कोरोना प्रभाव: ‘सङ्कट’ को संघारमा नेपाली सिनेमा ! | Khabarhub Khabarhub

कोरोना प्रभाव: ‘सङ्कट’ को संघारमा नेपाली सिनेमा !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही वर्षयता एकाध सिनेमाले बाहेक अरु नेपाली सिनेमाले हलमा दर्शक तान्न सकिरहेका छैनन् । केही सिनेमा प्रदर्शनका बेला मात्र हलका पूरै सिट दर्शकले भरिने गर्छन् । त्यही ‘क्रेज’ देखेर हौसिएका केही निर्माताहरु नयाँ सिनेमा बनाउने आँट गरिरहेका छन् । ताकि, आफ्नो सिनेमाले पनि करोडौं नाफा कमाओस् । तर, ती निर्माता उठ्नै नसक्ने गरी डुबिरहेका छन् ।

वर्षभरिमा एउटै औँलामा गन्न सकिने केही सिनेमाको बाहेक अरु सिनेमाको व्यापार ‘बालुवामा खन्याएको पानी’ हुन्छ । तर, पनि निर्माताले सिनेमामा लगानी गर्न भने छोडेका छैनन् । भलै यस वर्ष तुलनात्मक रुपमा कम सिनेमा निर्माण गरिएका छन् ।

यस वर्ष व्यावसायिक रुपमा सफल भनिएका दाल भात तरकारी, जात्रै जात्रा, कबड्डी ३, छ माया छपक्कै लगायतका सिनेमाका निर्माताबाहेक अरु निर्माताले खासै कमाइ गर्न सकेनन् ।

कुनै समय धेरै सिनेमा निर्माण हुँदा घरेलु सिनेमाबीच भएको सस्तो प्रतिस्पर्धाका कारण राम्रा सिनेमाले पनि दर्शकको मन जित्न नसकेको भन्ने गरिन्थ्यो । तर, यो आँकलन पनि गलत साबित भएको छ ।

किनकि, यसवर्ष धेरै सिनेमा व्यावसायिक रुपमा असफल भए । जबकि, आशा गरिएका ती सिनेमाहरु एक्लै प्रदर्शनमा आएका थिए ।

नेपाली सिनेमाबीच आपसमा प्रतिस्पर्धा हुने क्रम क्रमिक रुपमा कम हुने अनुमान गरिए पनि हिन्दी सिनेमासँग भने नेपाली निर्माता भाग्नुपर्ने अवस्था अझै पनि छ । चाडबाड र नयाँ वर्षको अवसर पारेर सिनेमा प्रदर्शन गर्न भने सिनेकर्मीबीच होडबाजी नै चल्छ ।

नेपाली निर्माताहरु विविध कारणले मारमा परेको गुनासो बेलाबखत आइरहन्छ । अझ यतिखेर थपिएको छ, कोरोना भाइरसको संक्रमण ।

कोरोनाको संक्रमणले नेपाली सिनेमालाई एकपटक फेरि संकटकालको संघारमा पुर्‍याउने हो किन भन्दै सिनेकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

त्यसो त यसअघि पनि नेपाली सिनेमा क्षेत्रले पटकपटक संकटकालको सामना गर्नुपरेको थियो ।

नेपाली सिनेमाको ५० वर्षभन्दा लामो इतिहासको शुरुवाती चरणमा निकै कम मात्र सिनेमा निर्माण हुने गर्थे । जब राजेश हमाल सिनेमा ‘युगदेखि युगसम्म’ मार्फत नेपाली रजतपटमा उदाए । त्यसपछि नेपाली सिनेमा निर्माणको क्रम बढ्यो ।

हमालले केही समयअघि एक कार्यक्रममा भनेका थिए – म यो क्षेत्रमा आउँदा मलाई फेरि अर्को सिनेमा बन्ला कि नबन्ला भन्ने लागिरहेको थियो ।

त्यो ताका राजेश हमाललाई लिएर एकपछि अर्को सिनेमा निर्माण हुने गरेका थिए । शिव श्रेष्ठ, भुवन केसी, सुशील क्षेत्री, दिलीप रायमाझी लगायतका चर्चित कलाकारलाई लिएर पनि सिनेमा बन्न थाले । एक समय यस्तो थियो, दर्शकले नेपाली सिनेमा हेर्न ब्ल्याकमा टिकट काट्नुपर्ने अवस्था थियो ।

समीक्षक तथा लेखक सामीप्यराज तिमल्सेना भन्छन्, ‘नेपाली सिनेमा बन्ने क्रमसँगै दर्शक पनि बढ्दै गए ।’

तर, वि.सं. २०५२ मा नेपालमा जनयुद्ध शुरु भएसँगै यसको प्रभाव नेपाली सिनेमामा पर्‍यो । यसको प्रभाव यतिसम्म पर्‍यो कि, सिनेमा क्षेत्रमा ‘संकट काल’ घोषणा गर्नुपर्ने आवाज उठ्यो ।

समीक्षक तिमल्सेनाका अनुसार वि.सं. २०६८ मा सिनेमा ‘लूट’ नचल्दासम्म सिनेमामा संकटकाल छाएको थियो । त्यतिबेलाको ‘संकटकाल’ निश्चल बस्नेत निर्देशित ‘लूट’ ले पार लगाएको भन्ने गरिन्छ ।

यतिबेला कोरोना त्रासले पुन: नेपाली सिनेमामा संकटको अवस्था सिर्जना गर्ने हो कि भनेर सिनेकर्मीले चासो व्यक्त गरेका छन् ।

कोरोनाले भने निर्मातालाई मात्र प्रभाव पारेको छैन । यसले समग्र नेपाली सिनेमा उद्योग र उद्योगसँग जोडिएका सबै सिनेकर्मीलाई प्रभावित तुल्याएको छ । त्यसो त कोरोना त्रासले नेपालमा मात्र होइन, विश्वभरिकै सिनेमा उद्योग प्रभावित बनेको छ ।

हालै मात्र प्रतीक्षित सिनेमा ‘नो टाइम टु डाइ’ को प्रदर्शन मिति ६ महिनापछि सारिएको थियो ।

चीनबाट शुरु भएर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले नेपाली सिनेमा क्षेत्र पनि प्रभावित बनेको छ ।

फागुन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ हाललाई स्थगित गरिएको छ । सिनेमा टिमले दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै रिलिज मिति स्थगित गरिएको बताएको छ ।

यता छिट्टै नै प्रदर्शन गर्ने भनिएको फूलमान बल निर्देशित सिनेमा ‘नीरफूल’ को पनि प्रदर्शन मिति स्थगित गर्ने चर्चा छ ।

निर्देशक तथा निर्माता सुदर्शन थापा भन्छन् – हामीले ‘म यस्तो गीत गाउँछु २’ को प्रचारमा पनि धेरै नै खर्च गरिसकेका थियौं । अर्कोपटक प्रदर्शन मिति तय गरेपछि पनि सिनेमाको खर्च त बढिहाल्छ । तर, हामीले दर्शकको स्वास्थ्य सबैभन्दा ठूलो हो भन्ने लागेर नै स्थगित गर्‍यौँ ।

उनका अनुसार कोरोना भाइरसको प्रभावका कारण सिनेमा क्षेत्रमा घाटा भएको छ । सरकारले नै रोक लगाउन भनेको अवस्थामा दर्शकलाई जबरजस्ती सिनेमा हेर्न आउनुस् भनेर आग्रह गर्न नसकिएको थापाको भनाइ छ ।

‘दुई करोडको हाराहारीमा यो सिनेमा निर्माण गरिएको हो, हुन त रिलिज नगर्दै घाटामा गएको त भन्न मिल्दैन तर कोरोनाले ठूलै प्रभाव पारेको छ,’ थापा भन्छन्, ‘दर्शकले सिनेमा कुरेर बस्नुभएको छ, समयमा रिलिज गर्न पाएको भए छिटो लगानी रिकभर हुन्थ्यो ।’

कोरोना संक्रमणका कारण नेपाली सिनेमा क्षेत्र मात्र नभएर विश्व सिनेमा उद्योग नै प्रभावित भएको सुदर्शन बताउँछन् । ‘विश्वभरको परिवेश अहिले उस्तै छ, तर सिनेमाको लगानीभन्दा दर्शकको स्वास्थ्य ठूलो कुरा हो, यस्तो बेलामा दर्शकलाई सिनेमा हेर्न आउनुस् भन्ने आँटै आएन,’ उनी भन्छन् ।

सिनेमा उद्योगमा पनि ठूलो आर्थिक कारोबार हुने गर्छ । बलिउड र हलिउडका तुलनामा भने नेपाली सिनेमाको व्यापार खासै हुँदैन । अहिले भने कोरोनाको भयले विश्व सिनेबजारमा मन्दी छाएको छ ।

कतिपय नेपाली सिनेमा प्रदर्शनका क्रममा हल सुनसान हुने कारण विदेशी सिनेमाले हलवालाको नाफा/घाटाको ग्राफ मिलाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । नेपाली सिनेमा नचलिरहेका बेला हलवाला र वितरकले हलमा विदेशी सिनेमा पनि प्रदर्शन गरेर सन्तुलन मिलाइरहेका हुन्छन् ।

यतिबेला भने कोरोना भाइरसका कारण नेपाली सिनेमाले मात्र होइन, विदेशी सिनेमाले पनि नेपालमा आशा गरिएअनुरुप व्यापार गर्न सकेका छैनन् ।

राजधानीस्थित क्युज सिनेमाका म्यानेजर राकेश श्रेष्ठ भन्छन्, ‘कोरोना भाइरसको प्रभावले दर्शक आफै हलसम्म नआउने माहोल बनेको छ, यता हामीले पनि कोरोनाको जोखिम कम गर्ने गरी काम थालेका छौं ।’

उनका अनुसार हलमा अहिले ‘सेनिटाइजर’ को व्यवस्था गरिएको छ । सिनेमा हलका कर्मचारी र दर्शकको सुरक्षामा ध्यान दिइएको छ ।

कतिपय हलमा थर्मो स्क्यानर र सेनिटाइजरको समेत व्यवस्था गरिएको छ ।

तर, सरकारले नै विज्ञप्ति जारी गर्दै भीडमा नजान अनुरोध गरेकाले सिनेमा हेर्न न्यून दर्शक आएको राकेश बताउँछन् ।

अर्कातिर सिनेमा हलमा कोरोनाको संक्रमण हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

‘अहिले सिनेमाको व्यापार पहिलेजस्तो छैन, कोरोनाको प्रभाव देखिएको छ, कतिपय सिनेमाको त रिलिज मिति पनि स्थगित गरिएको छ,’ म्यानेजर श्रेष्ठ अगाडि थप्छन्, ‘दर्शक नआउँदा व्यापारमा असर पर्नु त सामान्य नै भइहाल्यो ।’

उनी कोरोनाबाट जोगिन हलवालाले सावधानी अपनाएको दाबी गर्छन् ।

यद्यपि अझै पनि कोरोना भाइरसको संक्रमण कुनै पनि नेपालीमा नदेखिएको सरकारले नै बताउँदै आएको छ । तर, सिनेमा क्षेत्रमा यसको आंशिक असर देखिइसकेको छ ।

यदि भोलि कोरोनाको संक्रमण फैलियो भने नेपाली सिनेमा उद्योग पूर्ण रुपमा ठप्प हुनसक्ने कतिपयको तर्क छ । अहिले पनि सिनेमाको छायांकन, प्रदर्शन र अन्य काम प्रभावित भइसकेका छन् ।

नेपालमा भन्दा विदेशमा कोरोनाको भय अझ बढी फैलिएका कारण नेपाली सिनेमा विदेशमा प्रदर्शनको सम्भावना झनै टरेर गएको छ । विदेशमा रहेका नेपालीबीच नेपाली सिनेमा प्रदर्शनको सम्झौता हुने गर्थ्यो ।

निर्माताका लागि विदेशमा सिनेमा प्रदर्शन गर्न पाउनु पनि आफ्नो लगानी उठाउने एउटा माध्यम बनिरहेका बेला कोरोनाका कारण ‘विदेश राइटस्’ पनि विक्री नभएको सिनेमाकर्मी बताउँछन् ।

वितरक करण श्रेष्ठका अनुसार बरु नेपालमा त दर्शकले सिनेमा हेरिरहेका छन् तर विदेश राइटस् किन्न कोही तयार छैनन् । ‘नेपालमा त बरु सिनेमा चलिरहेका छन् भनौं, विदेशमा झनै गाह्रो भयो, केही देशमा सिनेमा ‘आमा’ को शो गर्ने फाइनल भइसकेको थियो तर कोरोनाको डरले हुन सकिरहेको छैन,’ करण भन्छन् ।

उनका अनुसार नेपालमा अझै कोरोना भाइरस नफैलिरहेको र प्रत्येक हलमा सावधानी अपनाइएकाले केही दर्शक सिनेमा हेर्न आइरहेका छन् । उनी भन्छन्, ‘सबै सिनेमा हल कोरोना भाइरसविरुद्ध लड्छु भनेर लागिपरेका छन्, तर देशमा नै यसको भय फैलिएपछि सिनेमामा पनि प्रभाव पर्ने नै भयो ।’

वितरक श्रेष्ठ नेपालमा अझै पनि कोरोना भाइरसको संक्रमण नदेखिए पनि शतर्कता भने अपनाउन जरुरी भएको तर्क अगाडि सार्छन् ।

लामो समयदेखि शिथिल बनेर ‘सङ्कट काल’ घोषणा गर्नुपर्ने अवस्थामा पुगेको नेपाली सिनेमा क्षेत्रमा फेरि कोरोनाका कारण ‘सङ्कट काल’ आएको कतिपयको भनाइ छ । भोलिका दिनमा कोरोना प्रकोप कम नहुने हो भने नेपाली सिनेमा क्षेत्रको अवस्था झन् जटिल बन्ने सिनेकर्मीहरु बताउँछन् ।

नेपाली सिनेमाले हिजो पनि व्यापार गर्न सकेका थिएनन् । अब त झन् निराशाजनक हालत घरेलु सिनेमाकै हुनसक्ने भय सिनेकर्मीको छ ।

ब्लकबस्टर सिनेमा ‘छक्का पञ्जा’ सिरिज निर्देशन गरेकी दीपाश्री निरौला भन्छिन्प-हिले त हामी बाँच्नुपर्‍यो, त्यसपछि बल्ल दर्शकले मनोरञ्जनबारे सोच्नुहुन्छ, अहिले सिनेमाभन्दा पनि दर्शकले आफ्नो ख्याल गर्नुपर्छ ।

‘व्यापार भनेको त हुँदै गर्छ, केही समयपछि कोरोना भाइरस निर्मुल होला, अहिलेलाई भगवानसँग प्राथना गरौं कि, नेपालमा कोरोना नै नफैलियोस्,’ उनी सुनाउँछिन्, ‘पहिले हामी आफ्नो ख्याल गरौं, सिनेमाहरू त बन्दै गर्लान् ।’

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ०७ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर