देशकै ठूलो सौर्य प्लान्टबाट वैशाखदेखि विद्युत उत्पादन हुने « Khabarhub

देशकै ठूलो सौर्य प्लान्टबाट वैशाखदेखि विद्युत उत्पादन हुने


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ ।

ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ ।

ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रुपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि ऊर्जा मिश्रणको अवधारणामा समेत देखिने गरी काम हुनेछ ।

आयोजनाको कूल २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने गरी काम भइरहेको छ । यस्तै थप १० मेगावाटका लागि भने जग्गा छनोट तथा अन्य प्राविधिक काम जारी रहेको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रका नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

विद्युत् केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र विद्युत् गृह नजिक रहेका तीन ठाउँमा पाँच मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ । एउटा प्यानलबाट २७५ वाट विद्युत् उत्पादन हुने छ । एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ ।

देविघाट विद्युत गृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय हरराज न्यौपाने र बज्रभूषण चौधरीलगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको प्राधिकरणले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालू अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको प्राधिकरणको भनाइ छ ।

“सोलार प्यानल जडान अन्तिम चरणमा पुगेकाले १५ मेगावाट विद्युत् वैशाखभित्रमा उत्पादन हुने देखिन्छ, प्रसारण लाइन नभएको र सबस्टेसन निर्माण नभएका कारण देखाएर आयोजनाबाट उत्पादन हुने विद्युत् खेर फाल्न हुँदैन, त्यसैले सञ्चालनमा रहेको ३३ केभी फिडरमा लाइन जोड्ने आवश्यक व्यवस्था गर्नुहोस्”, घिसिङले आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै भने ।

“अझै तीन महिना विद्युत्को माग र आपूर्तिको व्यवस्थापन गर्न आयोजना महत्वपूर्ण भएकाले वैशाखभित्रमा १५ मेगावाट विद्युत् जसरी पनि ग्रिडमा जोड्नुपर्छ, यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न प्राधिकरण तयार रहेको उहाँको भनाइ छ ।

सम्पूर्ण उपकरण आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिले वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ को वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए ।  त्यतिबेला एक वर्षभित्रमा निर्माणसक्ने लक्ष्यका साथ शुरु गरिएको आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको थियो ।

प्राधिकरणको आफ्नै स्वामित्वमा रहेका रुख हटाउनसमेत लामो समय लागेको थियो । ठेकेदारले डिजाइन तयार गर्न ढिलाइ गरेका कारण थप जटिलता पैदा भयो । यस्तै परामर्शदाताले पटकपटक पुनरावलोकन गरी स्वीकृत गर्न लामो समय लगाएका कारण जटिलता पैदा भएको थियो । आयोजना प्रमुख विकासबहादुर रघुवंशीका अनुसार, डिजाइनर स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साइटमा परिचालित नभइदिँदा डिजाइनलाई अन्तिम रुप दिन ढिलाइ भएको थियो ।

विश्व बंैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग करिब रु चार अर्ब (तीन करोड ८० लाख अमेरिकी डलर) मा ठेक्का सम्झौता गरिएको थियो । सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीले नै पाँच वर्षसम्म गर्नेछ ।

कम्पनीले पाँच वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्नेछ । कम्पनीले प्लान्टबाट वार्षिकरुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा आपूर्ति गर्नुपर्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  १० : ३० बजे

विश्वकपमा आज दुई खेल : जित्नै पर्ने दबाबमा रहेका भारत र जिम्बावेको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

१० खेलाडीमा सीमित मोनाकोसँग पिएसजी बराबरीमा रोकियो

काठमाडौं – यूएईएफए च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा पेरिस सेन्ट

भोजपुरको मर्याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर– धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर– कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन