तराईमा साना हतियारको बिगबिगी | Khabarhub Khabarhub

तराईमा साना हतियारको बिगबिगी

सानै विवादमा पनि चल्छ गोली



काठमाडौँ– तराईका जिल्लाहरूमा अंशबण्डा, घरझगडा जस्ता सामान्य विवादमा समेत आवेगमा आएर हतियार प्रयोग गरिहाल्ने घातक प्रवृत्ति देखिन थालेको छ । व्यक्तिको हातमा अवैध हतियार पुग्दा समस्या बढ्दै गएको छ । प्रदेश २ का आठवटै जिल्ला खुला सीमानाले भारतसँग जोडिएका छन् ।

गत कात्तिक २६ गते रौतहटको माधवनारायण नगरपालिका–७ की १७ वर्षीया अमृताकुमारी साहमाथि पेस्तोल प्रहार भयो । गोली हानेर फरार भएका आरोपितहरूलाई प्रहरीले पक्राउ गरी कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली समेत बरामद गर्‍यो ।

गत असोज २९ गते पर्साको ठोरी गाउँपालिकाको विजय बस्तीस्थित ओरिया खोलाको बगरमा ड्युटीमा खटिएका प्रहरीमाथि बन्दुकधारी समूहले आक्रमण गर्‍यो । प्रहरीको सावधानीका कारण घटनाबाट मानवीय क्षति हुन भने पाएन । प्रहरीले घटनामा संलग्न भएको आरोपमा चारजनालाई अवैध भरुवा बन्दुक, चार राउन्ड गोली र एक थान खुकुरीसहित समात्यो ।

असोज १० गते सप्तरीको तिरहुतमा स्थानीय ५० वर्षीया दायमनदेवी यादवको हत्या भयो। उनको एउटा कान काटिएको र आँखा फोरिएको अवस्थामा शव फेला परेको थियो । घटनाका आरोपितहरू पक्राउ परिसकेका छन् ।

गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहमाथि खाना खाँदै गर्दा गोली प्रहार भयो । अस्पताल पुर्‍याउनेबित्तिकै उनको मृत्यु भयो । प्रहरी अनुसन्धानबाट स्थानीय ३६ वर्षीय रामनरेश राउत पटेलसँग सामान्य विवाद भएका कारण उनको हत्या भएको पुष्टि भयो । घटना लगत्तै फरार रामनरेश र उनका सहयोगीलाई प्रहरीले केही दिनपछि नलकटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ गर्‍यो ।

केही महिनायता देखिएका यी घटना त केही प्रतिनिधिमूकल मात्र हुन् । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार प्रदेश २ मा ससाना विवाद, आपसी रिसराग, मदिरा सेवनलगायतका कारण हत्या जस्तो गम्भीर प्रकृतिका घटना समेत हुने गरेका छन् ।

प्रवक्ता कुँवर भन्छन्, ‘विशेष गरी तराई क्षेत्रमा सामान्य घरझगडा, दाइजोको निहुँ अंशबण्डा, लेनदेनजस्ता विषयमा हत्यासम्मको गम्भिर अपराध हुने गरेको देखिएको छ ।’ प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको ४ महिनामा प्रदेश २ मा ज्यान सम्बन्धी ४७२ वटा मुद्दा दायर भएका छन् । यस अवधिमा २५ जनाको त हत्या नै भएको छ ।

प्रदेश २ मा ज्यानसम्बन्धी मुद्दा दर्ताको तथ्याङ्क

प्रदेश २ मा ज्यानसम्बन्धी मुद्दाका घटना हेर्दा प्रत्येक वर्ष बढेको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा १ हजार ८१ वटा घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/७७ मा १ हजार १६६ वटा घटना दर्ता भएका थिए ।

त्यस्तै चालु आर्थिक वर्षको कार्तिकसम्मको तथ्यांक अनुसार ४७२ वटा घटना दर्ता भएका छन् ।

यसबाहेक चालु आर्थिक वर्षको कात्तिकसम्ममा प्रदेश २ मा जबरजस्ती करणी, अपहरण, सङ्गठित अपराध, डाकाचोरी, हतियार खरखजानालगायत गरी कुल २ हजार ३८४ वटा मुद्दा दर्ता भएको तथ्यांक छ ।

प्रदेश २ का जिल्लाहरूमा साना अवैध हतियारले ठूलो समस्या निम्त्याउँदै छ । गाउँघरमा सामान्य विवादमा पनि पेस्तोलको गोली चल्ने गरेको छ । भारतसँगको खुला सीमानाका कारण यस्ता हतियार नियन्त्रण गर्न कठिन हुने सुरक्षा अधिकारीहरू बताउँछन् ।

सामान्य विवादमा गोली प्रहार

प्रहरी अनुसन्धान अनुसार तराईमा सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटना हुने गरेका छन् । घटनामा कटुवादेखि स्वचालित पेस्तोलसम्म प्रयोग हुने गरेको छ । प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘प्रदेश २ का आठवटै जिल्ला भारतसँग सिमा जोडिएका छन् । खुला सीमाका कारण वारिपारिको सहज सम्बन्धले आपराधिक क्रियाकलाप गर्नेहरूलाई सहज बनाएको छ । यसले सुरक्षा चुनौती समेत बढाएको देखिन्छ ।’

जानकारहरूका अनुसार पनि तराईका जिल्लाहरूमा ससाना विवाद, रिसइबी। समान्य छलफलका क्रममा समेत पेस्तोल देखाउने र गोली हान्ने घटना नौलो होइन । नेपाल प्रहरीका पूर्वएआइजी जयबहादुर चन्द भन्छन्, ‘तराईका जिल्लाहरूमा अवैध हतियारको प्रयोगका कारण हत्याहिंसा जस्ता घटना दोहोरिने गरेका छन् ।’ उनका अनुसार सामान्य झगडा र लेनदेन विवादमा हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा आधुनिक पेस्तोल प्रयोग हुनु डरलाग्दो कुरा हो ।

अवैध हतियार प्रयोग ठूलो समस्या

तराईका जिल्लाहरूमा विगतमा सशस्त्र समूहका नाममा हत्या अपहरण जस्ता थुप्रै घटना देखिएका थिए । जानकारहरूका अनुसार त्यो समयमा अबैध हतियारको प्रयोग ब्यापक रुपमा देखिएको थियो । पूर्वएआईजी चन्द भन्छन्, ‘सशस्त्र समूहबाट त्यो समयमा धेरै अपराधिक गतिविधिहरू भएका थिए । अहिले पनि त्यसको इफेक्टका रुपमा अवैध हतियारको चलखेल दोहोरिरहेको छ ।’

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएका थिए । त्यसैगरी अबैध हतियारका घटनामा संलग्न संलग्न ५७ जना पक्राउ परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा यससम्बन्धी ४० वटा मुद्दा दर्ता भएका छन् भने २०७७/७८ कात्तिकसम्ममा १० वटा मुद्दा दर्ता भएको तथ्याङ्क छ ।

जानकारहरूका अनुसार पछिल्लो समय यस्तै अवैध हतियारका कारण अपराधका घटनाहरू हुन थालेका देखिन्छ जुन चिन्ताको विषय हो । प्रहरी अनुसन्धान अधिकारीहरूका भनाइमा लुकाउन सजिलो भएकाले साना हतियार नियन्त्रण गर्न सहज छैन ।

पूर्वएआईजी चन्द भन्छन्, ‘खुला सीमाका कारण हतियार लुकाउन र ओसार–पसार गर्न सहज हुने भएकाले तराईमा थुप्रै व्यक्तिका हातमा हतियार पुगेको छ । घरघरमा गएर साना अवैध हतियार खानतलासी गर्न कानुनी झन्झट, प्रहरी जनशक्ति र स्रोतसाधानको कमी जस्ता सकिने अवस्था छैन ।’

विज्ञहरूका अनुसार तराईमा अहिले साना हतियारको भयाबह अवस्था नभए पनि बेलैमा नियन्त्रण गर्नु आवश्यक छ । नत्र, कालान्तरमा साना हतियार समग्र सुरक्षाकै लागि ठूलो चुनौती बन्न सक्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ११ : २७ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी