सार्वजनिक यातायातमा कोभिड स्वास्थ्य मापदण्ड पालनामा कडाइ « Khabarhub

सार्वजनिक यातायातमा कोभिड स्वास्थ्य मापदण्ड पालनामा कडाइ


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातको अनुगमनमा कडाइ गर्ने भएको छ ।

करिब ६ महिना लामो बन्दाबन्दीपछि यही असोज १ गतेदेखि लामो, मध्यम र छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका थिए ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार भदौ ३१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘कोभिड–१९ अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ ल्याएको थियो ।

उक्त निर्देशिकाअनुसार सार्वजनिक यातायात सञ्चालन तथा यात्रु व्यवस्थापन निर्देशिका बमोजिम भए नभएको, स्वास्थ्य सुरक्षा मापदण्डको कडाइका साथ पालना भए नभएको अनुगमन गर्ने जिम्मेवारी यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई दिइएको छ ।

सार्वजनिक यातायातमा निर्देशिका पालना नभएको भन्ने गुनासो बढेपछि यातायात व्यवस्था विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तहसम्म अनुगमनको निर्देशनका लागि आग्रह गरेको छ ।

एकातिर दैनिकजसो कोरोना संक्रमितको संख्या बढेको छ भने अर्कोतिर चाडपर्व नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने र भित्रिनेको संख्या पनि बढेको छ । यस्तो जोखिमका बेला निर्देशिका थप कडाइका साथ पालना गराउन ५५३ वटै स्थानीय तहलाई आग्रहका लागि पत्र लेखेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले खबरहबलाई जानकारी दिए ।

‘सरकारले जारी गरेको निर्देशिका कडाइका साथ प्रभावकारी बनाउन पत्र पठाइएको हो’ भुसालले भने, ‘केन्द्रबाट मात्र नभई प्रदेश र स्थानीय तहबाट पनि सार्वजनिक सवारीको अनुगमन गर्नुपर्छ ।’

उनका अनुसार उक्त पत्रमा यातायात सेवामा कार्यरत कर्मचारी, सवारी चालक र सहचालकले निर्देशिका पालना गरे/नगरेको र सार्वजनिक यातायातमा सवार यात्रुहरूले पालना गरे/नगरेको विषयमा अनुगमन समिति गठन गरी व्यवस्थित बनाउन सबै स्थानीय तहहरूलाई परिपत्र गरिदिन अनुरोध गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई एकसाथ परिपत्र गरी असोज १८ गते नै निर्देशन दिइसकेको जनाएको छ ।

यस्तो व्यवस्था छ निर्देशिकामा

‘कोभिड १९ अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ अनुसार यातायात सेवामा कार्यरत सवारी चालक र सहचालकले यात्रु चढ्ने स्थान, पुग्ने स्थान र खाना खाने स्थानबाहेक अन्यत्र कहीँ पनि सवारी साधन रोक्न तथा यात्रु चढाउन र ओराल्न पाउने छैन ।

चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्छ । स्यानिटाइजर प्रयोग गर्नुपर्छ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम भएको हुनुपर्छ ।

यातायात पूरा भएपछि आफूले प्रयोग गरेका सबै कपडा साबु पानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ । यात्रुसँग भौतिक दूरी कायम गरी रकम फिर्ता गर्न नपर्ने गरी भाडा संकलन गर्नुपर्छ वा बाकसमा हाल्न यात्रुलाई आग्रह गर्नुपर्छ ।
एकपटकको सेवा सकिएपछि सवारीसाधन निःसंक्रमीकरण गर्नुपर्छ ।

यात्रुहरूले पनि कोभिड–१९ संक्रमण हुन सक्ने माध्यम, जोखिम र जोखिम न्युनीकरणका उपाय सम्बन्धी जानकारी लिनु र सावधानी अपनाउनुपर्छ । अति आवाश्यक कामका लागि र पैदल यात्रा सम्भव नभएका स्थान लागि मात्र सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ ।

अशक्त वा शारीरिक अवस्था कमजोर भएकाहरूले सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्नु हुँदैन । यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्छ वा कपडाले नाकमुख छोप्नुपर्छ ।

सार्वजनिक यातायात प्रयोग गर्दा वा सार्वजनिक स्थलमा रहँदा कुनै पनि किसिमको खाने कुरा खानु हुँदैन । सवारी साधनभित्र सामाजिक दूरी कायम हुने गरी तोकिएको सिटमा मात्र बस्नुपर्छ र अरूलाई पनि सतर्क तुल्याउनुपर्छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  १ : ०१ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा