बाबुछोराको अव्यक्त प्रेमको कथा 'सेल्फी किङ' | Khabarhub Khabarhub

बाबुछोराको अव्यक्त प्रेमको कथा ‘सेल्फी किङ’



काठमाडौं – कलाकारको जीवन कस्तो हुन्छ ? बाहिरबाट हेर्दा दुनियाँलाई हँसाउने कमेडियनहरु के सधै हाँस्छन् ? कमेडियनहरूले जे कुरालाई पनि मजाकका रुपमा लिने सामर्थ्य राख्छन् ? चर्चित अनुहार सार्वजनिक रुपमा हिँड्दा कति सहज होला ? यस्तै प्रश्न वरिपरि घुमेको ‘सेल्फी किङ’ को कथा ।

एक कमेडियनको जीवनमा आएको तीन दिनको उतारचढावलाई चलचित्र ‘सेल्फी किङ’ मा देखाइएको छ । चलचित्रमा बुबाले भनेको नटेर्ने एक अटेर छोराको कथा छ । चलचित्रमार्फत बाबुछोराको भावनात्मक सम्बन्ध पनि प्रस्तुत गरिएको छ ।

वास्तविक जीवनको नजिक रहेर नेपालमा निकै कम चलचित्र बन्छन् । धेरैजसो चलचित्रमा एक्सन, रोमान्स, धरपकड र दर्शकलाई मन पर्ने मसालेदार स्वाद हुनुपर्छ भन्ने निर्देशक तथा निर्माताको बुझाइ छ । चलचित्र निर्माण गर्दा पनि त्यस्तै खाले कथामा लगानी गरिन्छ ।

‘सेल्फी किङ’ भने यस्तो धारणाभन्दा केही फरक छ ।

मन राज्यको रहर पूरा गर्न कलाकार बनेको गोपाल दाहाल (विपिन कार्की) परिवारप्रति जिम्मेवार छैन । टेलिभिजनका दर्शकमाझ लोकप्रिय गोपाल सेल्फी किङका रुपमा चर्चित छ । उसको काम दर्शक हँसाउने हुन्छ । तर, ऊ युवती र अल्कोहलको नशामा फसेको हुन्छ । परिवारप्रतिको जिम्मेवारी कहिल्यै निभाउँदैन । बरु, बिहानैदेखि मदिरा पिउँछ ।

उसलाई न मान्छेसँग बोल्न मन लाग्छ । न त, परिवारसँग नै खुलेर कुराकानी गर्छ । नशाले मातेको बेलामा भने उसले मनको सबै आक्रोश ओकल्छ ।

घरमा बिग्रेको एउटा पानी तान्ने मोटर पनि फेर्न नसकेको गोपालको जीवनमा एउटा एउटा यस्तो घटना घटिदिन्छ, जुन घटनाले उसलाई पश्चातापको भूमरीमा पुर्‍याउँछ । बुबा (लोकमणि सापकोटा) ले भनेको नमान्ने गोपालले बुबाप्रति माया दर्शाउन थाल्छ । त्यस्तो घटना कसरी घट्छ भन्ने बुझ्नका लागि भने चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

चलचित्रको पर्दामा हँसाउने एक कलाकारको जीवन कतिसम्म दयनीय हुनसक्छ भन्ने विषयलाई निर्देशक विशाल सापकोटाले सुक्ष्म रुपमा केलाउने प्रयास गरेका छन् । यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका विशालको काम राम्रै छ । अभिनेता विपिन कार्कीको अभिनय अब्बल लाग्छ । शीर्ष भूमिकामा देखिएका विपिनको चरित्र वरिपरि नै कथा घुम्छ ।

चलचित्रमा लक्ष्मी बर्देवाले सानो भूमिका निभाए पनि राम्रो अभिनय गरेकी छिन् । उनी चलचित्रमा गोपालकी पत्नीको भूमिकामा छिन् । यस्तै भुवन चन्द, अभय बराल र जीवन भट्टराईको अभिनय पनि स्वभाविक लाग्छ । बरु बाबुको भूमिका निभाएका लोकमणि सापकोटाको अभिनय त्यति ‘पफ्रेक्ट’ लाग्दैन ।

चलचित्रको कथा एकनासले अगाडि बढिरहेको छ । बाबुछोराको सम्बन्धबाट शुरु भएको कथा बाबुछोराकै सम्बन्धमा पुगेर टुङ्गिएको छ । भलै, यो बीचमा अरु कुरा पनि निर्देशकले जोड्न खोजेका छन् । सेलिब्रेटीको पर्दापछाडिको जीवन देखाउन उनले थप मेहनत गरेका छन् ।

तर, फिल्मको प्रस्तुतीकरणमा भने निर्देशक चुकेका छन् । कथाको ‘फ्लो’ एकनासले अगाडि बढ्दा कति त्यस्ता प्लट छन्, जसमा थप मेहनत गर्नुपर्ने देखिन्छ । विपिन बाटोमा हुँदा फोनमा कुराकानी गर्ने दृश्यमा कहिल्यै अर्कोतर्फको दृश्य देखाइँदैन । विपिनले ‘बेबी’ भन्दै कोसँग बोलिरहेका हुन्छन् भन्ने पनि खुलाइँदैन । यस्ता कैयन् कुरामा निर्देशक चुकेका छन् ।

हुनसक्छ, निर्देशकले वास्तविक घटनालाई चलचित्रमा धेरै तोडमोड गर्न नचाहेका हुन् । किनकि, चलचित्रको मुख्य कथालाई वास्तविक घटनामा आधारित भनिएको छ ।

एक हिसाबले यो चलचित्र नाटक मञ्चनजस्तो देखिएको छ । मुख्य पात्र जता पुग्छ, त्यही दृश्यमात्र चलचित्रको पर्दामा देखाइन्छ । बरू चलचित्रमा समावेश संगीत र पार्श्वध्वनिले भने दर्शकलाई राहत दिन्छन् ।

पार्श्वध्वनिले दर्शकलाई मोनोटोनस हुनबाट बेलाबेलामा जोगाउँछ । गीत पनि कथाअनुसार नै राखिएको छ । मसालेदार चलचित्रमा जस्तो गीत एकातिर र कथा अर्कोतिर यो चलचित्रमा छैन । निर्देशक तथा लेखक विशाल सापकोटाले यस्ता कुरामा भने केही ख्याल गरेका छन् ।

चलचित्रलाई औसत बनाउन थुप्रै फ्याक्टरले काम गरेको छ । उही परिवेश र उही दृश्य बारम्बार देखिन्छ । धेरैजसो दृश्यमा छायांकन कलात्मक देखिन्न । सिङ्गल शट लिइएका कतिपय दृश्यहरु चाहिनेभन्दा बढी लामा लाग्छन् ।

जस्तो कि, यात्राका क्रममा लिइएका धेरैजस्तो दृश्य लामा र भद्दा लाग्छन् । ती दृश्यलाई आकर्षक ढंगले क्यामरामा कैद गर्न छायांकन सुसन प्रजापति चुकेका छन् ।

चलचित्रका केही दृश्य भने साँच्चिकै गज्जब छन् । टेलिभिजनमा छोराले हँसाइरहँदा बुबा हाँस्दाहाँस्दै ढलेको दृश्य र छोराले टेलिभिजनमा अझै हँसाइरहेको दृश्यले मन छुन्छ । बिहानैदेखि मदिरा पिउने गोपाल दाहालले बाबुका बारे दु:खद् खबर सुनेपछि मदिरा पिउन नखोज्नु, बरु बाबुलाई अन्तिमपटक भेट्न सक्दो कोशिश गर्नुले बाबुप्रतिको भावनात्मक सम्बन्ध देखाउँछ ।

चलचित्रले बाबुछोराको सम्बन्ध र एकअर्काको अव्यक्त प्रेमलाई केलाउने कोशिश गरेको छ ।

निर्देशक विशाल सापकोटाले कलाकारको कथालाई लिएर निर्देशन गरेको यो चलचित्र हेरेर कलाकारको जीवन कस्तोसम्म हुन्छ भन्ने दर्शकले बुझ्ने मौका पाउँछन् । चलचित्रमा कमजोरी र दिक्क लाग्दा दृश्य छन् । तर, फरक स्वादका चलचित्र रुचाउने दर्शकलाई यो चलचित्र खुराक बन्न सक्छ ।

चलचित्रको क्लाइमेक्सले भने दर्शकलाई सोच्न बाध्य बनाउँछ – अब सेल्फी किङ पहिलेको जस्तै गैरजिम्मेवार नै रहला कि सुध्रिएला ?

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ८ : ५५ बजे

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह

विराटनगर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको

उपनिर्वाचन : जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले

रूसले लगायो अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

एजेन्सी– रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको

महाभारतकालीन मेडरी नाच संरक्षणमा थारू समुदाय

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारु समुदाय महाभारतकालीन मेडरी नाचको

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

राजविराज– उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार मुख्य निर्वाचन अधिकृतको