खटयात्रा गर्न नसकिएकामा बज्रयोगिनीमा क्षमापूजा « Khabarhub

खटयात्रा गर्न नसकिएकामा बज्रयोगिनीमा क्षमापूजा


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा स्थगित गरिएपछि आज क्षमापूजा भएको छ ।

राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भई प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा निरन्तरता दिने गरिएको बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा उपत्यकाका पुराना जात्रामध्येमा पर्छ ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा चलाउँदा भीडभाड भई कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले स्थगित गर्ने निर्णय गरेको थियो । प्रत्येक वर्ष हुने जात्रा गर्न नसकेपछि आज क्षमापूजा गरिएको जात्रा व्यवस्थापन समितिका संयोजक मीजेन्द्रकाजी श्रेष्ठले जानकारी दिए ।

बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहीनी र व्याघ्रिनीको चार मूर्ति खटमा राखेर साँखु क्षेत्रमा जात्रा गर्ने परम्परा छ । तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा यसपटकसमेत तीनपटक रोकिएको व्यवस्थापन समितिले जनाएको छ । कलिगत संवत् १८१८ देखि शुरु भएको जात्रा कलिगत संवत् पाँच हजार १२० सम्म निरन्तर रुपमा चल्दै आएको उनले बताए।

राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको थियो । यसपटक भने विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण रोकिएको हो । धेरै मानिस जम्मा भएर गरिने जात्रा रोकिए पनि मूल खट यात्राका दिन बज्रयोगिनी मन्दिरमै पूजा भने गरिने छ ।

मन्दिरका पुजारी खलकले घरघरमा बज्रयोगिनी उग्रताराको पूजा गर्न साँखुवासीलाई आह्वान गरेको समिति संयोजक श्रेष्ठले बताए । शङ्खरापुर नगरपालिका वडा नं ४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष धुला टोलमा खट राखेपछि अर्को वर्ष चलाखु टोलमा राख्ने यहाँको परम्परा छ ।

धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका प्रकाशमान श्रेष्ठ ‘सक्व’ ले बताए ।

बज्रयोगिनीबाट खट ल्याएर टोलमा राखेको चौथो दिनमा नाथ सम्प्रदायका योगीले पूजा गरेपछि मूल जात्रा शुरु गरिन्छ । मूल जात्राका दिन खटलाई बोकेर साँखु क्षेत्र घुमाइन्छ । मूल जात्राअघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन पूजा आराधना र दर्शन गर्ने चलन छ ।

जात्राका क्रममा नाथ सम्प्रदायका योगीले भात पकाएर भूत, पिशाचलगायत नकारात्मक तत्वलाई पन्छाउने विधिसमेत हुन्छ । नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि पनि पूरा गरिने समितिले जनाएको छ । यस वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा स्थगित गरिएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : ०३ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि