कोरोनाले सारा विश्वलाई नै भयाक्रान्त पारिरहेको यो विषम घडीमा यो बाहेकको कुरा गर्ने भनेको ‘काकाको काम छोडी सालीको बिहे’ सरि हो भन्दा अत्युक्ति नहोला ।
बल्लतल्ल यतिबेला भने ‘एउटा व्यक्तिको जीवनमूल्य संसारकै धनी व्यक्तिसँग भएको सम्पूर्ण सम्पत्तिभन्दा बढी हुन्छ’ भन्ने क्रान्तिकारी योद्धा चे ग्वेभाराको कथन स्मरणयोग्य बनेको छ, तमाम मानव समुदायलाई । त्यसरी नै सप्रमाण सिद्ध भएको छ कार्लोस रिजको ‘पैसा कमाउनु ठूलो कुरा होइन तर समाजलाई पनि केही योगदान पुग्ने काम गरेर पैसा कमाउनु ठूलो कुरा हो’ भन्ने कथन ।
यतिखेर पनि मन्त्री र स्वास्थ्य विभागको रवैया हेर्यो भने आफ्नो आफ्नो बाँसुरी, आफ्नो आफ्नो ताल झैँ लाग्छ, आम नेपालीलाई । कसैले यही बेताललाई कात्रोमा पनि कमिसन भनेर प्रश्न उठाए पनि देशका कार्यकारीको नजरमा चाहिँ यो बेमौसमी बाजा र सरकारलाई कमजोर सावित गर्ने निराधार कुप्रचारमात्र हो ।
पहिले पहिले झैँ फेरि अर्को बुँदा थप्नुभएको छ प्रतिबद्धताको फेहरिस्तमा– कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार पछि पर्ने छैन ।
अझ थप्नुभएको छ– व्यक्तिको स्मृति छोटो र कमजोर हुनसक्छ तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।
सटीक कुरा सम्झाउनु भएको छ उहाँले कमजोर मथिङ्गल भएका नागरिकलाई जो भान्सामा जोडिएको पाइपबाट खाना बनाइरहेछन्, छुकछुक होइन सुलुलु रेलयात्रामा रमाइरहेछन् र पानीजहाजको मज्जा लिइरहेछन् ।
आज पनि १,८०० रुपैयाँमा आउने थर्मल गन ७,८०० मा, ३६० को प्रोटेक्टिभ गगल्स २१६० रुपैयाँमा, १६५ रुपैयाँको एन– ९५ मास्क ८४० रुपैयाँ मूल्य तिरेर कमसल स्वास्थ्य सामग्री ल्याउँदा पनि उहाँले कहीँ कतै अनियमितता देख्नु भएन, जसरी सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वमन्त्री गोकुल बास्कोटालाई दूधले नुहाएको देख्नुभयो । किन्तु यतिबेलाको जल्दोबल्दो सवाल यसै सेरोफेरोको अलिक पृथक हो ।
त्यो हो सतहमा देखिएका केही मुद्दा, उदाङ्गिएका केही चेहरा र समग्रमा सिङ्गो पूँजीवादी शासन प्रणाली ।
भनिन्छ, पूँजीवाद त्यस्तो प्रणाली हो जहाँ धनी मान्छे शक्तिको धुरीमा रहन्छन्, निजी लालचलाई निर्लज्ज वैधता दिइन्छ र निर्धनलाई शोषण गर्ने सशक्त औजार दिइन्छ धनीलाई । यसको सटीक दृष्टान्त हेर्न अहिले युरोप र अमेरिकातिर टहलिनु पर्छ । सद्दामलाई सुइँक्याएको र सुलेमानीलाई ठाउँको ठाउँ सिध्याएको अमेरिका कसरी मुसोमा रूपान्तरित भइरहेछ र थुरथुर कामिरहेछ सुक्ष्म जीवाणुसँग संसारसामु छर्लङ्ग छ ।
अर्काको जीवन लिन उद्यत ऊ आफ्नो भयङ्कर प्रतिद्वन्द्वी चीनसँग कसरी याचना गरिरहेछ जीवनको र भीख मागिरहेछ भेन्टिलेटर, अध्ययन गरिरहेछन् मानवताका पुजारीहरू ।
उसले रासायनिक हतियारमा प्रयोग गरेको पैसाको झिनो अंश अस्पताल निर्माणमा खर्च गरेको भए, मिसाइलको सट्टा मास्क उत्पादन गरेको भए विषालु अस्त्र को सट्टा औषधी उत्पादनमा लागेको भए यतिबिघ्न आत्तिनुपर्ने स्थिति हुँदैनथ्यो । जनताको जीवन येशूको कृपामा छोड्न पर्दैनथ्यो ।
यतिबेला आएको सङ्कटले पूँजीवादलाई धराशायी नै बनाउने ल्याकत त नराख्ला किन्तु एकपटक विश्वकै मान्छेहरूलाई पुनर्विचार गर्न बाध्य बनाउने छ कि निर्विवाद भनिएका, असंशोधनीय मानिएका, विकल्परहित् ठानिएका र सर्वस्वीकार्य सोचिएका शासन प्रणाली, व्यक्ति वा संस्था त्यस्ता होइनन् र हुन सक्दैनन् भन्नेतर्फ ।
यतिबेला त न्युयोर्कको दसा हेरेर पूँजीवादी दिशा पत्ता लगाउन सकिन्छ । कोरोनाले व्यापकरूपमा उदाङ्गो पारिदिएको छ नाफाखोर पूँजीवादीहरूको सक्कली हैसियत । व्याधीपीडित जनताको ज्यान त कुकुरसरि गएकै छ, स्वास्थ्यकर्मी जोगाउनसमेत अक्षम भए उनीहरू ।
बिमा नभएका मध्यम वर्गीय अमेरिकीसँग अहिले उपचार गर्ने कुनै उपाय छैन । र, यस्तो विषम घडीमा पनि डोनाल्ड ट्रम्प अमेरिकी जनताले ज्यान गुमाएको कठोर अवस्थाप्रति त्यति चिन्तित छैनन् जति धेर चिन्ता छ उनलाई विश्वबजारमा तेलको मूल्यमा आएको भारी गिरावटको ।
अमेरिकामा अभाव भएको सर्जिकल मास्कबारे उनलाई कुनै मतलव भएको देखिँदैन । अत्यधिक तेल खपत गर्ने भारत र चीनको जनजीवन कहिले सामान्यतर्फ फर्केला र व्यापार होला भन्ने सुर्तामा छन् उनी ।
र, त लेखेका छन् जीवनहरि शर्माले कविता–
अर्बौं अर्ब गरेर खर्च बममा सद्बुद्धिको दोहन
राख्या छु दिनरात भन्छ वसमा हुङ्कार थाक्यो किन ?
के तत्काल तत्परता देखाए ट्रम्पले अमेरिकी जनताको जीवन रक्षाको निम्ति ? बरु मलेरियाको औषधी प्रयोग गर्न सुझाइरहेछन् स्वास्थ्यकर्मीलाई मानौँ कि उनी अत्यन्तै अनुभवी चिकित्सक र कोरोना विशेषज्ञ हुन् । न्युयोर्ककी नर्सले ट्र्यासब्यागलाई व्यक्तिगत सुरक्षा कवच बनाउनु परेपछि पूँजीवादको धज्जी उडेको छ । फेद रहेमात्र हाँगा पलाउने हो भन्ने होस राख्दैन पूँजीवाद ।
यतिबेला आएको सङ्कटले पूँजीवादलाई धराशायी नै बनाउने ल्याकत त नराख्ला किन्तु एकपटक विश्वकै मान्छेहरूलाई पुनर्विचार गर्न बाध्य बनाउने छ कि निर्विवाद भनिएका, असंशोधनीय मानिएका, विकल्परहित् ठानिएका र सर्वस्वीकार्य सोचिएका शासन प्रणाली, व्यक्ति वा संस्था त्यस्ता होइनन् र हुन सक्दैनन् भन्नेतर्फ ।
नेपालको हविगत
‘मियाको दौड मस्जिदतक’ को अवस्थामा छ नेपाल । यति विषम घडीमा पनि कमिसन कुम्ल्याउने खेलोफड्कोमा अल्झिएको छ सरोकारवाला निकाय । भैंसीको दूध खाएर राँगाको बुद्धि गर्नेहरूलाई छपक्क छोप्ने कोशिसमा छन् कोही ।
कसैलाई यतिबेला सहमतिको सरकारको तुरही फुक्नु परेको छ । परराष्ट्र मन्त्रीको शब्द सापटी लिने हो भने गिद्धले फूल होइन सिनोमात्र देखेको अवस्था छ । छताछुल्ल भएको छ हतारो र हतासा ।
हिन्दूस्तानका श्रमिक मातृभूमिको सरहदभित्र आउन पाऊँ भन्ने पुकारा नसुन्ने राष्ट्र प्रमुख गैर आवासीय नेपालीहरूको क्रन्दन चाहिँ सुन्ने ल्याकत राख्छ ।
जीवनमा आँधी आउँछ जान्छ तर त्यो चिन्तामा नडुबी आँधी आउँदा कसरी झेल्न सकिन्छ सजिलैसँग भन्ने शिक्षा दिएको छ यो महामारीले । समग्रमा पूँजीवादले कसरी फकाएर डोरी बेच्छ र त्यसैको प्रयोग गरी अरूलाई झुण्ड्याउन खोज्दा आफैँ फन्दामा पर्छ र पनि पलपल र कदम कदममा नाफा कमाउन खोज्छ मानवीयतालाई चटक्कै बिर्सेर भन्ने महत्वपूर्ण पाठ सिकाएको छ नेपालीमात्र नभई सारा विश्वलाई ।
मार्क्सवादीहरू माक्स (मुखावरण) वादी भएको घिनलाग्दो दृश्य, स्वास्थ्य सामग्री भित्र्याउँदाको मोलतोल, कालाबजारीहरुको निर्घिणी चलखेल, दैनिक ज्यालादारी बनियारहरूको रोदन, भरोसा टुटेको अभिभावकसरि सरकार, मस्त निदाएका अधिकारकर्मी आदिले यताको समाजवाद उन्मुख भनिएको पूँजीवादी राज्यप्रणालीलाई सतहमा ल्याइदिएको छ । नाफाका निम्ति जतिसुकै नुग्न र झुक्न तयार हुन्छन् प्रणाली नशानशामा बगेका सञ्चालकहरू भन्ने तथ्य छर्लङ्गिएको छ ।
अहिले भाइरसभन्दा बढी खतरनाक त भ्रष्टाचार देखिएको छ जसले जरैसम्म नष्ट गरेको छ नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता ।
सिक्नुपर्ने पाठ
हरेक सङ्कटले कैयन सकारात्मक शिक्षा पनि बोकेर ल्याएको हुन्छ । यसले मातृभूमिप्रतिको आस्था उचो त बनाएकै छ नै, हरेक सङ्कटको पूर्वतयारी, अवसरवादीहरूको सक्कली चेहराको पहिचान, राष्ट्रिय एकताको बल, सकस झेल्ने क्षमताको अग्नि परीक्षा, ठीक समयमा गर्नुपर्ने ठीक निर्णयजस्ता दर्जनौँ पाठ सिकाएको छ हामीलाई ।
जीवनमा आँधी आउँछ जान्छ तर त्यो चिन्तामा नडुबी आँधी आउँदा कसरी झेल्न सकिन्छ सजिलैसँग भन्ने शिक्षा दिएको छ यो महामारीले । समग्रमा पूँजीवादले कसरी फकाएर डोरी बेच्छ र त्यसैको प्रयोग गरी अरूलाई झुण्ड्याउन खोज्दा आफैँ फन्दामा पर्छ र पनि पलपल र कदम कदममा नाफा कमाउन खोज्छ मानवीयतालाई चटक्कै बिर्सेर भन्ने महत्वपूर्ण पाठ सिकाएको छ नेपालीमात्र नभई सारा विश्वलाई ।
हरेक व्यापार, व्यवसायमा मूलतः तीन पक्ष प्रधान हुन्छन्–सेवाग्राही (उपभोक्ता), उत्पादन र नाफा । सङ्कटका घडी यी मध्ये एउटा अवयव चटक्क बिर्सन्छन् उनीहरु, ती हुन्– उपभोक्ता (सेवाग्राही) ।
यी र यस्तै सीमालाई सुधार्न सकियो भने मात्र आगामी सङ्कट पार लगाउन सकिन्छ अन्यथा ‘मथुरामा बस्ने, रामेश्वर नदेख्ने’ लोभीपापीकै जमात बन्नेछौँ हामी ।
प्रतिक्रिया