हजार १ सय ५२ वटा नमूना परीक्षण गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालका एक विज्ञका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको दैनिक एक हजार नमूना परीक्षण गर्न सक्ने क्षमता रहेको छ । यस्तै देशभर रहेका प्रयोगशालाहरुमा ३ हजार नमूना दैनिक परीक्षण गर्ने क्षमता छ । तर क्षमता अनुसार यी प्रयोगशालाहरु प्रयोगमा आएका छैनन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा कोरोना परीक्षणको किट अभाव भएकाले केही दिन यता कोरोना परीक्षणको गति सुस्त भएको बताउँछन् ।

‘मैले यसअघि पनि भनेको थिएँ, अहिले हामीसँग कोरोना परीक्षण किटको मौज्दात कम भएको छ, त्यसैले देशभर नै पीसीआर विधिबाट कोरोना परीक्षणको दर कम भएको हो,’ प्रवक्ता डा देवकोटाले भने, ‘भोलि वा पर्सीसम्म टेस्ट किटहरु आउँदै छ, टिक आएपछि फेरी परीक्षणको गति बढाइन्छ ।’

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ८ : ५८ बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका