कोरोना परीक्षणमा आनाकानी | Khabarhub Khabarhub

कोरोना परीक्षणमा आनाकानी


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढीको व्यापारिक फर्ममा काम गर्दै आएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बसे । कोरोना भाइरस सङ्क्रमण भएको शङ्का गर्दै छिमेकी र परिवारका सदस्यले नमूना परीक्षण गराउन पटक पटक सल्लाह दिए पनि उनले परीक्षण गराउन मानेनन्।

घरमै तुलसीपात र ज्वानो घोलिएको तातोपानी नियमित खाने गर्छन । घरको बसाइमा उनी १२ दिनमै सञ्चो भई आफ्नो नियमित काममा फर्किए । रुघाखोकी र ज्वरोको लक्षण देखिएका धनगढीकै अर्का नाम उल्लेख गर्न नचाहने पुरुषले पनि नमूना जाँच गराउन परिवार र छरछिमेकीले दिएको सल्लाह मानेनन् । उनले भने, “नमूना लिन घरमै स्वास्थ्यकर्मी आइदिएको भए दिन्थे, घरबाहिर गएर नमूना दिन असहज महसुस हुँदा दिएन ।”

कोरोनाको सङ्क्रमण भए÷नभएकोबारे जानकारी नभए पनि बिरामी भएको समयमा घरमा बस्दा परिवारका अन्य सदस्यको स्वास्थ्य सुरक्षाका लागि भने आफू सचेत भएको उनले बताए । घरमै अलग्गै बसेका उनी दुई हप्तापछि निको भई काममा फर्किए ।

उनी जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, हातखुट्टाका जोर्नी दुख्ने लक्षण देखिने कतिपय व्यक्ति पछिल्ला दिनमा आफ्नो नमूना परीक्षण गराउन इच्छुक देखिँदैनन् ।

कोरोना भएको पुष्टि भएमा समाजले सम्बन्धित व्यक्तिमाथि गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण पनि कतिपय व्यक्तिले आफ्नो नमूना जाँच गराउन इच्छुक नदेखिनु भएको बताइन्छ । यस्तो लक्षण देखिने व्यक्ति बिरामी भएर घरमै बस्ने गरेका छन् ।

लक्षणसहित सिकिस्त अवस्थाका बिरामीले भने नमूना जाँच र परीक्षण गराउने गरेका छन् । पछिल्ला दिनमा प्रदेशमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालमा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि नमूना सङ्कलन सुस्त हुँदा निकै कम नमूनाको परीक्षण हुने गरेको छ ।

पछिल्ला दिनमा अस्पतालमा गम्भीर अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढ्दै गएको देखिएको छ । मङ्सिर १६ गतेयता एक हप्ताको अवधिमा प्रदेशका विभिन्न जिल्लाका कोभिड–१९ का शङ्कास्पद दुई हजार ३०६ जनाको नमूना सङ्कलन हुन सकेको छ ।

सो अवधिमा सक्रिय सङ्क्रमित ३३० जना थपिएका छन् भने चारजनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक हप्तामा थप ४६४ मा सङ्क्रमण देखिँदा १३१ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भए । अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ८१६ पुग्दा नौ हजार ६४८ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भए ।

सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ । सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउँछन् । “जाडो मौसममा भाइरल इम्फेक्सनको जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उनले भने, “कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।”

स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले कोरोनाको जस्तो लक्षण भएर पनि कतिपयले आफ्नो नमूना जाँच नगराइरहेको भन्ने जानकारी नभएको बताए । “हरेक पालिकामा व्यवस्था गरिएको सङ्कलन केन्द्रमा नमूना दिन सकिने व्यवस्था गरिएको छ”, जोशीले भने, “नमूना नदिनेलाई कोरोना भाइरसको सङ्क्रमण भएको भए त्यसले समाजमा थप जटिलता निम्त्याउन सक्छ ।”

लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, अन्यत्र ठाउँवाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीमा २२, कञ्चनपुरमा छ, डडेलधुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई, डोटी र बैतडीमा एक÷एकजना छन् । सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सातको सघन उपचार कक्ष (आइसियु)मा र दुईजनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेसिनमार्फत कोरोनाको नमूना परीक्षण भइरहेको छ । तर मेसिन सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको यो मेसिन अझै सञ्चालनमा आउन सकेको छैन ।

दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेसिनको व्यवस्थापन भएको थियो । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई र डडेलधुरा, डोटी, बैतडी, अछाम अस्पतालमा व्यवस्थापन गरिएका एक÷एक पिसिआर मेसिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  २ : ४६ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्