एकै दिन एउटी छोरीको न्वारान, अर्कीको पास्नी ! « Khabarhub

एकै दिन एउटी छोरीको न्वारान, अर्कीको पास्नी !


२६ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका, झौखेलस्थिति मानव कल्याण समाजमा बुधबार दिनभर निकै चहलपहल र खुशीयाली थियो । समाजको आश्रममा एउटी छोरीको न्वारान थियो अनि अर्की छोरीको पास्नी ।

न्वारानबाट छोरीले नाम पाइन् मानवी । मानवी तीन महिनाकी भइन् । उनी गत माघमा सिन्धुपाल्चोकोमा जन्मेकी हुन् । आमा मनरोगी थिइन् । छोरी जति रोए पनि आमाले स्याहार गरिनन् । शिशुले आमाको गर्भबाट जन्म त पाइन् तर आमाको दूध खान पाइनन् ।

उनका बुबा को हुन् भन्ने थाहा छैन । मनरोगी आमाले उनलाई माइतीघरमा जन्म दिइन् । बिहे भए पनि मनरोगी भएकीले उनी श्रीमानबाट परित्यक्त थिइन् र माइतीको आश्रयमा थिइन् ।

स्थानीय बासिन्दाले शिशुको उद्धारका लागि मानव कल्याण समाजमा खबर गरे । समाजका प्रतिनिधि पुगेर आमाछोरी दुवैलाई समाजको भक्तपुरस्थित सेवाघर अर्थात आश्रममा ल्याए । यतिन्जेलमा शिशु जन्मेको २१ दिन भएको थियो ।

मानव कल्याणको आश्रममा पनि छोरीप्रति आमाको कुनै चाह देखिएन । अन्ततः समाजले उनलाई परिवारसँग पुनर्मिलन गराइदियो । आमा सिन्धुपाल्चोक पुगिन् । छोरी आश्रममा रहिन् । बुधबार यिनै छोरीको न्वारान भएको हो ।

आश्रममा मानवीका हजुरआमा र ठूलीआमा पनि छन् । उनीहरु दुवै मनोरोगी छन् ।

परम्पराअनुसार ११ दिनमा न्वारान हुनुपर्ने भए पनि मानवीका लागि तीन महिना लाग्यो । पारिवारिक समस्याका कारण घरमा न्वारान हुन सकेन ।

‘हामीले नानीलाई उद्धार गर्दा २१ दिन भइसकेको थियो’ मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौँलागाईंले भनिन्, ‘पास्नी लगायत अन्य कर्ममा न्वारानको नाम चाहिने रहेछ । उनको न्वारान नै नभएको थाहा पाएपछि तीन महिनामा भए पनि गरिदियौँ ।’

अर्की छोरी ६ महिनाकी भइन् । उनको नाम हो समृद्धि ।

मानव कल्याण समाज भक्तपुरले बुधबार यिनै दुई छोरीको न्वारान र पास्नी गरेको हो ।

महानगरीय प्रहरी वृत्त ठिमीले खबर गरेपछि मानव कल्याण समाजले एक महिनाकी शिशु र आमा दुवै जनालाई बेवारिसे अवस्थामा उद्धार गरेको हो । सुत्केरी आमा मनोरोगी थिइन् । अविवाहित आमा १६ वर्ष उमेरकी छन् ।

समृद्धि छ महिनाकी भइन् । बुधबार उनको पास्नी अर्थात अन्नप्राशन भयो । ‘छोरी समृद्धिको पास्नी गर्‍यौँ,’ प्रसन्न मुद्रामा सुमित्राले भनिन्, ‘अर्की छोरीको न्वारान गर्‍यौँ ।’

अहिले समृद्धिकी आमाको अवस्था सामान्य छ । समाजले उनलाई सेवाघरको अभियन्ता बनाएको छ ।

समाजको आश्रममा अहिले मानवी र समृद्धिसहित ४ छोरी र ५ छोरा छन् । सेवाघरमा आश्रित यी छोराछोरीका नाम पनि उनीहरूजस्तै सुन्दर छन् । मानवी, समृद्धि, प्रतिभा, कालिका, कल्याण, कृतज्ञ यस्ता केही नाम हुन् । सुमित्रा भन्छिन्, ‘सकारात्मक भाव उत्पन्न होस् भन्ने विचार गरेर छोराछोरीको नाम छनोट गर्ने गरेका छौँ ।’

दुई वर्ष अघिमात्र काम सुरु गरेको मानव कल्याण समाजलाई भक्तपुरमा सडकमा बेवारिसे व्यक्तिको उद्धार गर्ने र उनीहरूलाई आश्रय दिने पहिलो संस्थाका रूपमा लिइन्छ । समाजको सेवा घरमा बालबालिकासँगै ५४ जना वृद्धवृद्धाहरू पनि छन् । उनीहरू सबैलाई सडकमा बेवारिसे अवस्थामा उद्धार गरिएको सुमित्राले बताइन् ।

सुमित्रा भन्छिन्, ‘सबैलाई आफ्नै छोराछोरी र आफ्नै आमाबुबाजस्तै स्याहारसुसार र पालनपोषण गर्छौं ।’

सेवाघरमा अहिले तीन महिनाकी मानवीदेखि ९० वर्षकी हजुरआमासम्म आश्रित छन् । न्वारान र पास्नीसँगै बुधबार साँझ दीप प्रज्ज्वलन गरेर संस्थाको दोस्रो वार्षिकोत्सव पनि मनाइयो । सुमित्राका अनुसार लकडाउनका कारण पाहुनहरू बोलाइएनन् । सेवा घरका परिवार र थोरै अतिथि सहभागी भए । शुभकार्यमा सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरठिमी नगरपालिकाका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ११ : ४५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित