नौ महिनाभित्रै अत्याधुनिक धरहराको काम सकिने | Khabarhub Khabarhub

नौ महिनाभित्रै अत्याधुनिक धरहराको काम सकिने


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौँको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुनेभएको छ ।

राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो ।

देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुने निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आगामी एक वर्षभित्र आम सर्वसाधरणले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौँको मनोरम दृश्वावलोकन गर्न पाइनेछन् ।

निर्माणाधीन धरहराको आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारीले बिहान, रानीपोखरी र दरबार हाइस्कुलको अवलोकनपछि सुन्धारास्थित धरहरा निर्माणस्थलमा पुगि अवलोकन गर्नुका साथै निर्माण कार्यको संरचना र वस्तुगत अवस्थाका बारेमा जानकारी लिइन् ।

विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको धरहराको डेढ वर्षअघि पुनःनिर्माण शुरु गरिएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा आलीले धरहरा पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । साबिकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा धरहरा निर्माण भइरहेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव हरिहर शर्माले धरहरा निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको एक वर्षमा सर्वसाधरणले धरहरा चढ्न पाउने बताउनुभयो । उहाँका अनुसार अहिले धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको छ । निर्माणअवधिको बाँकी नौ महिनामा धरहराको मुख्य संरचना तयार भइसक्नेछ ।

सचिव शर्माले भने “अहिले धरहराको सातौ तलाको ढलान कार्य जारी छ । प्रत्येक १५ दिनमा एक तला ढलान गर्नेगरी काम भइरहेको छ । अबको छदेखि सात महिनाभित्र संरचना निर्माणको काम सकिन्छ । त्यससँगै फिनिसिङको काम पनि अघि बढ्नेछ ।”

धरहरा परिसरमा रहेका विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको कार्यालय र कर्मचारी सञ्चय कोषको संरचना हटाउँदा बढी समय खर्चनु परेको सचिव शर्माले बताउनुभयो । अझै पनि बाँकी रहेको कोषको संरचना भत्काउनुपर्नेछ ।

पहिला पाँच रोपनी क्षेत्रफलमा रहेको धरहरा अहिले अन्य संरचना भत्काएर विस्तार गर्दा ४२ रोपनी क्षेत्रफल भएको छ । धरहरा पुनःनिर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु तीन अर्ब ४८ करोड लाग्नेछ । धरहराको अनुमानित लागत रु पाँच अर्ब ४६ करोड रहेको छ ।

धरहराको भुइँतलामा तीन तले पार्किङ निर्माणको काम धमाधम भइरहेको छ । धरहरा परिसरमा २२ तले टावर, तीन तले पार्किङ र सङ्ग्रहालयको समानन्तर ढङ्गले काम भइरहेको आयोजनाले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका, पुरातत्व विभागलगायत सरोकारवाला निकायको समन्वयमा पुनःनिर्माणको काम प्रभावकारी रुपमा भइरहेको बताए ।

अर्को वर्ष सर्वसाधरणले धरहरा चढ्न पाउनेछन् । धरहरा निर्माणका लागि दिन र रातमा गरी दुई सिफ्टमा काम हुन्छ । निर्माणमा प्राविधिकसहित करिब २०० जनशक्ति खटिएका छन् । सन् १८३२ तत्कालीन राणा प्रधानमन्त्री भीमशेन थापाले आफ्नी रानी ललित त्रिपुरा सुन्दरीको खुशीका लागि धरहरा निर्माण गरिएको इतिहासको दस्तावेजमा उल्लेख छ । शुरुको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो ।

ऐतिहासिक महत्व कायम रहने गरी हेर्दा उस्तै तर बलियो धरहरा निर्माण गर्न लागिएको छ । धरहरा शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले अब बन्ने धरहरा आधुनिक प्रविधिसहित निर्माण हुने भएकाले बलियो हुने र पाको उमेरका मानिस पनि यसको टुप्पामा पुग्न सक्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट काठमाडौँको सुन्दरता हेर्न पाउने बताउनुभएको थियो ।

निर्माण भइरहेको धरहरा ७९ दशमलव २ मिटर (२५७.४ फिट) अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्रभित्र २२ तला हुनेछन् । तीमध्ये २० औँ तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ ।

लिफ्टमा चढेर २० औँ तलामा पुगेपछि त्यहीबाट काठमाडौँ अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् । त्यसको भुइँ तलामा धरहरासम्बन्धी सङ्ग्रहालय हुनेछ । भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिनेछ ।

धरहराको बेसमेन्टमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने पार्किङ हुनेछ । त्यस्तै परिसरमा बगैँचा र पानीको फोहोरा सञ्चालन हुनेछ । पानीको फोहोरा ५० फिट अग्लो हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : ५८ बजे

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड

बझाङको मतगणना छबिसपाथिभेराबाट सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १