साउदी राजपरिवारमा शक्ति संघर्ष : युवराज बिन सलमानविरुद्ध ‘कू’को सम्भावना कति ? | Khabarhub Khabarhub

साउदी राजपरिवारमा शक्ति संघर्ष : युवराज बिन सलमानविरुद्ध ‘कू’को सम्भावना कति ?



साउदी अरबका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको ठाडो निर्देशनमा साउदी राजपरिवारका तीन वरिष्ठ सदस्यहरु गत शुक्रबार पक्राउ परे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पक्राउ पर्नेमा साउदी राजाका कान्छा भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र राजकुमार नवाफ बिन नायेफ छन् ।

राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ साउदी राजपरिवारका शीर्षस्थ सदस्य मानिन्छन् । उनीहरुमाथि राजद्रोह र विश्वासघातको आरोप लगाइएको छ ।

राजपरिवारभित्र साउदी गद्दीका लागि तीब्र संघर्ष चलिरहन्छ । बेलाबेला गद्दी हत्याउने षड्यन्त्रहरु असफल भएको समाचार पनि बाहिर आउँछन् । सलमान बिन अब्दुलाजिज अल साउद राजगद्दीमा बसिरहेपनि त्यहाँको वास्तविक शासन युवराज मोहम्मद बिन सलमानसँग छ ।

मोहम्मद बिन नायेफ (दाया) र मोहम्मद बिन सलमान (बाया)

अन्तर्राष्ट्रिय स्तरमा अत्यन्त विवादस्पद छवि बनाएका युवराज बिन सलमानले आफ्ना बाबु सलमान बिन अब्दुलाजिजको छत्रछायाँमा रही साउदी अरबको सम्पूर्ण शासन हाँकिरहेका छन् ।

उनकै अग्रसरतामा कट्टर इस्लामिक साउदी अधिराज्यमा महिलालाई दिइँदै आएको अधिकार विस्तार र अन्य आर्थिक सामाजिक सुधारका कामहरु भइरहेका छन् ।

राजपरिवारका तीन सदस्यको पक्राउलाई युवराज बिन सलमानले साउदी दरबारमा आफ्नो शक्ति अझ सुदृढ गरेको रुपमा लिइएको छ ।

धेरैले साउदी सत्तामा मोहम्मद बिन सलमानको उदय र उनको शक्ति सुदृढीकरणलाई नाटकीय घटनाका रुपमा हेर्ने गरेका छन् ।

सन् २०१५ मा साउदी राजा अब्दुल्लाह बिन अब्दुलाजिज अल साउदको मृत्यु भएलगत्तै राजा बनेका उनका भाइ सलमानले मोहम्मद बिन नयेफलाई युवराज र मोहम्मद बिन सलमानलाई उप–युवराज नियुक्त गरेका थिए ।

उनी सलमानका दाजु नयेफ बिन अब्दुलाजिज अल साउदका छोरा हुन् । सम्बन्धमा मोहम्मद बिन नयेफ राजा सलमानका साख्खे भतिजा पर्छन् । सन् २०१७ मा युवराज बिन नयेफलाई युवराज र गृहमन्त्रीको पदबाट बर्खास्त गरी नजरबन्दमा समेत राखिएको थियो ।

राजाले सोही कदम मार्फत् आफ्ना छोरा बिन सलमानलाई एकाएक युवराज नियुक्त गरेका थिए । शुक्रबार पक्राउ पर्नेमध्ये उनै मोहम्मद बिन नयेफ पनि छन् ।

बिन नायेफ सन् २०१७ मा पदबाट बर्खास्त भई नजरबन्दमा पर्नुअघि साउदी गृहमन्त्रीको जिम्मेवारीमा पनि थिए । यस भूमिकामा रहँदा उनले आतंककारी संगठन अल कायदालाई अरब प्रायद्विपबाट परास्त गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको प्रसंशा भएको थियो ।

यही कारण उनी पश्चिमा मुलुकहरु खासगरी अमेरिकी खुफिया एजेन्सीका विश्वासपात्र रहेको बीबीसीले जनाएको छ । उनलाई अझै पनि धेरै पश्चिमा मुलुकहरुको सद्भाव रहेको बताइन्छ ।

अर्कोतर्फ शुक्रबार नै पक्राउ परेका अहमद बिन अब्दुलाजिज राजा सलमानका एकमात्र जिवित भाइ अहमद बिन अब्दुलाजिज छन् । साउदी व्यवस्था अनुसार राजाको भाइ साउदी राजगद्दीको उत्तराधिकारी रहने व्यवस्था छ ।

जसअनुसार नै राजा अब्दुल्लाहको निधनपछि उनका भाइ सलमानले साउदी गद्दी सम्हालेका हुन् । यही व्यवस्थाका कारण अहमद बिन अब्दुलाजिज साउदी राजपरिवारका सदस्यहरुमाझ अत्यन्त प्रतिष्ठित र सम्मानित छन्।

साउदी गद्दीका लागि राजपरिवार भित्रै शक्ति संघर्ष चल्दै आएको छ । साउदी राजपरिवारका धेरै सदस्य गद्दीका लागि वा अझ स्पष्ट भन्दा युवराज बिन सलमानका विरुद्ध विभिन्न गुटमा विभाजित छन्

उनी वर्तमान साउदी गद्दीसँग असन्तुष्ट रहेको बारम्बार समाचार आउने गरेका छन् । सन् २०१८ मा उनले बेलायतको राजधानी लण्डनमा युवराज बिन सलमानको आलोचना गर्दै वक्तव्य दिएका थिए । पछि उनले आफ्नो भनाइको गलत अर्थ लगाइएको भन्दै जोगिएका थिए ।

साउदी गद्दीका लागि राजपरिवार भित्रै शक्ति संघर्ष चल्दै आएको छ । साउदी राजपरिवारका धेरै सदस्य गद्दीका लागि वा अझ स्पष्ट भन्दा युवराज बिन सलमानका विरुद्ध विभिन्न गुटमा विभाजित छन् । ३४ वर्षे युवराजको शक्तिका लागि चाहीँ दुई व्यक्तित्वलाई प्रमुख प्रतिद्वन्द्वीको रुपमा हेरिएको थियो । यी दुई प्रति युवराज सलमान सशंकित समेत रहँदै आएका थिए ।

उनीहरुमाथि लगाइएको राजद्रोह र विश्वासघातको आरोप पुष्टि भएको खण्डमा उनीहरुलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्छ । यो धरपकडसँगै साउदी गद्दीमा बिन सलमानको पकड अझ मजबुत भएको र दरबारमा सत्तापलटको खतरा तत्कालका लागि टरेको विश्लेषण गरिएको छ ।

साउदी गद्दीका लागि संघर्ष हुनु कुनै नौलो कुरा भने होइन । साउदी राजपरिवार अत्यन्त ठूलो छ । करिब १५ हजार राजकुमार यो वृहद परिवारका सदस्य छन् । तेश्रो साउदी अधिराज्यका संस्थापक इब्न साउदले अरब जातीसँग नजिकको सम्बन्ध स्थापना गर्नका लागि करिब दुई दर्जन विवाह गरेका थिए ।

उनका उत्तराधिकारीहरुले पनि उत्तिकै संख्यामा विवाह गरेका थिए । यसबाट साउदी दरबारभित्र जातीय आधारमा समेत प्रतिस्पर्धी दर्जनौं गुट उपगुट बन्न पुगेका छन् ।

ती गुट र उपगुट वर्तमान साउदी सत्ता गिराउन भित्रभित्रै संघर्षरत रहन्छन् । समय – समयमा साउदी दरबारमा सत्तापलटको प्रयास भइरहेको समाचार पनि सार्वजनिक हुने गरेका छन् ।

सन् २०१८ को अप्रिल महिनामा पनि यस्तै सत्तापलटको समाचार सार्वजनिक भएको थियो । यद्यपि साउदी सञ्चारमाध्यमले त्यस्तो कुनै प्रयास नभएको जिकिर गरेका थिए । साउदी दरबारमा अपनाइने उच्च गोपनियता र त्यहाँ विदेशी सञ्चारमाध्यमको स्वतन्त्र पहुँच अत्यन्त सीमित भएका कारण यसको स्वतन्त्र पुष्टि भने भएन ।

साउदी दरबारमा युवराज बिन सलमानले गर्दै आएका विभिन्न गतिविधिले पनि उनी सत्तापलटको शिकार हुने सम्भावना छ । उनको ठाडो निर्देशनमा सन् २०१६ मा ११ राजकुमार, ४ मन्त्री र दर्जनौं पूर्वमन्त्रीहरुलाई विलासी होटेलमा बन्धक बनाइएको थियो । बन्धक हुनेमा साउदी अर्बपति व्यापारी अल वालिद बिन तलाल समेत थिए ।

उनको त्यो कदमपछि साउदी दरबारमा भूकम्प नै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका थिए । उनको त्यो कदमपछि साउदी राजकुमार र साउदी राजपरिवारका उच्च पदस्थ सदस्यहरु युवराजप्रति रुष्ट रहँदै आएका छन् ।

धेरैले साउदी सत्ता अमेरिकी सहयोगका कारणमात्र टिकेको भन्ने गरेका छन् । हुन पनि साउदी अरब अमेरिकाको त्यस क्षेत्रमा इजरायलपछि सबैभन्दा नजिकको सम्बन्ध भएको मुलुक हो । दुई मुलुकबीच अर्बौं डलर बराबरका हतियार र तेलको व्यापार त छँदैछ, रणनीतिक रुपमा पनि दुई मुलुक एक अर्काप्रति निर्भर छन् ।

साउदी अरबमा सत्तापलट अमेरिकी हितमा छैन । साउदी अधिराज्य अस्थीर भएको खण्डमा त्यसको स्थान इरानले लिन सक्छ । अर्कोतर्फ अस्थीर साउदी अरबले फारसको खाडी र लाल सागरको रणनीतिक जलक्षेत्रको व्यापार र पारवहन पनि संकटमा पर्न सक्छ ।

गत वर्ष फेब्रुअरी महिनामा अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त साउदी पत्रकार जमाल खशोग्जीको इस्तानबुल शहरमा निर्मम हत्या भएपछि उनी चर्को आलोचनाको शिकार भएका थिए । उक्त हत्याकाण्डमा उनको प्रत्यक्ष संलग्नता रहेको अमेरिकी खुफिया निकायहरुले निष्कर्ष समेत निकालेका थिए ।

यो हत्याकाण्डका कारण दुई मुलुकबीचको सम्बन्धमा तिक्तता आएको भान हुन्छ । यही कारण गत वर्षमात्र अमेरिकी कंग्रेसले साउदी अरबले यमनमा अमानवीय शैलीमा आक्रमण गर्दै आएको भन्दै साउदी अरबमा हतियारको व्यापार बन्द गर्नुपर्ने विषयको विधेयक पारित गरेको थियो । यद्यपि उक्त विधेयक पारित भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षार गरेका छैनन् ।

साउदी मामिलाका जानकारहरुको विश्लेषण अनुसार विदेशी सहयोग बिना साउदी अरबमा युवराज मोहम्मद बिन सलमानविरुद्ध कुनै किसिमको ‘कु’ सम्भव छैन । जति नै उद्दण्ड वा विवादास्पद छविका भएपनि साउदी युवराज बिन सलमान अमेरिका तथा पश्चिमा मुलुकसँगको सम्बन्ध नबिग्रियोस् भन्नेतर्फ सचेत छन् । त्यसैले उनले आफ्नो प्रभावको पूरापूर सदुपयोग गरी ट्रम्प प्रशासनसँग नजिकको सम्बन्ध स्थापना गर्ने प्रयास गरेका छन् ।

सन् २०१७ मा मात्र उनले अमेरिकासँग आगामी १० वर्षको अवधिमा ३ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको हतियार खरिद सम्झौतामा हस्ताक्षार गरेका थिए । पश्चिमा मुलुकहरुलाई फकाउन कै लागि उनले कट्टर साउदी समाजमा महिलाका लागि बढि अधिकार दिने कदम चालेको विश्लेषण गरिन्छ ।

उनको सामाजिक सुरधारको प्रयास र पश्चिमा मुलुकलाई रिझउने उनको कोशिस कति सफल होला र उनलाई पश्चिमा मुलुकले कति समयसम्म पत्याउलान् र उनको उद्दण्ड व्यवहार कति समयसम्म स्वीकार गरिरहलान् भन्ने प्रश्न महत्वपूर्ण छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : २१ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार